– आरपी मैनाली
हाम्रो परिवारमा टोल, छिमेक र समाजमा विभिन्न किसिमका सोच र व्यवहारका व्यक्ति पाउँछौं। कोही अत्यधिक जिद्दी, कोही आफूलाई सर्वश्रेष्ठ ठान्ने, आफ्नो अगाडि अरू सबै निकम्मा भएको सोच्ने, आफूले गरेको सबै काम ठीक र अरूले गर्ने सबै कार्य बेठीक भएको ठान्ने स्वभावका व्यक्ति भेट्न सकिन्छ।
यस्तै झगडालु, झर्कने खालका, उसको राय सुन्न/बुझ्ने मन नपराउने, कोही आवश्यकताभन्दा बढी दु:खी हुने त कोहीले खुसी र दु:खी हुने क्रियामा न्यादै उतारचढाव देखाउने, कसैमा अति निद्रा, अति भोक, अति कामेच्छा त कसैमा अनिद्रा, अरुचि र कामेच्छा शून्य प्राय: मानिस पनि पाइन्छन्। ती सब कुनै कुनै प्रकारका मानसिक रोग वा रोगका लक्षण हुन्।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वस्थ हुन उसको शारीरिक, मानसिक एवम् सामाजिक क्रियाकलाप स्वस्थ हुनु जरुरी हुन्छ। केवल शारीरिक रोग नहुँदैमा उसलाई स्वस्थ मान्न सकिँदैन। त्यसो त हाम्रो परिवारका एक न एक व्यक्ति कुनै न कुनै मानसिक रोगबाट ग्रसित भएको पाइन्छ नै।
के सबै खाले मानसिक रोगको उपचार सम्भव छ त ? नर्भिकका मनोरोग विशेषज्ञ डा. दीपप्रकाश मल्ल भन्छन्, 'हामीकहाँ देशकै वरिष्ठतम मनोरोग विशेषज्ञका साथ बालमनोरोग विशेषज्ञ, दक्ष मनोवैज्ञानिक परामर्शदाताहरूको टोली कार्यरत रहेका हुँदा समयमै औषधोपचार तथा मनोवैज्ञानिक परामर्शका साथ उपचार गर्दा प्राय: सबैखाले मानसिक रोगहरू निको हुने हुन्छ।' तर औषधोपचारको निरन्तरता भने कायमै राख्नुपर्ने र विशेषज्ञको सल्लाहमा मात्रै मानिसक रोग औषधोपचार टुंग्याउन सकिने उनी बताउँछन्।
दुई महिनाअघि राजधानी नजिकैको एक स्थानबाट करिब ६० वर्षीय एक शिक्षक पारिवारिक सदस्य र सहयोगीका साथ नर्भिक पु:याइए। उनको अवस्था अत्यन्तै नाजुक, ठीकसँग उभिन नसक्ने, क्रियाप्रतिक्रिया गर्न नसक्ने अवस्थामा थिए, उनी।
क्षणक्षणमा कुनै अलौकिक शक्तिले आफूलाई विशेष सन्देशसहित आकाशवाणी गरेको भन्ने जस्ता सुझ न बुझका वाक्यहरू उनी बर्बराइरहन्थे। एक महिनाको उपचारपछि उनी पूर्णतया ठीक भए र हाल उनी एक्लै नर्भिक आउन र आफ्ना कार्यहरू गर्न सक्ने भएका छन्।
नेपाली रंगमञ्च क्षेत्रका एक प्रसिद्ध व्यक्तित्वका एकमात्र छोरा अमेरिकामा व्यवस्थापन विषयमा अध्ययनरत रहँदै गर्दा उनमा एकखाले असाध्य अवस्थाको सिर्जना हुँदा उक्त कलेजले ती विद्यार्थीलाई नेपालै फर्काउनुपर्ने बाध्यता पर्यो।
नेपाल फर्किएलगत्तै तिनले अनेकौं असामान्य हर्कत गर्न थाल्दा रंगकर्मी दम्पती ज्यादै असहज परिस्थितिमा परेका थिए। ती विद्यार्थीलाई वाइपोल र डिसअर्डर भएको र तिनको उपचार गर्न सकिने नर्भिकका मनोरोग विशेषज्ञ डा. दीप मल्लले त्यसबखत बताएका थिए।
त्यस्तै विगत पाँचसात वर्ष पूर्व नेपालमा अंग्रेजी पत्रकारिता क्षेत्रमा सम्मानजनक स्थान बनाइसकेका एक वरिष्ठ पत्रकारका एकमात्र र उच्चशिक्षा समेत हासिल गरिसकेका छोरालाई ज्यादै जटिल अवस्थाको स्किजोफ्रेनिया निदान गरिएपछि उपचार हुँदै गर्दाको क्रममा निजले ज्यानै गुमाएको हृदयविदारक तथ्य यस लेखकले समेत साक्षात्कार गरेको छ।
के हो मानसिक रोग?
