देशभक्त समेटिनु भनेको दल खोल्नु हैन

–स्वयम्भुनाथ कार्की

नेपालका नागरिकहरुको पहिलो परिचय नेपाली हो । उसले पाउनु पर्ने सबै अधिकार र गर्नुपर्ने सबै कर्तव्य नेपाली भएर पाउने वा गर्ने हो । एक नेपालीको अनेकौ परिचय हुन्छ, जो समय सन्दर्भ वा स्थान अनुसार दोश्रो स्थानमा रहन्छ । तर पहिलो स्थानमा रहने परिचय त नेपाली नै हो । त्यसैले देशभक्तहरुको पहिलो प्राथमिकता भनेको मुलुक र मुलुकको हित हो । यहि आधार बिन्दुबाट सबै कृयाकलापको मापन हुनु पर्दछ । कुनै दल वा राजनैतिक नेतासंग आवद्ध हुँदा पनि देशभक्त आफ्नो प्राथमिकता छोड्न सक्दैन । बरु दल वा नेता छोड्न तैयार हुन्छ । 

एकान्तमा आफ्नो अन्तरआत्मालाई न्यायधीश मानेर निर्णय गर्न दिने हो भने सहि र गलत छुट्याउन कठिन छैन । अन्तरआत्मालाई कुरो बुझाउन न कुनै वकिल चाहिन्छ न झुट नै चल्छ । अन्तरआत्माको निर्णय अनुसार चल्नेहरु स्वाभिमानी हुन्छन् । यस्तै स्वाभिमानी देशभक्तहरु मुद्दाका आधारमा समेटिनु आजको आवश्यकता हो । यो आवश्यकतालाई बिक्रियोग्य बस्तु मानेर पसल खोल्नेहरु क्षणिकरुपमा भावनाको व्यापारमा सफल त हुन्छन तर त्यो दिगो भने हुँदैन । एक स्वाभिमानी देशभक्त सबै कुरामा आँखा चिम्लेर कसैले बनाएको दलको अनुशासनमा समेटिदैन र समेटिनु हुँदैन पनि ।

केवल एकमात्र लक्ष्य मुलुकको स्वतन्त्रता, स्वाभिमान र समुन्नतिलाई मानेर समेटिने देशभक्तहरु कुनै दलको झण्डाले हैन कार्यगत एकताले जोडिनु पर्दछ । नेताले समुह जन्माउने परमुखापेक्षि सोचको विपरित समुह र लक्षले नेता आफै पैदा गर्दछ भन्ने मान्यता ठिक हो । जो समुहका सबैलाई सन्तुष्ट बनाएर लक्ष भेदन तर्फ लाग्न सक्छ त्यो नै वास्तविक नेता हो । समुहको नेता हुनै पर्दछ भन्ने चलेको चलन अनुसार देशभक्तहरुले पनि कुनै नेताको आवश्यकता महशुस गरे । तर यसको असर अहिलेसम्म केवल आपसी द्वन्द्व र फुट मात्र देखिएको छ । अव यो बन्द हुनु पर्दछ ।

देशभक्तहरुको समुहमा नेताको देवत्वकरण अपाच्य कुरा हो । तर अहिले त्यही प्रवृति देखिएको छ । जुन दलहरु आरंभदेखि नै कुनै न कुनै नेतालाई शीर्षमानेर त्यसैलाई धुरी बनाएर जोडिएका छन भने त्यो उनीहरुको निमित्त ठिक होला । तर जन्मदै दुईफ्याक भएर जन्मेको राप्रपा जस्तो दलमा यो प्रवृति घातक भयो । अन्तरआत्माको निर्णयले सहिको समर्थन र गलतको विरोध गर्ने परिपाटीमा दिक्षितहरुलाई व्यक्तिको निर्देशनमा हिंड्न असंभवप्राय हुन्छ । त्यसैले आज त्यसका अनेकौ टुक्राहरु देखिदैछन् । यसलाई जोडने प्रयत्न अरु प्रत्यूत्पादक हुन्छ । त्यसैले यिनिहरु बीचमा जोडिने केवल एकमात्र सुत्र छ त्यो हो कार्यगत एकता ।

