
यसरी सबैभन्दा भविष्य जान्ने जैसी भए पनि अल्छीले गर्ने बहानाहरुले जैसी भन्दा ज्यादा भविष्य जानेको भ्रम दिन्छन । यसैलाई भनिएको हो , सबैभन्दा भविष्य जान्ने भनेको जैसी तर अल्छीले त्यो भन्दा ज्यादा भविष्य जानेको स्वाङ्ग गर्दछ । जैसीले आफुले गरेको भविष्यवाणीमा ज्यादा जसो ग्रह नक्षत्रको र त्यसले प्रदान गर्ने योग दशा आदिको कुराको आधार दिन्छन भने अल्छीले वरपरको वातावरण, पात्रहरुको अध्ययन गरेको जस्तो गर्दछन । नेपालका यस्तै अल्छीहरुको समुहले सबै भन्दा धेरै आधार लिने गरेको भनेको कुरा छिमेकी भारतको परिस्थिति हो । पहिले पहिले दशैमा राजाको हातको टिका थापेको फोटो झुण्ड्याएर वा पर्व विषेशमा राजालाई पठाएको शुभकामनाको उत्तरमा आएको धन्यवादपत्रको खाम देखाएर आफु दरवार नजिक भएको भ्रान्ति दिनेहरु थिए भने आज अहिलेसम्म ठुला भनिएका केही नेताको अगाडी पछाडी लागेको देखाएर मुलुकको महत्वपूर्ण व्यक्ति भएको छनक दिएर फाइदा उठाउनेहरुको कमी छैन ।
मुलुक संञ्चालन गर्ने काममा असर राख्ने र राख्न सक्ने सबै शक्ति केन्द्रमा जैसीभन्दा जान्ने भएकाहरुको प्रभाव छ । फलाना देशको राजदुतले यस्तो भन्यो वा गर्यो अब यस्तो हुन्छ, यसमा हामीले गरेको कुनै प्रयत्न काम लाग्दैन भन्ने किसिमको सल्लाह ती शक्ति केन्द्रमा रहेकाहरुलाई सुविधाजनक लाग्छ । भाग्यमा छँदैछ भनेर दुध दुहुन डोको प्रयोग गरेर हुदैन भन्ने अति सामान्य ज्ञान पनि तत्काललाई भुल्ने रोग छ । यो रोग अहिले बलेको आगो सरह भएका शक्तिकेन्द्रहरुमा त छदैछ , त्यसै गरेर अहिले ओझेमा परेका शक्ति केन्द्रमा पनि उत्तिकै तिव्ररुपले सल्कदै गएकोछ । कोदालो नयाँमा फलामको कालोपन लिएर बसेको हुन्छ, प्रयेग नभएमा त्यसमा खिया लागेर खैरो हुन्छ र समाप्त भएर जान्छ । यो पनि खिईने प्रक्रिया नै हो, तर प्रयोग गरियो भने त्यसमा चमक आउदै जान्छ, फलाम पनि चाँदी जस्तै टल्कदै जान्छ । दुबै प्रक्रियामा खिईने काम त हुन्छ नै किनभने खिइनु फलामको नियती हो । रोजाई केवल खियाले खिइने कि चाँदीको टलक लिएर खिइने भन्ने हो ।
पुराण, इतिहास जहाँ पनि उत्तम शासक वा राजाको उल्लेख आएको छ ती सबैमा एक कुरा भने समान भेटिएका छन । सबैले सर्वसाधारणसंग कुनै न कुनै तरिकाले प्रत्यक्ष संवाद कायम गरेका छन । कतिले त आफुलाई चिनेमा सही प्रतिक्रिया नआउला भनेर भेष बदलेर जनता विच गएको पनि उल्लेख छ । अहिले सबैजसो दलको उच्च नेतृत्व कसरी जनताबाट टाढा रहन सकिन्छ त्यही प्रयत्नमा लागेको छ । भर्खर उदाउदै गरेको राप्रपा नेपाल समेतमा यो रोग सल्केको छ । हिजो आफ्नो कुरा जनतासम्म राख्न जान पनि अफ्ठ्यारो परेको वेला संरक्षण गर्नेहरुको त कुरै छोडौ केन्द्रिय नेतृत्वले आफ्नै कार्याकर्ताको कुरा सुन्न समेत समय निकाल्न सकेको छैन वा चाहेको छैन । जव अहिले प्रभाव विस्तार गर्दै जानु पर्ने राप्रपा नेपालको त यो हाल छ भने ठुला भनिएको तीन दलको कुन सोचाई छ भन्ने अनुमान कठिन छैन । अनुमान नै पो किन र ? नेकपा एमालेको महाधिवेशनको उद्घाटन सत्रमा प्रवेश नपाएर कार्यकर्ताले गरेको विरोध नै प्रयाप्त छैन र ? यही हाल नेपाली कांग्रेसमा छ जसले केन्द्रिय समितिका बैठकसम्म बोलाउने सहास गरेको छैन भने एमाओवादीको त
जुट र फुट नै यही कथामा आधारित छ ।
यस्तोमा जनताको ध्यानाकर्षण पाखा लगाइएको शक्तिमा हुनु स्वभाविक नै हो । यो कुराको अनुमान गरेर विगतमा सडकमा राजालाई गाली गर्नेहरुको होड अहिलेलाई कसरी राजाको नजिक भनेर देखिने भन्ने ध्याउन्नमा छ । एक समय यस्तो आएको थियो जुन वेला सार्वजनिक रुपमा राजा भन्न पनि धक मान्नु पर्ने थियो । त्यतिमात्र हैन राजमार्ग समेत भन्न नपाइने जस्तो भएको थियो र लोकमार्ग भन्नु पर्ने अवस्था थियो । जसलाई स्विकार गर्न मन नमान्नेहरुले अलग अलग समुहमा अलग अलग तरिकाले त्यो टिमटिमाउदो दियोको रक्षा गरे । तर आजको अवस्थामा तीनीहरुले त्यही हिजो आफुलाई राजाको नाम लिदा पनि टेढो आँखाले हेर्नेहरुको सहाराले राजा देख्नुपर्ने अबस्थाा आएको छ । सेनाको बलमा राजतन्त्र टिकेको कुरालाई राजतन्त्रबाट कुनै नीजी फाइदा नलिएका जनताले झुटो सावित गरिदिए राजतन्त्र जनताको सहाराले टिकेको थियो भन्ने सावित गरेर । यो शक्ति जैसीभन्दा जान्नेले गरेको भविष्यबाणीले आएको हैन जनताबाट प्राप्त भएको हो भन्ने कुरा बुझेको छनक भने अझसम्म पाईएको छैन ।
विराटनगर १
२०७१।३।२९
(जनआवाज)