- मानसिक रोग भन्नाले कुनै व्यक्तिको सोचाइ, भावना, मुड, विचार व्यक्त गर्ने क्षमता तथा दैनिक क्रियाकलाप गर्ने, गराउने क्षमतामा नष्ट हुने एक चिकित्सकीय अवस्था हो भन्ने बुझिन्छ।
- मानव सभ्यताको विकाससँगै मानिसक रोग वा रोगका लक्षणहरू पनि विकसित हुँदै आएको मानवशास्त्रीहरूको धारणा पाइन्छ।
- मधुमेह मानव अग्नाशयको विकृतिको उपज भए झैं मानसिक रोग पनि मानिसले उसको मस्तिष्कमा कुनै रासायनिक गडबडी भई उसले आफूले निभाउनुपर्ने, जीवनका सामान्य आवश्यकताहरू समेत निभाउन नसक्ने चिकित्सा अवस्था हो मानसिक रोग।
मानसिक रोग वा रोगका लक्षणहरू प्रशस्तै भए तापनि जटिल खालका मानसिक रोगमा निराशापन, स्किजोफ्रेनिया, वाइपोलार डिसअर्डर, अचाक्ली रूपमा गलत कार्य गर्ने विकार, मनोत्रास कुनै अप्रिय घटनापछिको उत्पन्न हुने तनाव वा विकृति मानसिक रोग वा अवस्थाले कुनै पनि उमेर, लिंग, जातजाति, धर्म, भाषा, संस्कृति र अन्य समूहका व्यक्तिलाई असर पार्न सक्छ।
समयमै रोगको निदान भई उपयुक्त चिकित्सा प्रणालीका साथ मनोवैज्ञानिक परामर्श गर्ने, गराउने गर्दा प्राय: सबैखाले मानसिक रोगहरू निको पार्न सकिने तथ्य मनोरोग विशेषज्ञहरू बताउँछन्।
धेरै खाले मानसिक रोगमध्ये हाम्रो समाजमा अति नै प्रचलित मानसिक रोग वा त्यसको लक्षणमा निराशापन पर्छ।
निराशापन
मानवीय जीवनमा विभिन्न तनाव, उत्साह, सफलता, असफलता, मिलन, बिछोड आदिका अनुभवहरू भनेको स्वाभाविक हुन्। उत्साह वा सफलतामा खुसी र असफलता वा बिछोडमा दु:खी हुनुलाई हामीहरू स्वाभाविक मानवीय गुण मान्छौं। तर अस्वाभाविक रूपमा लामो समयसम्म कोही दु:खित वा निरास भइरहन्छ भने त्यस्तो अवस्थामा केही गडबडी वा मनोवैज्ञानिक (मानसिक) रोग छ कि भनेर शंका गर्नुपर्छ।
निराशापन भनेको के हो?