यस कुरालाई अझ स्पष्ट एक सामान्य उदाहरणले गर्छ । कुनै चार व्यक्ति साईकल वा मोटरसाइकलमा काठमाण्डौबाट चार गन्तव्य विराटनगर, विरगंज भैरहवा र धनगढी जाँदैछन् । नारायणघाटसम्म चारैजाना एकैसाथ हुन्छन्, किनभने त्यहासम्म उनिहरुको गन्तव्य मिल्छ । त्यसपछि सौहार्दपुर्ण तरिकाले पश्चिम जाने दुई र पूर्व जाने दुई छुटिन्छन । बुटवल पुगेर भैरहवा जाने र धनगढी जाने अनि पथलैया पुगेर वीरगंज जाने र विराटनगर जाने पनि छुटिन्छन् । अहिले मुलुकको पहिलो गन्तव्य भनेको नारायणघाट सम्म जस्तो हो । जहाँ नेपालले सुरक्षित महशुस गर्दछ, नेपालीले भविष्यको उज्यालो देख्न पाउँछन् । त्यसपछिका कार्यक्रमहरु सबैका अलग अलग हुन सक्लान जो एकै दलमा आवद्ध भएर संभव नहोला । कार्यगत एकता भनेको यहि हो ।

लक्ष पुग्नु त कता हो कता प्रस्थान विन्दुमा पुग्ने वित्तिकै देखिएको व्यक्ति पूजा, घमण्ड र मेरै कुरा मात्र सही हो भन्ने व्यवहारले निराशा बाहेक केही दिएको छैन । राप्रपा नेपालको हालको विवादलाई यही कसीमा हेर्ने हो भने सबै स्पष्ट हुन्छ । हो कमल थापाले प्रारम्भमा दमनको सामना गर्नु पर्‍यो । यो किनभयो भने उनी त्यो हैसियतमा थिए । इलाम माईपोखरीको आइतमान राई र बाँके कम्दीको मोहम्मद सुलेमान पनि उनले बोकेर दुख पाएको लक्षप्रति समर्पणमा उनी भन्दा कम थिएनन । तिनीहरु वेनाम नै रहे किन भने ती सामान्य हैसियतका थिए । 

कमल थापा एक्लैले मात्र यो लक्ष बोकेको र अन्य नभएको भए दलदर्ता गर्ने हस्तक्षरमा पचासौ हजारको सहभागिता संभव हुने थिएन । उनकै मात्र हस्तीले काम गरेको भए पहिलो पल्ट राप्रपा नेपाल चार स्थानमा मात्र सिमित हुने थिएन अहिलेको जस्तो २५ स्थान त्यहीबेला प्राप्त हुने थियो । हो दलमा लागेका कार्यकर्ताहरुले सर्वसाधारण समर्थकहरु भन्दा ज्यादा मेहेनत गरेका छन् । तर हाल धेरैले त्यसको फल पनि प्राप्त गर्दैछन् । समर्थन दलले बोकेको सिद्धान्तलाई हो दललाई हैन भन्ने बुझ्न त्यसका नेता वा कार्यकर्ताले एक स्थान पनि नपाउनु तर दलले चौथो शक्ति हुन पाउनुले प्रष्ट पार्दैन र ? 

राप्रपाहरु लगायत सबैदलको नेतृत्वमा आफु दलमात्र हैन राष्ट्रभन्दा पनि ठूलो भन्ने भाव देखिएको छ । यो नै दलहरुबाट हैन देशभक्तहरुको कार्यगत एकताबाट मात्र संभव छ भन्ने कुराको डंका हो । दलहरुले त विगत दशकौदेखि नेपाली नपाली बीचको एकतामा प्रहार गर्दै छ । कुनै काम गर्न कुन दलको हो त्यसले फरक पार्दैछ । अझ अव त कुन जाती वा समुदायको हो त्यो पनि भागवण्डाको आधार हुनुपर्ने भएको छ । 

करिव तीन दशकमा नेपालमा नेपाली हुँ भन्ने भन्दा म फलाना दलको, फलाना समुदायको वा फलाना क्षेत्रको भन्ने धेरै हुँदैछन् । यो सोच नै नेपालको प्रमुख शत्रु हो । त्यसैले दलको अनुशासित कार्यकर्ताको हैन आफ्नो अन्तरआत्माको आवाज सुन्ने स्वाभिमानी नेपालीहरुको कार्यगत एकता आजको खाँचो हो । हरेक स्वाभिमानी नेपाली देशभक्त हुन्छ नै किनभने देशभक्त नभई त्यो स्वाभिमानी नेपाली हुनै सक्दैन ।
बिराटनगर–१


प्रकाशन मितिः २०७३ वैशाख ०९ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment