इनभर्टर मन्त्रालय

–बिम्मी शर्मा
उर्जा मन्त्रालयले देशको हरेक पार्टपुर्जालाई ढिला गरिदिएपछि अब त्यसलाई भताभुंग पारेर त्यसको ठाउंमा इनभर्टर मन्त्रालय गठन गर्न यो दुईजिब्रे (दल) सरकारलाई औंला पड्काउंदै निवेदन गर्दछु । कारण के भने यो उर्जा मन्त्रालयले देशमा समुचित मात्रामा उर्जा अर्थात विद्युत बितरण गर्नुपर्ने काम नगरेर आफुमात्र उर्जावान र कान्तिवान भए पछि देशका हरेक कुना उर्जाविहीन अर्थात हाँडी घोप्टे अँध्यारोमा परिणत भएका छन् । अब कान्ति विहीन अनुहार भएको यो ज्याद्रे सरकारले देशको कुना काप्चामा उज्यालो थपिदिदैंन, बरु अझ चूक घोप्ट्याउने काम मात्र गरिरहेको छ । २४ घण्टामा एक तिहाईभन्दा बढी समय अँध्यारोमा बिताउन बाध्य पारिएपछि अब त्यो उर्जा मन्त्रालयको के काम ? पिडिए र पिटिएमा कहिले अध्ययन हुन्े अनि कहिल्यै छलफल
भएर नयाँ विद्युत आयोजना बन्छ भन्ने उर्जा मन्त्राणीलाई नै थाहा छैन ।  हाम्री उर्जा मन्त्राणीले महिलाको महनपर्व तीजको दिनपनि लोडसेडिंग गर्नबाट रोक्न सकिनन् त । यता ब्रतालु महिला पानी सम्झेर घुटुघुटु निल्दैथिए उता विद्युत प्राधिकरणपनि घरीघरी लाईन काटेर मनोरन्जन गर्दै थियो ।
    हाम्रो तराईमा एउटा उखान छ, ‘दादा मरे तो बैल बटें (हजुरबुवा मरेपछि हलगोरु बाउहरुले आपसमा बाँडने)’ । हो त्यस्तै भएको छ हाम्रो देशमा नयाँ विद्युत आयोजनाको शुरुवात त हजुरबुवाको पालामा हुन्छ तर सकिने चाँही नातिको पालामापनि ग्यारेण्टी गर्न सकिन्न । यो चकमन्नतामा भारतबाट आयात गरिएका ताजाताजा इनभर्टर र जेनरेटरले अलिकता भएपनि हुनेखानेको घरमा उज्यालो छर्ने काम गरि रहेकाछन् । त्यसैले कि त उर्जा मन्त्रालयको नाम परिवर्तन गरेर इनभर्टर मन्त्रालय गरियोस्, होइन भने यसलाई विधिवत रुपमा विघटन गरेर नयाँ इनभर्टर मन्त्रालय बनाइयोस् ।
        भन्न त हाम्रो देशमा उर्जाको छोराको रुपमा विधुत प्राधिकरण पनि छ, तर यी बाउ र छोराको बीचमा कहिल्यै ठ्याक खाँदैन । बाउ आफ्नो खटनपटनमा छोरालाई राख्न चाहन्छन् । तर रापताप वीहिन छोरा संधै झोक्राएर बस्छ । यी बाउ र छोरा बीचको दन्त बझानबाट छिमेकको इनभर्टर दाइले राजनितिमा तेस्रो दलले फाईदा उठाए जस्तो फाईदा उठाइ रहेकाछन् । झगडा मिलाए जस्तो गरेर यी इनभर्टर दाइले त सबै ठाउंमा आफ्नो ताईं  देखाउन थालिसकेका छन्  । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यिनै इनभर्टर दाइको
राज्य चलेपछि अब यीनलाई खुरुक्कसंग मन्त्री बनाइदिए टण्टै खत्तम  ।
     इनभर्टरलाई मन्त्रीपद दिएपछि राज्यमन्त्रीको रुपमा सौर्य उर्जालाई, जेनरेटर र यूपिएस लाई सहायक  मन्त्रीको रुपमा उर्जाको बाडँफाँड गर्ने काम दिए यो चूक घोप्टेको अँयारोमा उज्यालोका किरण केही क्षणकालागि भएपनि हुनेखाने जनताले पाउंथे । ‘एकपल्ट सबैको दिन फिर्छ भन्थे हो रहेछ क्यार,’  लालटिन,
टुक्की र मैनबत्तीले पनि आफ्नो हुति अनुसारको काम पाउनेछन भन्नेमा सबैले विश्वस्त भए हुन्छ ।
‘म पिटे जस्तो गर्छु’, तँ रोए जस्तो गरेस्’ भन्ने उखान जस्तो भएको छ अहिले विरुुत प्राधिकरणले गरेको लोडसेडिगँ र इनभर्टरको ह्वात्त बढेको बिक्री । भारतमा नयाँ नयाँ बनेका ब्राण्डेड कम्पनीका इनभर्टरहरु कहाँ खपाउने ?
यसकालागि गरिब र लाचार देश नेपाल राम्रो गन्तब्य बनेको छ । उर्जा संकटको नाममा जनतालाई मुर्ख बनायो र चौबिस घण्टामा जति बढी सकिन्छ त्यति नै विद्युत आपूर्ति बन्द गर्याे । जनता बिचरा आजित भएपछि ऋण गरेरै भएपनि इनभर्टर वा त्यसका भाइभतिजालाई किन्न अघि सर्छंन । यसबाट भारतीय कम्पनीहरु कमाएर लाल बन्छन् भने उता विद्युत प्राधिकरण पनि मोटो कमिशन खाएर सिरक ओढेर सुत्छ ।
यता लोडसेडिंग बढ्छ उता जनसंख्यापनि बढ्छ । अब काम नपाएका जनताहरु घटेको सुन, डलर र शेयर किन्न नसक्ने भएपछि आफ्नै जातिको संख्या बढाएर बस्छन् ।
जनताको दु:ख र सास्तिको बारेमा यो निम्छरो सरकारलाई नै हेक्का छैन भने त्यो  विद्युत प्राधिकरणलाई झन के मतलब ? उसले कमिशनका केही कनिका अन्य विभिन्न मन्त्रीहरुका अगाडिपनि छरेको  हुनसक्छ  ? सरकारका मन्त्रीहरु त बिभिन्न विद्युत आयोजना समपन्न गर्न तेस्रो देशबाट मगाएको महँगो गाडीमा सपरिवार चढेर रमण गरिनै हाल्छन् ।
दिनभरि सिंहदरबारमा जनताको करबाट तिरेको रकमबाट बिजुलीको जोहो भएकै छ । साँझ परेपछि ठूलठूला होटलहरुमा हुने रात्रीभोजमा यी मन्त्रीहरुलाई लोडसेडिँगको के चिन्ता ? घर फिरेपछि कमिशनबाट पाएको पैसाले वैकल्पिक उर्जाका स्रोतहरु स्वागतकालागि छँदैछन् । लोडसेडिगं गर्नुमा नै नेपाल सरकारलाई फाईदा छ र यसबाट नै उसले लामो समयसम्म शासन चलाउन पनि सक्छ ।
लामो समय लोडसेडिंग भएपछि पो उद्योग कलकारखानाहरु बन्द हुन्छन्, जसबाट देशका उद्योगी, ब्यापारीहरु बिस्तारै भारत या अन्य देशतर्फ पलायन हुन्छन् । ती उद्योगहरुमा काम गर्ने मजदुरहरूपनि लोडसेडिँगले गर्दा केही दिनसम्म पेटमा पटुका बाँधेर भएपनि जेनतेन बाँच्छन्, त्यसपछि यो नश्वर शरीर त्यागेर परलोक गमन गर्छन् । यहाँका उद्योगधन्दा बन्द भएपछि भारत तथा तेस्रो देशबाट आयात गरिएका सामानहरुले मुठ्ठी भरका ब्यापारीहरु फस्टाउनेछन् भने सरकार पनि मोटो कमिशन खान पाएर घयाम्पे हुनेछ । लोडसेडिँग ले गर्दा विधार्थीले पढ्न पाउंदैनन्, नपढेपछि जाँचमा स्वत फेल हुने नै भए, फेल भपछि तीनलाई जागिर दिनुपर्ने सरकारको टन्टापनि खत्तम । बरु ती फेल भएका विधार्थीहरु कोही हरुवाचरुवा बन्नेछन् भने कोही खाडी देशमा गएर पुरिनेछन् । पौने तीन करोड नेपाली मनुवाहरु मध्ये करिब अढाई करोडले यो लोडसेडिगँबाट दु:ख पाएपनि बिभिन्न दल, तीनका नेता, आसेपासे र कार्यकताहरुलाई भने फलिफाप भएको छ । भारत या अन्य देशबाट आयात गरिएका इनभर्टर, जेनरेटर र यूपीएसले यीनको भविष्यलाई परपरसम्म उज्यालो पारिदिएको छ ।  जलस्रोतमा बिश्वको दोस्रो धनि देश र बयासी हजार मेगावाट विद्युत उत्पादन गर्ने भनेर जति बाँदरजस्तो उफ्रेपनि वर्तमानको तीतो यथार्थ के हो भने हामी २४ घण्टामा एकतिहाई भन्दा बढी समय  हुने लोडसेडिँगमा उल्लु झैं भएर बाँचिरहेका छौं ।
  उल्लुुले त अध्ँयारोमा देख्छ पनि हामी अभागि आँखा भएरपनि अन्धो भएकाहरुको ब्यथा कसले बुझिदिने ? घरमा बिजुलीको मिटर झुण्डिएको छ, त्यसको न्यूनतम शुल्कपनि तिर्नुपर्ने, नखाएको बिषपनि लाग्ने ? त्यसैले
वर्तमानमा पोखिएको लोडसेडिगँको अँध्यारोमा अझ बढी अँध्यारो थप्दै एउटा ईनभर्टर मन्त्रालय गठन गर्नकोलागि जनताले माग गर्न ढिलाई गर्नुहुन्न ।

SHARE THIS

Author:

Facebook Comment