'चीनसँग ब्यापार सम्झौता कार्यान्वयन रोक्न सरकार ढाल्ने खेल' -

काठमाडौं—
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रुपमै सरकार परिवर्तनका लागि अाह्वान गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार समूहबाट त्यसप्रति टिकाटिप्पणी गर्ने काम सुरु भएको छ।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक प्रमोद दाहालले चीनसँग भएका दीर्घकालीन व्यापारिक सम्झौताको कार्यान्वयन रोक्न सरकार ढाल्ने खेल सुरु भएको अर्थ लगाएका छन्। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नाम उल्लेख नगरी उनले 'कथित क्रान्तिकारीहरु विदेशीको योजनामा कसरी पर्दा रहेछ अब छर्लङ्ग भएको' भनेका छन्। सरकार परिवर्तनको खेल भारतको इसारामा भएको उनले संकेत गरेका छन्।


'प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय स्वाभिमानलाई दह्रिलो बनाउँदै उत्तरी छिमेकी चीनसँग गरेको ऐतिहासिक एवं दीर्घकालीन महत्वको व्यापारिक सम्झौताको कार्यान्वयन हुन नदिई नेपाललाई आत्मनिर्भरताको बाटोमा अघि बढ्नबाट रोक्ने योजना अन्तर्गत सरकार ढाल्ने खेल भएकोमा दुई मत छैन्', उनले आफ्नो फेसबुकमा लेखेका छन्, 'राष्ट्रवादको खोल ओढेका कथित क्रान्तिकारिहरु विदेशीहरुको योजनामा कसरी पर्दा रहेछन् भन्ने कुरा अब त झनै छर्लङ भएको छ।'

एमालेको योजनामा सत्य निरुपण आयोगमा एमाओवादी नेताविरुद्ध उजुरी परेको भन्ने चर्चा चलिरहेका बेला दाहालले सो विषयबारे कटु प्रस्टिकरण दिएका छन्। 'अपराधकर्मबाट आएकाहरु जहिले पनि आफूलाई असुरक्षित महसुस गरिरहेका हुन्छन्', दाहालले लेखेका छन्, 'त्यसैले उनीहरु अनेक नाजायज सम्बन्ध गाँसेर आफूलाई सुरक्षित राखिरहने प्रपञ्च गरिरहेका हुन्छन्। अहिलेको सरकार परिवर्तनको खेल धेरै दाऊ मध्येको यो एउटा दाऊ हो।'

बुधबार बिहान एमाओवादीले आफ्नो नेतृत्वमा सरकार बनाउने कार्यको लागि सार्वजनिक आह्वान गरेको थियो। सरकार परिवर्तनको खेल सुरु गरेसँगै ७ महिना अघि गठन भएको ओली सरकार धरापमा परेको छ। एमाले-एमाओवादी सम्बन्ध चिसिएको छ।

SHARE THIS

Author:

Facebook Comment