–स्वयम्भुनाथ कार्की

आफ्नो प्रत्यक्ष शासनका ११ बर्ष १ महिना १६ दिनको लेखाजोखा गर्ने हो भने जनताले आफ्नो प्रतिनिधि चुन्ने कर्तव्यबाट कहिले मुक्ति पाएन । त्यस्ता प्रतिनिधिहरुले जनताको नाममा निर्वाध जे पनि गर्ने छुट पनि पाएनन् । जनआवाज र जनचासो भन्दा बाहिर गएर काम गर्न साँच्चै नै कठिन थियो । यहि कारण हो कि त्यो प्रणालीमा काम गरिसकेका पञ्च भनिने प्रतिनिधिहरु पञ्चायतको नाम सुन्न पनि रुचाउँदैनन् । दलको बलले बलियो हुन पाउने प्रणालीमा जनआवाज नसुनिएको गुनासोले आफुलाई कम पिरेको अनुभव गर्दछन् । दललाई नै प्रजातन्त्र मान्नेहरुले त त्यसलाई कालरात्री भन्नै पर्दछ र भन्छन् , किनभने त्यो प्रणालीमा आफ्नो नेताले दिनलाई रात वा रातलाई दिन भने पनि त्यसलाई जनताको विवेकमा छिराउन मेहेनत गर्ने कार्यकर्ताको उपस्थिति वर्जित थियो ।
त्यो कालखण्डबाट वर्तमानसम्ममा मुलुकले लामो यात्रा तय गरेको छ । नेहरुले पहिलोचोटी राजा त्रिभुवनको मुखबाट नेपालीलाई दिलाई दिएको संविधानसभाले दुईखेप लगाएर भए पनि नेपाललाई धर्मनिरपेक्ष, संघीय गणतन्त्रमा डोर्याएको छ । पञ्चायती संविधानले दिएको मौलिकहकको लामो व्याख्या त भएको नै छ, साथमा सार्वभौम सत्ता संविधानमा व्यवस्था भए बमोजिम प्रयोग गर्ने शर्तमा जनतामा आएको छ । यस कुराको उल्लेख यहाँ प्रासंगिक हुन्छ वा हुन्न तर संविधानभरी यसको प्रयोगको व्यवस्था भने उल्लेख छैन । नागरिक अब आफ्नो हक प्रयोगको निमित्त अरुलाई नै रद्द गर्न नमिल्ने अधिकृत वारेसनामा दिएर ढुक्कले बस्न स्वतन्त्र छन् ।
प्रमुख प्रश्न नै अव यहि भएको छ, के जनताले यसरी आफ्नो हक, जिम्मेवारी ढुक्कसंग अरुलाई सुम्पेर बस्नु ठिक हो त ? यसको उत्तर सबै किसिमका अगुवाबाट आउने गर्दछ “हो, यो ठिक हो, ठिक मात्र होईन संसारभरी चलेको पद्धति हो । लोकतन्त्रको आत्मा हो, अधिकार जनताले आफै प्रयोग गर्ने हैन दलहरु मार्फत प्रयोग गर्ने हो” । भन्नको निमित्त भनिन्छ, नेतृत्व सर्वसाधारण जनताबाट नै जन्मेको हो । तर व्यवहारमा त्यस्तो देखा पर्दैन । गरिव किसानको कोखवाट जन्मेको भए पनि नेता आफै गरिव किसान हैन । अकल्पनिय, चमत्कारिक माध्यमले त्यो गरिव किसानको सन्तान सबै किसिमले सम्पन्न भईसकेको हुुन्छ ।

अनेकौ पटक मौका पाएका, मौका पाएर धोका दिएका, आफ्नो स्वाथ्र्यपुर्ति गर्न सफल तर जनताको भलो गर्न असफलहरु वारम्वार अनेकौ नाममा आउने र जनताले तिनैलाई पत्याउने क्रम जारी छ । हिजो गलती भो अब हुँदैन भन्ने, थेगो नै भएकाहरु बाहेक अरु विकल्प छैन भन्नेहरुको कुरो पत्याएर बस्न उपयुक्त छैन । यदि त्यसो गर्ने हो भने मुलुक छिटै मृत्यु कुर्ने स्थानमा परिणत हुनेछ । यस्तो स्थान जहाँ आफ्नो उत्पादक समय वाहिर खर्चेर रस निकालेको खोष्टा सरह भएकाहरु मात्र हुनेछन ।
त्यसैले अव जनताले यो अधिकृत वारेसनामा खारेज गर्नु पर्छ । यो बुझ्न जरुरी छ कि यस काममा कोही नेतृत्व आउने छैन, केही ज्याला आउने छैन । जनताले आफै भित्रबाट नेतृत्व तैयार गर्नु पर्दछ , आफ्नै पेट काटेर आफैलाई ज्याला दिनु पर्दछ । आज केही गुमाएर भए पनि जनताले आफ्नो काम आफै गर्ने हो भने भोलीका दिन सुनौला हुनेछन् । यो सुनौला दिन ल्याउन कोही देवदुत आउने छैन, कोही महामानव आउने छैन । वारम्वार मौका पाउदा पनि त्यो दिन ल्याउन असफलहरुलाई फेरी मौका दिनुको कुनै अर्थ छैन । यो शक्ति, यो क्षमता जनता आफै भित्र छ । आवश्यकता केवल त्यसलाई चिनेर जगाउने मात्र हो ।
प्रकाशन मितिः२०७२ असोज २८ गते बिहीवार