बैकहरुमा थुप्रीएको सुनले बिक्रीको लागि बजार पाएन

काठमाडौं- बिक्री नहुँदा बैंकहरुमा सुन थुप्रिएको छ। अवैधानिक रुपमा आयात भएको सुन बैंकमा भन्दा सस्तो बजारमा पाउन थालेपछि बैंकको सुन बिक्री नभएको हो। अहिले बैंकहरूमा रहेको तीन सय २२ किलो सुन बिक्री भएको छैन। बैंकहरुमा रहेको सुन बिक्री नभएसम्म उनीहरुले आयात नगर्ने बताएका छन्।

सुन आयात गर्ने अन्तिम तयारीमा रहेका केही बैंकले उक्त प्रक्रियासमेत रोकेका छन्। बैंकमा रहेको सुन बिक्री नभएसम्म सुन ल्याउन नसकिने बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले बताएको छ।

बैंकहरुले अर्बौं रकमको सुन खरिद गरेका छन्। सुनमा गरिएको लगानीबाट नाफा त परै जाओस समयमा बिक्री गरेर नगद हात पार्न समेत उनीहरुले सकिरहेका छैनन्।

बैंकहरुमा रहेको सुन तीन महिनादेखि बजारमा बिक्री हुन नसकेको बैंकरको भनाइ छ। लामो समयदेखि फाट्टफुट्टबाहेक बिक्री हुन नसकेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए। 'लामो समयसम्म सुन बिक्री नहुँदा आश्चर्यमा परेका छौं,' उनले भने।

नेपाल बैंकर्स संघका अनुसार अहिले सबैभन्दा बढी सुन प्राइम कमर्सियल बैंकसँग ८७ किलो छ। त्यसपछि नबिल बैंकमा ५० किलो, एनएमबी र मेगा बैंकमा ४९–४९ किलो, सानिमामा ४४ किलो र सिटिजन्स बैंकमा ४० किलो सुन मौज्दात छ।

ती बैंकको सुन बिक्री नभएकाले बैंक अफ काठमाण्डू र सिद्धार्थ बैंकले ५०–५० किलो सुन आयात गर्ने प्रक्रिया अगाडि रोकेका छन्। उनीहरुले आयात गर्ने प्रक्रिया रोकेर (पेन्डिङ) राखेका छन्।

बैंकमा रहेको सुन बिक्री नभएपछि सुन व्यवसायीले सुन आयात कोटा बढाउने मागसमेत स्थिगित गरेका छन्। कोटा बढाउनुपर्छ भन्ने अवस्थाबाट पछि हट्नु परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए।

पछिल्लो समय अनौपचारिक बाटोबाट सुन आयात हुने क्रम बढेकाले वैधानिक बाटो (बैंक) बाट आयात हुने क्रम घटेको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए। 'बैंकको सुन बिक्री भएको छैन, तर बजारमा सुन कारोबार चलिरहेको छ,' उनले भने, 'यसले अनौपचारिक बाटोबाट सुन आपूर्ति भएको आशंका छ।'

'अवैध रुपमा बजारमा सस्तो सुन छ्यापछ्याप्ती छ, यस्तो अवस्थामा बैंकमा रहेको महँगो सुन कसरी बिक्री हुन्छ?,' ती अधिकृतले प्रतिप्रश्न गरे।

यस्तै, बैंकबाट सुन खरिद गर्दा झन्झटिलो प्रक्रिया अपनाउनुपर्ने, अनौपचारिक स्रोतबाट सुन खरिद गर्दा सजिलो हुने भएकाले व्यापारीले बैंकबाट सुन किन्न छाडेको एक व्यापारीले बताए। उनले भने, 'बजारमा जति माग गरे पनि सुन छ, बेकारमा किन बैंकको झन्झट बेहोर्नु?'

