न्यायालयको फैसलालाई चुनौती दिने काँग्रेसी प्रवृत्ति

– सन्तोष भुसाल

सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भई १४ महिना जेल सजाय भोगेर डिल्लीबजारस्थित सदरखोरबाट छुटेका कांग्रेस नेता खुमबहादुर खड्कालाई कांग्रेस नेता तथा कार्यकर्ताले गरेको सम्मान र स्वागत देख्दा लाग्थ्यो उनी ठूलै पौरख गरेर आउँदै छन्।
भ्रष्टाचारको आरोप प्रमाणित भई सजाय भुक्तान गरेर आएका खड्कालाई नेपाल राष्ट्र र नेपाली जनताको निम्ति निकै प्रशंसनीय काम गरेको जस्तो गरी केन्द्रदेखि जिल्ला तहका हजारौँ कांग्रेसी नेता–कार्यकर्ताले फूल–मालाले धपक्कै पुरेको दृश्य र त्यस समाचारले वनस्थली प्रहरी बिटमा कार्यरत असई अनिल श्रेष्ठ र जवान शंकर दुलालको इमानदारीको कामलाई ओझेल पारेको थियो। उनीहरूले सडकमा फेला परेको ३० हजार ५ सय रुपियाँसहितको पर्स इमानदारिताका साथ सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको अर्को समाचार पनि थियो। तर त्यस समाचारलाई अधिकांश मिडियाले त्यति महत्त्व दिएको पाइएन। न त त्यहाँ कुनै सम्मान र स्वागत गर्ने समूहको उपस्थिति
नै देखियो। थिए त केवल पर्स हराउने व्यक्ति अनि इमानदार प्रहरी। तर भ्रष्ट नेता खुमबहादुर खोरबाट निस्किँदाको दृश्य भने सबैको प्राथमिकतामा पर्यो। इमानदार, नैतिकवान्, सदाचारीहरूप्रति गरिनुपर्ने सम्मान र स्वागत एक भ्रष्ट नेताप्रति गरिँदा इमानदारिता, नैतिकता र सदाचारको धज्जी उडेको छ।
सर्वोच्चले भ्रष्टाचारी ठहर गरिसकेको व्यक्तिलाई पार्टीबाट निष्कासन, तिरष्कार र बहिष्कार गरी भ्रष्टाचार कर्ममा निरुत्साहित गर्नुको सट्टा उल्टो स्वागत–सम्मानमा फूलमालासहित हजारौँको संख्यामा निकालिएको अबिर जात्राले नेपाली राजनीतिक दलहरूको नैतिक धरातल कति घिनलाग्दो रहेछ भन्ने स्पष्ट पारिदिएको छ। कांग्रेस नेता–कार्यकर्ताले भ्रष्टाचार कर्मलाई निरुत्साहित गर्नुको सट्टा झन् प्रोत्साहित गरेका छन्। नेपालको इतिहासमा नै यस घटना एक राजनीतिक पथभ्रष्टको नमुना बनेर रहने त छ नै, त्यससँगै न्यायिक स्वतन्त्रता र न्यायालयको निर्णयप्रतिको चरम अपमानको उदाहरणको रुपमा समेत रहनेछ। भाषण र वक्तव्यबाजीमा सबैभन्दा चर्को स्वरमा स्वतन्त्र न्यायालयको कुरा गर्ने कांग्रेसले नै न्यायालयले भ्रष्टाचारी ठहर गरेको व्यक्तिलाई धूमधामले सम्मान गर्नु नकचरोपनको पराकाष्ठा हो। यस घटनाले समग्र मुलुकको राजनीतिक संस्कार बिगारेको छ।भ्रष्टाचार गरेबापत सम्मान र स्वागत दिँदा सबैले भ्रष्टाचार गर्नु पौरख रहेछ भनेर बुझ्न थाले भने परिस्थितिले कुन रुप लेला ? मुलुकको राजनीति कुन बाटोतर्फ जाँदै छ भन्ने यो घटनाले स्पष्ट पारिदिएको छ।
