दैनिक ३० करोडको राजस्व संकलन

वीरगन्ज: मधेश आन्दोलन र नाकाबन्दीका कारण थलिएको मुलुककै प्रमुख औद्योगिक एंव आर्थिक नगरी वीरगन्ज फेरि पुरानै लयमा फर्कन थालेको छ।


मधेसी दलले गरेको ६ महिने आन्दोलन र नाकाबन्दीको केन्द्र विन्दु वीरगन्ज नै बनेको थियो। आन्दोलन र नाकाबन्दीका कारण सबै भन्दा बढी वीरगन्जको उद्योग व्यपार र वीरगन्ज भन्सार कार्यालय मारमा परेका थिए।

माघ २२ गते नाकाबन्दी खुलेसंगै आन्दोलन पनि शीथिल भएपछि यहाको उद्योग व्यपार फेरि बिस्तारै पुरानो अवस्थामा फर्किन थालेका छन्। वैशाखको पहिलो साता देखि वीरगन्ज भन्सार कार्यालयको राजश्व असुलीमा पनि निकै सुधार आएको छ।

माघ २२ गतेदेखि नाकाबन्दी खुलेपछि दैनिक १५ करोडको औसतमा राजश्व संकलन गर्दै आएको भन्सार कार्यालयले वैशाखको पहिलो साता देखि भने दैनिक ३० करोड भन्दा माथि नै राजश्व संकलन गर्दै आएको छ।

मधेस आन्दोलन र नाकाबन्दी भन्दा पहिले भन्सार कार्यालयको दैनिक राजश्व असुली दर ३० देखि ३२ करोड थियो, भन्सार कार्यालयका निमित्त प्रमुख लोकराज पन्तले भने ,' वैशाख पहिलो साता देखि भने फेरि पहिलेकै हाराहारीमा राजश्व उठिरहेको छ।

पन्तका अनुसार वैशाख ५ गते देखि भन्सार कार्यालयको राजश्वमा संकलनमा सुधार आएको हो। भन्सार कार्यालयले अहिले दैनिक ३० देखि ३२ करोड रुपैया राजश्व संकलन गरिरहहेको कार्यालयका निमित्त प्रमुख लोकराज पन्तले बताए।  

वैशाख ५ गते ३३ करोड ४४ लाख ८३ हजार नौ सय ६३ रुपैया राजश्व संकलन भएको पन्तले बताए। त्यपछिका हरेक दिन औसत ३० करोडको हाराहारीमा राजश्व उठेको पन्तले जानकारी दिए।

वैशाख १४ गते ४० करोड , १५ गते ३९ करोड, वैशाख २१ गते ४२ करोड , २२ गते ३५ करोड ,२७ गते ३७ करोड ,२९ गते ३७ करोड , ३० गते ४४ करोड र ३१ गते ४० करोड रुपैया राजश्व संकलन भएको छ।

जेठ १ र २ गते शनिवार र आइतवार परकाले ती दुवै दिन २०/२० करोड राजश्व संकलन भएपनि जेठ ३ गते ३३ करोड र जेठ ४ गते ३२ करोड रुपैया राजश्व उठेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।

शनिवारका दिन नेपालमा र आइतवारका दिन भारतमा सनर्वजनिक विदा पर्ने गरेका कारण ती दुवै दिन बाहेक अरु दिनहरुमा ३० करोड भन्दा बढि नै राजश्व संकलन भइरहेको निमित्त प्रमुख पन्तले बताए।

आन्दोलन र नाकाबन्दीका कारण भदौदेखि चैतसम्म हरेक महिनामा भन्सार विभागले दिएको लक्ष्य पुरा गर्न असफल भएको वीरगन्ज भन्सार कार्यालयले वैशाखमा भने लक्ष्य भन्दा २० प्रतिशत बढी नै राजश्व संकलन गरेको छ।    

निमित्त प्रमुख पन्तले भने, 'वैशाखमा सात अर्ब एक रोड ४५ लाखको लक्ष्य थियो,वैशाखमा लक्ष्य भन्दा २० प्रतिशत बढि अर्थात आठ अर्ब ४५ करोड ६४ लाख रुपैया राजश्व उठेको छ।'

वैशाख पहिलो सातादेखि भारत तथा तेश्रो मुलुकबाट इन्धन, ठुला तथा साना नयाँ सवारीसाधन र फलामजन्य उद्योगका कच्चा पदार्थको आयातमा बृद्धि भएका कारण राजश्व संकलन पनि बढेको निमित्त प्रमुख पन्तले बताए।

बढि राजश्व पेट्रोल, खाना पकाउने एलपी ग्यास, नयाँ वाहन र फलामका कच्चा पदार्थबाटै आउछ,उनले भने,'बढी राजश्व उठने सामानहरु फेरि साबिककै परिमाणमा आयात भइरहेकाले राजश्व असुली पनि सन्तोषजनक छ।'

आन्दोलन र नाकाबन्दीका बेला रुट परिवर्तन गरेर भैरहवा र विराटनगर नाका तर्फ विस्थापित भएका आयातकर्ता र व्यपारीहरु वैशाख देखि फेरि वीरगन्ज नाका तर्फ नै फर्किएका कारण पनि राजश्व संकलनमा सुधार आएको पन्तले बताए।

नाकाबन्दीका बेला वीरगन्ज नाका पूर्ण रुपमा ठप्प भएका कारण आयातकर्ता र व्यपारीहरु भैरहवा र विराटनगर नाका तर्फ विस्थापित भएका थिए, उनले भने,'तर अहिले फेरि वीरगन्ज नाकाको अवस्था सहज भएकाले उनिहरु विस्तारै फेरि यतै फर्कन थालेका छन्।'
- annapurnapost

SHARE THIS

Author:

Facebook Comment