बारा पर्सा क्षेत्रमा विदेशी लगानीको सम्भावनाबारे छलफल

वीरगंज ।
वीरगंज उद्योग वाणिज्य सङ्घका पदाधिकारी एवम् कार्यसमिति सदस्यहरु तथा जाईकाका प्रतिनिधिहरुबीच सङ्घकै सभाकक्षमा आज एक समारोहबीच पर्सा–बारा क्षेत्रमा विदेशी लगानीको सम्भावना बारे छलफल भएको छ ।
सङ्घका अध्यक्ष प्रदीपकुमार केडियाले सङ्घको ऐतिहासिक पृष्ठभूमि, उद्योग व्यापारको प्रबद्र्धनमा खेलेको भूमिका र यस पर्सा(बारा क्षेत्रले बोकेको आर्थिक महत्व दर्शाउँदै विदेशी लगानीको लागि यस क्षेत्र एकदमै उपयुक्त रहेको बताउनुहुँदै जाईकाका प्रतिनिधिहरुलाई यस क्षेत्रमा विदेशी लगानी गर्न आग्रह गर्नुभयो ।

जाईकाका विदेशी लगानी सल्लाहकार हिरो ईवाजाकीले नेपालका अन्य क्षेत्रहरुको तुलनामा पर्सा(बारा क्षेत्र लगानी गर्न योग्य रहेको बताउनुहुँदै यस क्षेत्र जाईकाको प्राथमिकतामा परेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुहुँदै विदेशी लगानीको जाईका टोलीले विराटनगर, वीरगञ्ज र भैरहवा क्षेत्रको स्थलगत अध्ययनमा रहेको बताउनुभयो ।

कार्यक्रममा सङ्घका का.स.स. निरज अग्रवालले कार्यपत्र प्रस्तुत गर्नुहुँदै लगानीका लागि यस क्षेत्रले बोकेको सम्भाव्यता र निर्माणाधीन अवस्थामा रहेका परियोजनाहरुको बारेमा विस्तृत रुपमा प्रस्तुत गर्नुभयो । कार्यक्रममा जाईकाका युका कितामाचु, सङ्घको पूर्व अध्यक्ष एवम् नेउवामहासङ्घका कार्यकारिणी सदस्यद्वय विजय सरावगी र अशोककुमार टेमानी, सङ्घका पदाधिकारी एवम् कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । सङ्घका मनोज उपाध्यायले सहजीकरण गर्नु भएको कार्यक्रममा सङ्घका उपाध्यक्ष सुबोधकुमार गुप्ताले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रम पश्चात् जाईकाका टोलीले श्रीसिया सुख्खा बन्दरगाह र विभिन्न उद्योगहरुको अवलोकन भ्रमण गर्नुभएको थियो ।

SHARE THIS

Author:

Facebook Comment