निराशापन एक प्रकारको मानसिक रोगको अवस्था हो। निम्न तीन अवस्थामा व्यक्तिलाई डिप्रेसन भएको बुझ्नुपर्छ :
- यदि कुनै पनि तनाव, असफलता वा बिछोडमा अन्य व्यक्तिहरूको मूल्यांकनमा स्वाभाविकभन्दा लामो समयसम्म निरास वा उदास भइरहेमा।
- यदि निरासाको कारण व्यक्ति स्वयम्लाई थाहा नभएमा।
- यदि निराशा असह्य भई व्यक्तिको दैनिक जीवनचर्यामा नराम्रो प्रभाव परेमा।
लक्षण
डिप्रेसनका लक्षणलाई निम्न चार भागमा विभाजन गरी बुझ्न सकिन्छ :
- मन/भावना अर्थात् मनोदशासँग सम्बन्धित लक्षणहरू : पहिलेको तुलनामा निराश हुनु, अनावश्यक रूपमा उदास हुनु, सामान्यतया पहिलेको तुलनामा रमाउन/खुसी हुन नसक्नु, आदि।
- सोचाइसँग सम्बन्धित लक्षणहरू : आफू, संसार र भविष्यप्रति नकारात्मक र निरासाजनक विचारहरू आउनु, असफलतामा पनि आफूलाई दोषी ठान्नुका साथै आत्महत्यासम्बन्धी विचार आउनु।
- उत्सुकतासँग सम्बन्धित लक्षणहरू : केही नयाँ कुराको थालनी गर्न जोस-जाँगर नहुनु र कुनै नयाँ कामको थालनी गर्न गाह्रो अनुभव गर्नु, भित्रैबाट ऊर्जा नभएको अनुभव गर्नु, खानपिनमा रुचि कम हुनु, यौनइच्छामा कमी आउनु।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार मानव स्वस्थ हुन उसको शारीरिक, मानसिक एवं सामाजिक क्रियाकलाप स्वस्थ हुन जरुरी हुन्छ।
- शारीरिक लक्षणहरू : अस्वाभाविक रूपमा तौल घट्नु, अनिद्रा वा अत्यधिक निद्रा लाग्नु, बिहानीपख चाँडै निद्राले छोड्नु र उठ्दा टाउको भारी भएको अनुभव गर्नु, शरीर कमजोर भएको अनुभव गर्नु, शारीरिक हाउभाउमा सुस्तता आउनु, कब्जियत हुनु वा झाडा लाग्नु।
- स्मरणशक्तिमा ह्रास आउनु, आफूले लगाउने लुगा, कपाल र शरीरको हेरचाहमा ध्यान नदिनु, मनमा एउटै कुरा धेरैबेर खेलाइरहनु निर्णय लिन गाह्रो हुनु।
यीमध्ये कुनै पनि एक लक्षण दुई हप्तासम्म लगातार देखिएमा निराशापन भएको वा हुन सक्ने सम्भावना अत्यधिक हुन्छ। समयमा उपचार नपाएमा रोग कडा भई आत्महत्यामा अन्त्य हुन सक्ने स्थिति पनि आइपर्न सक्छ।
कारण
निराशापनका कारण खास यही नै हो भने किटान गर्न गाह्रो हुन्छ । थुप्रै कारणहरूमध्ये वंशानुगत कारण, मस्तिष्कमा केही रसायनहरूको कमी, व्यक्तिले आफूलाई नि:सहाय अवस्थामा पाउनु, सोचाइमा गडबडी आउनु, आदि हुन्।
जस्तै हरेक असफलताहरूलाई आफ्नो कमजोरी वा दोष ठान्नु, भविष्यप्रति निराशाजनक हुनु, एउटै नकारात्मक घटनाबाट आफ्नो जीवनको निष्कर्ष निकाल्नु पनि आदि। त्यस्तै पर्याप्त रूपमा हौसला नपाउनु र बाल्यकालका नकारात्मक सिकाइ र घटनाहरूले गर्दा पनि निराशापन हुन सक्छ।
उपचार
यस्तो अवस्थाको शंका लागेमा मनोचिकित्सक वा मनोवैज्ञानिकसँग सम्पर्क गरी पहिले त रोगको निदान गर्नुपर्छ। यसको उपचार सम्भव छ। औषधि, मनोवैज्ञानिक उपचार र मनोवैज्ञानिक परामर्शजस्ता पद्धतिको संयुक्त उपचारपछि यो रोग चाँडै निको हुन्छ। लामो समयको निराशापन या ज्यादै कडा खालको निराशापन भएमा विद्युतीय उपचार प्रणालीले राम्रो गरेको पाइन्छ।
लगभग ८० प्रतिशत आत्महत्याका कारणमा निराशापन प्रमुख कारकका रूपमा देखिएको पाइन्छ। निराशापन महिला या पुरुष दुवैलाई हुन सक्छ। विभिन्न अनुसन्धानबाट प्राप्त तथ्यांकअनुसार करिब १२ प्रतिशत महिला र ६ प्रतिशत पुरुषमा यो रोग पाइएको छ।
पुरुषहरूमा कम प्रतिशत हुनुमा उनीहरू आफ्नो निराशापनमा मदिरा अथवा अन्य अम्मलको सहायता लिने गर्छन् र यी पुरुषहरू कुनै न कुनै किसिमको दुव्र्यसनमा फस्छन्। समयै गरिने उचित उपचार पद्धति र मनोरोग निदान, वैज्ञानिक परामर्शले त्यस्ताखाले समस्याहरू निराकरण गर्न सकिन्छ।
(लेखक नर्भिक इन्टरनेसनल हस्पिटलको संस्थागत सञ्चारसँग आबद्ध छन्।)
श्राोत अन्नपूर्ण पोष्ट