काठमाडौं, जेठ १५ – पूर्व सांसद टंक प्रसाद पोखरेलले एमाले परित्याग गर्नुभएको छ । २०५१ सालको मध्यावधि निर्वाचनमा गुल्मी क्षेत्र नम्बर ३ बाट सांसद निर्वाचित पोखरेलले एमालेले नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्न नसक्ने भएकोले एमाले परित्याग गरेको बताउनुभयो ।
‘कम्युनिष्ट शक्तिहरु एकजुट भएर नेपालको कम्युनिष्ट आन्दोलनलाई निकर्षतर्फ पुर्याउनु आजको ऐतिहासिक कार्यभार हो । वहुमत वाम जनमत रहेको मुलुकमा वाम पार्टीहरुबीच सहमति बन्नुपर्ने हो । तर विडम्बना नेकपा एमाले नेतृत्व त्यसतर्फ लाग्नुको सट्टा यथास्थितिवादी र प्रतिगमनकारी शक्तिहरुसँगको साँठगाँठ तर्फ उन्मुख भएको देखिन्छ’, पोखरेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
एमालेमा देखा परेको गुटबन्दी, सैद्धान्तिक विचलन, दक्षिणपन्थी साँठगाठ र क्रान्तिकारी तथा प्रतिबद्ध नेता कार्यकर्ताको पलायनका कारण अव एमालेले नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्न नसक्ने सिद्ध गरेको पोखरेलले दावी गर्नुभएको छ । ‘यस्तो अवस्थामा पनि अझै एमालेमा बसिरहनु नेपाली जनतालाई भ्रमीत पार्नु तथा कम्युनिष्ट आन्दोलनलाई धोका दिनु हुनेछ’, पोखरेलको ठहर छ ।उहाँले स्वतन्त्र बामपन्थिको रुपमा नेपालको कम्युनिष्ट आन्दोलनमा सरिक रहने बताउनुभयो ।
पोखरेल २०२५ सालदेखि भारत प्रवास विद्यार्थी आन्दोलन र तत्कालिन नेपाल कम्युनिष्ट पार्टीमा सक्रिय हुँदै २०३८ मा तत्कालीन माले र २०४६ देखि नेकपा एमालेमा संलग्न हुनुहुन्थ्यो ।