बाँच्नेको हृदयमा पीडा र वेदना

इटहरी–
सुनसरी दुहवीका मुना साह (३०) र मञ्जु साह (२३) बीच विवाह भएको पुगनपुग दुई वर्ष भएको थियो। सँगै बाँच्ने सँगै मर्ने कसम खाएर प्रेम विवाहमा बाँधिएका यो जोडीले संगालेर राखेका धेरै सपना थिए। अघिल्लो वर्षको भुइँचालोले मञ्जु र सात महिनाकी छोरा अमृताको मृत्युले मुनाको हृदयमा पीडा र वेदना छ।

मुना श्रीमती र छोरी गुमेको पीडा भूल्न खोज्छन्, तर फिटिक्कै सक्दैनन्। धर्तीको कम्पनले दिएको चोट उनका लागि कहिल्यै हराएर जानेवाला छैन। 'जीवनमा यत्रो ठूलो पीडा कसैले व्यहोर्न नपरोस्,' उनले भने, 'केही दिनअघि मात्र वार्षिकी पून्यतिथी गरेँ। तर, पीडा सहन गाह्रो भइरहेको छ।'

मुना साह दुहवीकै उमेश गुप्ताको घरमा भाडामा बस्थे। भुइँचालो आएको बेला घरभित्र मञ्जु र छोरी अमृता थिए। त्यतिबेला घरबेटी र छेउछाउका भाग्न थालेपछि मञ्जुले पनि छोरीलाई काखमा च्यापेर भाग्दा नजिकै रहेको राइस मिलको पर्खाल लडेर किच्यो अनि मृत्यु हुन पुग्यो। यदि घरभित्रबाट नभागेको भए केही हुने थिएन। भुइँचालो आएको बेला मुना भने दुहवी बजार क्षेत्रमै थिए। 'गाउँलेले भुइँचालो आयो भागौं नभनेको भए सायद श्रीमती र छोरी पनि मर्ने थिएनन्,' उनले भने।

घर छेउमै रहेको राइस मिलको गोदामको पर्खाल भत्किएर लड्दा दुहवी–भलुवा वडा नं. ७ मुना र उनकी छोरी अमृतासँगै ३० वर्षीया गुडीया गुप्ता, सोही ठाउँका १२ वर्षीय राहुल मण्डल र रीतादेवी चौधरीकी दुई वर्षीया छोरी प्राचीको पनि मृत्यु हुन पुग्यो। घरबाट निस्किँदा बाटोभन्दा माथिल्लो भागमा उद्योगले दुई सय मिटरभन्दा बढी लामो कमजोर पर्खाल लगाएकाले गर्दा एकै स्थानका ५ जनाको मृत्यु भएको थियो।

भूइँचालोले मृत्यु भएकी गुडीयाका दुई छोराछोरी र लोग्ने छन्। लोग्ने उमेश गुप्ता श्रीमतीको कुरा निकाल्नासाथ अहिले पनि भकानिन्छन्। उनी भन्छन, 'उनी एकपटक मरेर गइन्, उनको यादले म हरेक दिन मर्छु।' फलफूल व्यापारी गुप्ताले श्रीमतीलाई बजारबाट घरमा खाना खानाका लागि पठाएका थिए। 'एकैछिनमा त श्रीमतीलाई पर्खालले किचेको खबर पाए,' उनले भने, 'भाग्यले छोराछोरी चाँही बाँचे।'

उनकी जेठी छोरी सिमरन कक्षा ८ मा पढ्छिन, छोरा आयुष कक्षा ४ मा। छोराछोरीले ममीको बारेमा सोध्ने गर्छन्। 'छोराछोरीलाई मैले दिने जवाफको अभाव छ,' उनले भने। उनले श्रीमतीको तस्बिर देखाउँदै भने, 'मेरी यस्ती राम्री श्रीमती मरेको चोट म कसरी बिर्सन सक्छु!' सँगै मृत्यु भएका गाउँलेको वार्षिकी सके पनि उनको घर सुनशान छ। उनकी सासु भारतबाट अब मंगलबार (वैशाख १४ गते) आउँदैछिन्, अनि मात्र वार्षिकीको तय हुनेछ।

भूइँचालोबाट सुनसरीमा जोगिनका लागि भाग्ने क्रममा दुहवीमा ६ जना र खनारमा एक जनाको मृत्यु भएको थियो। भूकम्पबाट दुहवी–भलुवा वडा नं. ९ की ६५ वर्षीया जैतुन खातुनको पनि मृत्यु भएको थियो। भूकम्पबाट भागदौड हुने क्रममै इटहरी उपमहानगरपालिकाअन्तर्गगत खनारमा सञ्चालित रिलायन्स स्पिनिङ् उद्योगका मजदुर झोक्राहा वडा नं. ५ का सन्जिव मुखियाको मृत्यु भएको थियो।

भूकम्पबाट मृत्यु भएका सुनसरीका सबै परिवारले क्षतीपूर्ति पाए पनि छोरा गुमाएका दुहवीका राजेन्द्र मण्डलले पाएका छैनन्। उनको नागरिकता नहुदाँ सरकारी क्षतीपूर्ति नपाएको बताए। उनी सिरहबाट दश वर्षअघि दुहवी सरेका हुन्। उनले अहिलेसम्म नागरिकता बनाएका छैनन्। उनी बनिबुतो गरेर परिवार पाल्दै आएका छन्।

भूइँचालोबाटै मृत्यु भएका बाबुको यादले इटहरी वडा नं. २ की निर्जला कार्कीलाई सताई रहन्छ। प्राकृतिक विपत्ती भूइँचालोले सबैभन्दा बढी बालबालिका पीडित भए त्यसमा पनि बाबु नै गुमाएपछि निर्जलालाई अहिलेसम्म पनि बाबुको यादले सताइरहन्छ।

कक्षा ७ मा अध्ययनरत १२ वर्षीया निर्जलाका बाबु भीमबहादुर साउदी जानका लागि प्रक्रिया मिलाउन काठमाडौं गएका थिए। काठमाडौंको सयपत्री गेष्ट हाउसमा बसेका थिए। भूइँचालोले गेष्टहाउस भत्किँदा भिमबहादुरको मृत्यु हुन पुग्यो।
nagarik news

SHARE THIS

Author:

Facebook Comment