(स्वयम्भुनाथ कार्की)
संविधानसभाको दोश्रो निर्वाचन आफै धेरै कारणले विवादको घेरामा छ । मतदानको एकहप्ता चानचुन बाँकी रहदासम्म पनि सत्ताधारी र सत्ताको डाडु पुन्यु साथमा राखेकाहरु कुनै शक्तिले निर्वाचन रोक्न सक्दैन भनेर कुर्लदैछन । यस अबस्थामा यसरी कुर्लनुले नै निर्वाचनमा संकट छ भन्ने डंका पिटिरहेको छ । कुनै युद्धग्रस्त मुलुकको झै मुलुकका हरेक ठाँउमा सुरक्षा निकायको निगरानीमा छ । फाट्टफुट्ट बम र अशान्ति पनि देखिदैछन । तै पनि सरकारको हिम्मत भने मान्नु पर्ने नै छ , अरु सामान्य मुलुकमा भए यस्तो अवस्थामा चुनाव हुने थियो वा थिएन त्यो भन्न सकिन्न तर नेपालमा निर्वाचन कुनै शक्तिले नराकिने उद्घोषले केही प्रश्नहरु जन्माएको छ । कही यो कसैको गुरु योजना अन्तरगत त भएको हैन ? किनभने असन्तुष्ट मतदाताले मत हालेनन भने कार्यकर्ताको मत मात्रले कसैलाई चुनाव जित्न सजिलो हुन्छ ।
आजसम्म कही यति प्रतिशत मतदान नभए चुनाव अवैध हुन्छ भनेर नियम भएको जानकारी छैन । पहिले पहिले विहारी शैली भनिने चुनावमा बुथ कव्जा गरेर आफ्ना विरोधका मतदाताहरुलाई मतदान गर्न नदिएका घटनाहरु छिमेकमा प्रशस्त देखिएका हुन । यो निर्वाचन हुने वा नहुने भन्ने शंका जनताको मनमा पसाएर, मतदान गर्न जान डराउने वातावरण पैदा गरेर विगतका बर्षमा प्रमुख भनिने दलहरु प्रतिको आक्रोशले पार्न सक्ने नकारात्मक असरको उपचार गरिएको त हैन
भनेर चनाखो हुन आवश्यक भई सकेको छ । यस्तोमा केही आफुलाई कट्टर राजावादी भन्नेहरुले पनि निर्वाचन बहिष्कारको नारा उराले देखेर जनसाधारणलाई आश्चर्य लाग्नु स्वभाविक नै हो । जव राजा स्वयंले एक अबसरमा हैन प्रत्येक अवसरमा जनताको इच्छा आफुले सर्वोपरी मान्ने बताई रहेका छन भने जनचहाना व्यक्तहुने अवसरलाई निषेध गर्न खोजेर कुन चमत्कार खोज्दैछन, यो खोजको विषय हो ।
हिन्दीमा भनिने ‘काली भेड’ वा अंग्रेजीको ‘ब्ल्याक शीप’ त्यस्तालाई भनिन्छ जो मित्र, सहयोगी वा आफ्नाको भेषमा रहेर आफ्ना शत्रुको हित हेर्ने गर्दछ । सबैलाई यस्तै भन्न मिल्दैन र होईनन् पनि, तर कोही न कोही प्रभावशाली व्यक्ति पक्का छ जसले यो ब्ल्याक शीपको काम गर्दैछ भन्ने कुराको प्रशस्त संकेतहरु देखा परेको छ । आफ्नो प्रभावमा लिएर मुलुकको हित भनेर आफुले माया गर्ने कै अहित हुने काम गराउन सक्ने कुनै लरतारो शक्ति छैन त्यो , यति चलाख र चतुर छ कि नेपालीको राष्ट्रप्रेमलाई नै प्रयोग गरेर आफ्नो काम निकल्दैछ । यस निर्वाचनमा जुन प्रकारको नाटक मञ्चन भई रहेको छ त्यसमा मुलुकको एकमात्र निर्वाचित र भावी बाटो खन्ने स्थानमा राष्ट्रप्रेममा रंगिएका कुनै पनि दलका व्यक्तिहरुलाई पुग्न नदिने दाउ नहोस भन्ने कामना मात्र गर्न सकिन्छ ।
यस्तै किसिमको चुनावले सिक्किमको स्वतन्त्रता गुमेको उदाहरण बलियो रुपमा पेश गर्ने गरिन्छ । यसबाट साँच्चै नै राष्ट्रप्रेमीहरु आन्दोलित हुनु एक स्वभाविक प्रतिक्रिया हो । यसलाई अन्यथा लिन पटक्कै मिल्दैन । तर यससंगै केही अन्य तथ्यहरु पनि छन कि जसले सिक्किमको र नेपालको अबस्थामा फरक देखाउछन । पहिलो कुरा नेपालमा अहिले निर्वाचनमा सहभागी भएका कुनै पनि दलमा नेपालको माया नभएको वा नेपालको अस्तित्व नचहाने शक्ति एकलौटी हावी छैन र हुने परिस्थिति पनि छैन । पहिलेको निर्वाचनमा नेपालमा करिव एक करोढ छैहत्तर लाख मतदाता थिए भने अहिले पनि यो सख्या नबढेको कुरा निर्वाचन आयोगले बताएको छ । त्यस निर्वाचनमा करिव सन्ताउन्न प्रतिशतले मतदान गरेका थिए । यसलाई अहिले धेरै मतदान हुँदा पैसठ्ठी प्रतिशत मान्ने हो भने एक करोड चौघलाखको हाराहारी हुन्छ । यसरी करिव चौतिस हजारले एक समानुपातिक स्थान पाउने छ । यदी बहिष्कारको प्रभावमा मतदान भयो भने तीस प्रतिशत मतदान मानेर हेर्दा करिव तीरपन्न हजार मतदान हुनेछ । यसरी करिव पौने सोह्र हजारले एक समानुपातिक स्थान हासिल हुने छ । यो संख्या जति थोरै मतदान भयो त्यति नै कम हुनेछ ।
यसमा राष्ट्रप्रेम गर्नेहरुलाई मतदान नगर्न प्रोत्साहित गरिएकाले राष्ट्रप्रेम गर्नेहरुले विरोध गरेकाहरुको बाहुल्यता हुने खतरा छदैछ । बहिष्कार गर्ने नारा दिनेले लगाएको राष्ट्रघातीको आरोप सही वा गलत के हो त्यसमा विवाद नगरी हेर्ने हो भने यो बहिष्कारले उनीहरुले राष्ट्रधातीको आरोप लगाएकाहरु कै हाली मुहाली हुन जाने संभावना झन बलियो भएर गएको छ । यो संघर्षमा कसैले चाहेर वा नचाहेर पनि जनताको आक्रोसका तारो बनेका चार दलले निर्धारण गरेकै विधिमा अगाडी बढ्नु पर्ने बाध्यता छ । बुँईगल पसेर सुर्केको पाखुराले काम लाग्दैन मैदानमा कम्मर कस्नै पर्छ । सिक्किमेलीहरु स्वतन्त्र रहन चाहान्थे कि चाहान्न थिए, त्यसको बारेमा अहिले चर्चा गर्नुको कुनै अर्थ छैन । स्वतन्त्रताको चाहानाले पुर्वी पाकिस्थान बंगलादेश भएको उदाहरण देखेका पुस्ता अहिले जीवितै छन । त्यसैले यो निर्वाचनलाई बहिष्कार गरेर भन्दा सामना गरेर नेपालीले आफ्नो स्वतन्त्रता कायम राख्न सक्छन । कुनै चमत्कारले काम गर्नेवाला छैन आजको युगमा त्यही हुन्छ जो जनताले चाहान्छन । श्रोतःजनआवाज