मन्दिर अगाडी गैरधार्मिक कार्यक्रम नगर्न हिन्दू युवा संघ नेपालको चेतावनी

वीरगंज/वीरगंजको माइस्थान मन्दिर अगाडी कुनै पनि गैरधार्मिक कार्यक्रम नगर्न हिन्दू युवा संघ नेपाल पर्साले चेतावनी दिएको छ ।

सोमवार श्रीपुरस्थित बिजयज्योति होटलमा रिपोटर्स क्लव नेपालले आयोजना गरेको एक साक्षात्कार कार्यक्रम मार्फत हिन्दू युवा संघ नेपालले यस्तो चेतावनी दिएको हो ।

संघका वरिष्ठ सल्लाहकार ज्योतिलाल प्रसाद कलवारले देशमा हालै जारी भएको धर्म निरपेक्ष संघीय गणतन्त्र नेपालको संविधान २०७२ ले सबै धर्मको संरक्षण, संवद्र्धन गर्दै कसैको पनि धार्मिक आस्थामाथि असर पर्ने काम कानुनी अपराध हुने र त्यसो गर्नेहरू सजायको भागीदार हुने संवैधानिक व्यवस्था पनि लागु गरेको हामी सबैलाई थाहा हुँदा हुँदै पनि वीरगंजको पौराणिक, धार्मिक र ऐतिहासिक महत्व बोकेको माइस्थान मन्दिर क्षेत्र वरिपरि विगत केही समय यता हिन्दू धर्म र आस्थामाथि असर पर्ने गतिविधि गर्ने क्रम बढ्दै गएको हुँदा यस हिन्दू युवा संघ नेपालको गम्भीर ध्यानाकर्षण भएको बताउनु भयो ।

उनले नेपाल संवैधानिक रुपमा धर्म निरपेक्ष राष्ट्र घोषणा भए लगत्तै मन्दिरमा पूजा गर्न आउने श्रद्धालु भक्तजनहरूलाई अवरोध गर्न हिन्दू धर्म विरोधी विभिन्न संघ–संस्था, समुह र राजनीतिक दलहरू सक्रिय भएको पाइएको छ । माइस्थान मन्दिर विशुद्ध धार्मिक स्थल भएकोले तथा धार्मिक स्थल र देवीस्थल भएका कारण विहान पूजा आजा र बेलुकी आरती र भजन किर्तन गर्न दिनहुँ हजारौं भक्तजनहरू आउने गरेको सो मन्दिरको मूलद्वार अगाडी नै विभिन्न समुह, ब्यान्ड, संघसंस्था र राजनीतिक दलहरूले गीतसंगीत, मनोरं्रजन, नाचगान, आमसभा, राजनीतिक प्रदर्शन लगायतका कृयाकलापहरू गर्ने क्रम बढ्दै गएको प्रति हिन्दू युवा संघ नेपालले गम्भीरताका साचो लिएको बताउनु भयो ।

यसरी पूजाआजा र आरती गर्ने समयमा नाचगान, आमसभा, प्रदर्शन लगायतका कार्यक्रम हुँदा माइस्थान मन्दिरमा पुजा गर्न आउने महिला, चेलीबेटी, वृद्ध लगायतका हजारौं भक्तजनहरूलाई अवरोध हुने गरेको गुनासाहरू तीव्र रुपमा बढ्दै गएको छ । वीरगंजमा अनेकौं खुल्ला स्थान, सार्वजनिक हल, मैदान, होटेलहरू हुँदाहुँदै धार्मिक स्थलमा गैरधार्मिक कार्यक्रम गरी अरुको धर्म संस्कृति र आस्थामाथि चोट पुर्‍याउनु निन्दनीय कार्य हो जुन वर्तमान संविधानको नीति विपरित पनि भएको स्मरण गराउनु भयो ।

उनले माइस्थान मन्दिर अगाडी, मन्दिर अगाडीको पार्क वा माइस्थान चोकसम्म कुनै पनि किसिमका गैर धार्मिक कार्यक्रम (सभा–समरोह, पार्टी, सांस्कृति कार्यक्रम, प्रदर्शन) नगर्न नगराउनु हुन माइस्थान मन्दिर संचालक समिति वीरगंज, स्थानीय राजनीतिक दल, स्थानीय प्रशासन लगायत सम्पूर्ण संघसंस्था र सरोकारवाला निकायहरूसँग जोडदार आग्रह गरे ।

हिन्दूहरुको यस्तो आग्रहलाई बेवास्ता गरी माइस्थान मन्दिर अगाडी यदी कसैले कुनै गैरधार्मिक कार्य गरेमा वा सो मन्दिरमा पूजा गर्न आउने भक्तजनलाई अवरोध हुने काम गरे/गराइएको पाइएमा हिन्दू युवा संघ नेपाल कडा प्रतिकारमा उत्रिने चेतावनी समेत दिंदै उनले त्यसपछि हुने संभावित क्षतिको जिम्मेवार सम्बन्धीत पक्ष स्वयं हुने स्पष्ट पार्नु भयो ।

कार्यक्रममा हिन्दु युवा संघ नेपालका हिन्दु युवा स्वयं सेवक मदन प्रसाद कुर्मी, राजेश पटेल, बालमिकी प्रसाद कानु, अरबिन्द साह कानु, सुनिल प्रसाद कलवार, राजु गुप्ता, आत्माराम प्रसाद कानु, दिनेश पटेल, दिपु सर्राफ, कृष्ण कुमार चौरसिया, रवि कलवार लगायतको उपस्थिति रहेको बताउनु भयो ।

कार्यक्रम रिपोर्टस क्लब नेपालका मधेश क्षेत्रिय संयोजक कन्हैया गुप्ताको सभापतित्वमा सम्पन्न भएको थियो 

SHARE THIS

Author:

Facebook Comment