बजारमा सुन कारोबार घटेकाले नै व्यापारीले बैंकबाट सुन खरिद नगरेको शाक्यले बताए। नेपालमा सुन आयात गर्ने अनुमति बैंकहरूलाई मात्र छ। राष्ट्र बैंकले २३ वटा वाणिज्य बैंकलाई सुन आयात गर्ने अनुमति दिएको छ।

तीमध्ये हाल करिब ५–६ वटा बैंकले मात्र सुन आयात गरिरहेका छन्। २० बैंकले सुन कारोबार गरिरहेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ।

सुन ल्याउने पालो आएका बैंकले पनि सुन बिक्री नभएपछि आयात गर्न छाडेका छन्। 'बैंकको सुन कारोबार फाट्टफुट्टमात्र छ,' एक बैंकरले भने, 'सुन बिक्री हुन छाडेपछि ल्याएर थुपार्नुको अर्थ छैन।'

अवैधानिक रुपमा अत्यधिक सुन आउँदा सरकारले राजस्व समेत गुमाएको छ। बैंकमा भन्दा सस्तोमा सुन बजारमा पाउने भएपछि व्यवसायी पनि त्यतैतिर लागेका छन्।

महासंघका अध्यक्ष शाक्यले केही महिनाअघि प्रतितोला ४७ हजार रुपैयाँमा पाइरहेको सुन एकाएक बढेर साढे ५६ हजारसम्म पुग्यो। सुनको मूल्य बढ्दा उपभोक्ताले पुरानो सुन बिक्री थालेको उनले बताए। 'त्यस्तो बेलामा सुन खरिद गर्न आउनेभन्दा बेच्नेको ओइरो लाग्यो,' उनले भने, 'यसले गर्दा पनि सुन बिक्री हुन सकेन।'

पुनः सुनको मूल्य तोलाको ४७ हजारमा आउने र त्यसबेला खरिद गर्दा फाइदा हुने भएकाले पनि ग्राहकहरु 'पर्ख र हेर'को स्थितिमा छन्। अहिले सुनको मूल्य प्रतितोला साढे ५४ हजार रुपैयाँ छ।

महिनामा ४० किलो सुन बिक्री हुँदै आएकोमा हाल मुस्किलले १५ किलो मात्र सुन बिक्री हुने गरेको शाक्यले बताए। 'मूल्य बढ्दा पुरानो गरगहना बिक्री गर्नेको आइरो लाग्ने गर्छ,' उनले भने, 'सुन व्यापारीले पनि त्यस्ता गहना खरिद गर्नुपर्ने बाध्यता हुन्छ र नयाँ सुन खरिद गर्ने क्षमता हुँदैन।' सुनको मुल्य बढ्दै जादा काँचो सुन खरिद गरेर राखेकाले पनि बेच्न थाल्ने गरेको शाक्यको भनाइ छ।

वैदेशिक रोजगारीमा गएका कामदारले ५० ग्रामसम्म ल्याउन पाउने व्यवस्था भएकाले त्यसरी पनि सुन आउने क्रम बढेको व्यवसायीको भनाइ छ। यस्तो व्यवस्थाले पनि बैंकको सुन बिक्रीमा कमी आएको हो।

विवाहको समयमा सुनको माग बढ्ने गर्छ। तर, अहिले त्यस्तो समयमा पनि सुनको माग बढ्न नसकेको व्यवसायीको भनाइ छ। 'चैतको आधातिरबाट सुनको माग बढने गर्थ्यो, अहिले वैशाखको पहिलो साता सकिन लाग्दा पनि बढेको छैन,' शाक्यले भने, 'भूकम्प र तराई–मधेस आन्दोलन र नाकाबन्दीले उपभोक्ताको क्रयशक्तिमा पनि कमी आएको छ।'

बैंकमा थुप्रिएको सुन बिक्री कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा नेपाल राष्ट्र बैंक, नेपाल बैंकर्स संघ र सुनचाँदी व्यवसायी महासंघबीच छलफल आवश्यक रहेको पनि शाक्यले बताए। 'नेपाल बैंकर्स सघंका अध्यक्ष उपेन्द्र पौडेलसँग तीनवटै पक्ष बसेर छलफल गरेर समस्या समाधान गरौं भन्दै आएको छु,' उनले भने, 'समस्या समाधानतर्फ लाग्नुपर्छ।'

कुन बैंकमा कति सुन?

बैंक परिणाम (किलोमा)

सिटिजन्स ४०

मेगा ४९

नबिल ५०

एनएमबी ४९

प्राइम ८७

सानिमा ४४

कुल ३२२
स्रोत : नेपाल बैंकर्स संघ

nagariknews

SHARE THIS

Author:

Facebook Comment