छोरीले आमा अन्माइन

झापा, ४ बैशाख । आमाबाबुले आफ्ना सन्तानको विवाह गरिदिएको तपाईं हामी सबैले देखेका छौँ तर आफैँले जन्माएकी छोरीले आफ्नै आमालाई अन्माइन भन्दा पत्यार नलाग्न सक्छ। पत्याउनुस या नपत्याउनुस यो यथार्थ घटना झापाको बिर्तामोड नगरपालिकाको हो। प्रेमको यो सुखद मिलनको खबर हो बिर्तामोड नपा-७ बिर्तामोड निवासी ३७ वर्षीया अम्बिका कार्की शिवाकोटीको । यसो त प्रेम र युद्धमा सवै थोक जायज मानिन्छ तर पुरातन मनुवादी संस्कारले आक्रान्त नेपाली समाजमा एकल महिलाले प्रेम गर्ने र विवाह गर्ने सोच्नु पनि अपराध मानिन्छ । हो त्यहि नेपाली समाजकी एउटी एकल महिलाको प्रेम र विवाहलाई सार्थक बनाइदिएकी छिन उनको आफ्नै कोखकी छोरी १८ वर्षीया अप्सना शिवाकोटीले । छोरी अप्सनाले आफ्नी आमा अम्बिकाको प्रेमी भारत राजस्थानका राहुल खटवानीसँग शुक्रबार हिन्दु संस्कार अनुसार धुम-धाम विवाह समारोह आयोजना गरेर अन्माइदिएकी छिन  आफैंलाई जन्म दिने आमालाई उनकै प्रेमीको साथ् ।

उनकी आमा अम्बिकाको एक वर्षअघि देखि सामाजिक सञ्जाल फेसबुकमार्फत मित्रराष्ट्र भारतका राहुल खटवानीसँग चिनजान भएपछि प्रेममा समर्पित रहँदै बाँकी जिन्दगी संगै जिउने संगै मर्ने कसम खाँदै वैवाहिक जिन्दगीको सपना र कल्पनामा डुवी रहन्थिन । आज उनकै छोरी अप्सनाले रुढीवादी समाजको सामुन्ने आफ्नी आमा अम्बिकाको सपना र प्रेमको सुखद मिलन गराइदिएकी छिन ।

अप्सनाले आफ्नी आमा अम्बिका र राहुल खटवानीबीचको प्रेम सम्बन्ध गाढा रहेको थाहा पाएपछि शुक्रबार सामाजिक परम्परा अनुसार झापाको अर्जुनधारा जलेश्वरधाममा भव्य विवाह समारोह आयोजना गर्दै आफैंलाई जन्म दिने आमा अम्बिकालाई अन्माएकी हुन् । झापाको अर्जुनधारा जलेश्वरधाम परिसरमा अप्सनाले हिन्दू संस्कार अनुसार आमा अम्बिका र राहुलबीच आयोजना गरेको विवाह समारोह हेर्नेको भिड रोमान्चित हुँदै अम्बिका र राहुलको जोडीको सुखद दाम्पत्य जिवनको कामना गरिरहेका थिए ।

झापाको स्थानिय सामाजिक सङ्घसंस्थाहरुमा क्रियाशील रहँदै आएकी अगुवा एकल महिला अम्बिका वीरता लेडी जेसीज बिर्तामोड, गोदावारी समाज लगायत थुप्रै सङ्घसंस्थामा आबद्ध रहँदै सामाजिक सेवाको क्षेत्रमा सक्रिय थिइन् । सामाजिक क्षेत्रकी अगुवा एकल महिला अम्बिकाको विवाह छोरीले गर्दैछिन् भन्ने सुनेर धाम परिसरमा ठुलो संख्यामा स्थानीय बासीको उपस्थिति थियो । आफ्नै विवाह गर्ने उमेरमा किन गरिन् त आमाको विवाह अप्सनाले? धेरैको मनमा उव्जिएको यो प्रश्नको सहजै हाँसीहाँसी उत्तर दिँदै छोरी अप्सनाले भनिन्, ‘आमाको प्रेमको सुखद मिलन होस् र एकल जिन्दगी जिउन गाह्रो नहोस् भनेर मैले आमाको विवाह उनकै प्रेमीसँग गरिदिएकी हुँ ।’

यस अघि अम्बिकाको विवाह २०५३ सालमा बिर्तामोड निवासी खगेन्द्र शिवाकोटीसँग भएको थियो । तर उनीहरुको दाम्पत्य जीवनमा उनका पतिलाई एउटा दुखद दुर्घटनामा निष्ठुरी कालले अल्पायुमै चुडेर लग्यो । वि.सं. २०६७ मा खगेन्द्रको आफ्नै घरको छतबाट खसेर मृत्यु भएपछि अम्बिका एकल महिलाको जिन्दगी व्यथित गर्दै आएकी थिइन् ।

पछिल्लो समय नेत्र रोग सम्बन्धि चिकित्षा विज्ञानको अध्ययनका लागि छोरी अप्सना शिवाकोटी भारतको बैङ्लोरमा गएपछि अम्बिका एकल महिलाको रुपमा एक्लै बस्दै आएकी थिइन् । छोरी अप्सना शिवाकोटीले भनिन्, ‘झापाको बिर्तामोडमा सानो तिनो व्यवसाय सञ्चालन गर्दै आएकी आमालाई म अध्ययन गर्न गएपछि एकल महिलाको एक्लो जिन्दगि व्यथित गर्न असहज हुँदै थियो र उहांहरु प्रेममा रहेको मलाई जानकारी भयो त्यसपछि आमा र राहुलको साँचो प्रेमको सुखद मिलन होस् भनेर आमासंग सल्लाह गरेरनै मैले उहाँहरुको विवाह गरिदिएकी हुँ ।’

स्मरण रहोस हिन्दु संस्कारमा एक महिलाले विवाह गर्नु धार्मिक मान्यता विपरित भएको मानिदै आएको छ र यस्तो विवाहको बिपक्षमा उभिने रुढिवादी नेपाली समाजमा आफ्नै आमाको विवाह गरिदिने छोरी अप्सना र आफ्नो प्रेमलाई सार्थक रुप दिन सफल अम्बिकाले देखाएको साहस असंख्य हिन्दु एकल महिलाहरुको हकमा एउटा अनुपम उदाहारण हुन सक्छ अर्थात् सामाजिक क्रान्तिको एउटा शान्तिपूर्ण स्वरुप मान्न सकिन्छ राहुल र अम्बिकाको यो विवाह । जसले आगामी दिनमा धर्मको नाउँमा अपराध गर्ने रुढिवादी नेपाली समाजका ठेकेदारहरुलाई एकल महिलाको हकमा लगाइदै आएको वार-वन्देज बारे सोच्न वाध्य पार्नेछ ।

श्रोतःनेपाल२४ अावर्स

SHARE THIS

Author:

Facebook Comment