आगामी निर्वाचनमा पहिलो दल हुने लक्ष्य बोकेर हिँडेको कांग्रेसको यो प्रवृत्तिले उसलाई कति फाइदा कति बेफाइदा पुग्ला, विषय सोचनीय छ। सधैं नेपाल बिग्रियो, जताततै भ्रष्टाचार मौलायो भनेर चिन्ता व्यक्त गर्ने युवाहरूले नै एक भ्रष्ट नेताको सम्मानमा लाम लागेर जुलुस निकाल्छन् भने दोषी तिनै युवाहरू पनि होइनन् र ? भ्रष्टाचारीलाई प्रोत्साहित गर्ने अनि भ्रष्टाचारको जालो मौलाउँदै गयो भन्दै चिन्ता गर्नुको के औचित्य ? एउटा भ्रष्टाचारी खोरबाट छुट्दा विजय जुलुस निकाल्ने देशका युवाहरूले बेरोजगारीको समस्या नभोगे के अरु देशकाले भोग्छन् त ? कांग्रेस नेता खुमबहादुरले भ्रष्टाचार गरी जोडेको अकुत सम्पत्ति बराबरको रकम उनि पदमा रहँदा सरकारी तवरबाटै रोजगारी सिर्जना गर्ने कुनै पनि क्षेत्रमा लगानी गरेको भए आज भ्रष्टाचारी खुमबहादुरलाई माला लगाउन काठमाडौंको डिल्लीबजारस्थित सदरखोर पुगेका युवाहरू आफ्नै काममा व्यस्त हुने थिए।
सायद सिद्धान्तको रटान दिने कांग्रेसीहरूको सिद्धान्तले एक भ्रष्ट नेतालाई फूलमाला लगाइदिन प्रेरित गरेर होला बीपीको फोटोसहित खुमबहादुरको भव्य स्वागत गरेका। के बीपीको आत्माले यो प्रवृत्तिलाई स्वीकार गर्ला त ? बीपीको फोटो कांग्रेसको सधैँ फलाकिने गरेको सिद्धान्त अनि कांग्रेसजनले सुनाउने गरेको लोकतन्त्रको महामन्त्रमा खुमबहादुरको यो भव्य स्वागत कसरी अट्छ भन्ने प्रश्नको जवाफ डिल्लीबजारको सदरखोरको ढोकामा थुप्रिएका युवा कांग्रेसहरूले मात्र दिनुपर्ने होइन, बूढा नेताहरूले ढाकेर युवालाई स्थान नदिएकोले कांग्रेसमा विचलन आएको भनेर अभियान चलाउने गगन थापाले जवाफ दिनुपर्छ, कांग्रेसलाई मुलुकभन्दा पनि ठूलोजस्तो दाबी गर्ने नरहरि आचार्यलाई पनि यो प्रश्नले छुन्छ।
आफूलाई लोकतन्त्रको पर्यायवाची भनेर दाबी गर्ने कांग्रेसका आस्थावान् सिपाही भन्नेहरूले भनून् कि यो सैद्धान्तिक विकृति हो कि होइन? यो घटनाले कांग्रेसद्वारा अब यसपछि गरिने हरेक सुव्यवस्था, नैतिक समाज, विधिको शासन, न्यायिक सर्वोच्चता आदिका दाबीको खोक्रोपनको खुल्ला विज्ञापन गर्नेछ। गगन थापाहरूको युवा सक्षमताको मुकुण्डो त शुरुमै खुलिसकेको छ। मौका पाए युवाहरूले कांग्रेस सक्षमताले हाँक्छन् भन्नेहरूको मुख यसले बन्द गरेन भने त्यसलाई निर्लज्जता नै भन्न सकिन्छ। युवापुस्तालाई इमानदार, सच्चरित्रवान्, सक्षम बनाउन नसकेको दोषबाट कांग्रेस नेतृत्व त उम्कन पाउन्न, साथै युवाहरूको नाममा चर्का नारा दिएर सुप्रभा घिमिरेलाई पाखा लगाउन सफल कांग्रेसका युवा जमातका ढुकढुकी बनेका गगन थापाको पनि कथनी र करनीको अन्तर छताछुल्ल हुन्छ।
न्यायपलिकाको निर्णयमा प्रश्न उठाउने चरित्र कांग्रेसको हो भने उसले भावी नेपालमा न्यायपालिकाको कुन स्थान सोचेको छ र घोषणापत्रमा कुन स्थान राखेको छ, त्यसको पनि मूल्यांकन हुन्छ। अपराधको सजाय भोगेर आएको मान्छे निश्चित विधि र प्रक्रियाले समाजमा रहन्छ, सधैँ तिरस्कृत हुनुपर्छ भन्ने होइन। निश्चय नै मुलुकको न्यायप्रणालीको पैmसलालाई पूर्वाग्रही भनेर त्यसको अपमान गर्ने भन्दा न्यायालयको फैसला शिरोधार्य गर्ने मान्छे ठीक हो। कानुनले दिएको दायरामा रहेर समाजमा सामान्य जीवनयापन गर्ने, समाजको भलोको काम गर्ने अधिकार उसलाई हुन्छ। तर यस्तो किसिमको तामझामले न्यायालयको फैसलाको सम्मान गरेको जस्तो गरेर न्यायालयको फैसलालाई नै चुनौती दिने प्रवृत्तिलाई प्रोत्साहन दिने कांग्रेसको नियतमाथि शंका भने गर्नु नै पर्ने हुन्छ।

SHARE THIS

Author:

Facebook Comment