मरेपछि औषधिको के काम ?–जनकमान डंगोल


विगत केही दिन दिन देखि नेपालको सबै संचार माध्यमहरुमा “तरकारीमा अत्याधिक विषादीको प्रयोग” भन्ने शीर्षकले छाएको छ । यो खबर हाल संचार माध्यमहरुमा आएर जति दिन प्रतिदिन बहसको रुप लिंदैछ त्यो हालै मात्र घटेको घटना भने पक्कै पनि हैन ।
केहि वर्ष अगाडी नेपालको सुदुर पूर्वको सुनसरी जिल्लामा कृषकहरुले महेन्द्र राजमार्गमा “पर्वल” (तरकारी) छरप्रस्ट पारे । पर्बल लगायत अन्य सिजन अनुसार तरकारीको खेतीमा सुनसरी जिल्ला अब्बल मानिन्छ । त्यस्तै काभ्रे जिल्लाको पाँचखालमा पनि त्यस्तै घटना देखियो ।
अत्यधिक उत्पादन अनि समयमै तरकारी बजारमा पुर्‍याउन नसक्दा किसानद्वारा तरकारी राजमार्गमा फ्याँकिएको देख्दा संचारकर्मीले जिज्ञासा राख्दै सोधे “यसरि फाल्नु भन्दा त बरु बस्तुलाई दिएको भए हुन्थ्यो नि ?”  संचारकर्मीको यस्तो जवाफमा किसानले कुनै लाज शरम र संकोच नै नमानी जवाफ दिए “यो तरकारी हाम्रो वस्तुलाई खुवाएर बस्तु मार्नु छ र ? कुरो बुझ्दा तरकारीमा अत्याधिक बिषादीको प्रयोग गरिएको रैछ तर त्यस्तो कार्यमा रोकथाम गर्ने अनि कृषकलाई त्यस्तो गर्नु हुन्न भनेर सम्झाउने देखि बुझाउने सम्मका काम कोही कसैबाट भएन । तैं चुप मै चुपमा यो घटना त्यसै सेलाएर गयो ।
कालिमाटी अर्थात देशको राजधानीको मुख्य तरकारी संकलन तथा वितरण केन्द्र । कालिमाटीमा स्वदेशदेखि विदेशसम्मबाट तरकारी देखि फलफूल एवं माछा मासुसम्म ल्याएर संकलनको साथै बिक्री वितरण गरिन्छ भने उक्त स्थानमा कृषि मन्त्रालय देखि वाणिज्य विभागले समेत प्रत्यक्ष अनुगमन गर्ने गरेको छ ।
हेर्दा ताजा, हरियो, चिल्लो तथा आकर्षक देखिने राजधानी भित्रिएको तरकारीमा बिषादीको आउने देखि उक्त तरकारी देखि फलफुल सम्मको प्रयोग गर्दा उपभोक्ता बिरामी पर्न थालेपछि सरकारले जब तरकारी देखि फलफुल सम्ममा अनुगमन तथा जांच पड्ताल गर्दा तरकारीमा अत्याधिक बिषादीको प्रयोग र उक्त तरकारी देखि फलफूलसम्म मानव मात्र नभएर पशुपंक्षी सम्मले प्रयोग गर्नु हुन्न भन्ने थर हुनासाथ त्यस्ता तरकारी तथा फलफुलको आयातमा जब प्रतिबन्ध लाग्न थालियो तब पिडित किसानहरुबाट छुट्टै बहसको विषय निस्किन सुरु भयो ।
१. तरकारीमा बिषादी प्रयोग गर्नु हुन्न भने कृषि मन्त्रालयको प्राविधिकबाट यसतर्फ किसानहरुलाई सचेत किन गरईएन ?
२. तरकारी देखि फलफूल मात्र नभएर खाद्यान्न उत्पादनमा कृषिको प्राविधिकबाट निरन्तर अनुगमन किन भएन ?
३. परम्परागत खेति प्रणालीलाई सुधार गरी अग्र्यानिक खेति गर्न किसानहरुलाई प्रोत्साहन किन गरिएन ?
४. किसानद्वारा हाल उत्पादन गरिएको तरकारी, फलफुल देखि अन्य खाद्यान्न प्रयोग गर्न नमिल्ने हो भने त्यसको क्षतिपूति भरपाई सरकारद्वारा हुन्छ कि हुँदैन ?
माथि उठाईएको चारै वुंदाहरुलाई अध्ययन गरेर हेर्ने हो भने किसानहरुले उठाएको विषय अत्यन्त सान्दर्भिक छ । देशमा विषादी भित्र्याउने, वितरणमा अनुगमन एवम किसानलाई सर–सल्लाह दिनेदेखि प्रयोग गर्ने तरिकासम्मको जानकारी दिने काम सरकारी निकाएको हो भन्ने जानकारी हुँदाहुँदै पनि यस्ता गम्भीर घटनामा किन खेलाँची गरियो ? कृषि मन्त्रालय अन्तर्गत रहेर काम गर्ने कृषि प्राविधिकहरुको कामको अनुगमन हुन्छ भने यस्तो घटना किन र कसरी भयो भनेर सरकारी निकायले छानबिन गर्ने कि किसान नै दोषी हो त्यसैले यस्ता तरकारी प्रयोगमा रोक लगाउनु नै उचित हुन्छ भनेर कालिमाटीको तरकारी बजारमा बसेर आदेश मात्र गिराउने हो ?
भविष्यमा यस्ता घटना पुन : दोहरिन नदिन तरकारी, फलफुल देखि खाद्यान्न लगाएत मासु माछामा समेत व्यापक अनुगमन हुनु जरुरी छ भने त्यसको साथ साथै सरकारले संचार माध्यम देखि कृषकलाई भेला जम्मा गरेर विषादीको प्रयोग र त्यसबाट हुने हानि नोक्सानीको बारेमा किसानसँग अन्तरक्रिया, छलफल देखि अग्र्यानिक खेतीमा प्रोत्साहन हुनु पनि उत्तिकै जरुरी भई सकेको छ भने विदेशबाट आयात हुने सम्पूर्ण खाद्यान्न, तरकारी  फलफुल देखि माछा मासुमा समेत कडा चेक जांच हुनु जरुरी छ किनभने विदेशबाट आउने चिजबस्तु सबै विषादीमुक्त छ भन्ने कुनै ग्यारेन्टी छ र ? त्यसैले “मरे पछी रुवाबासी गर्दै बाँच्छ कि भन्ने आशमा ओखती अर्थात औषधि” गर्ने परिपाटी देखि संस्कारको पूर्ण निषेध हुनु अत्याधिक जरुरी छ ।
प्रकाशित मिति:२०७१ साउन ८ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment