पर्सा जिल्लामा यस वर्ष आँपको उत्पादन घट्ने


वीरगन्ज/पर्सा जिल्लामा यस वर्ष आँपको उत्पादन गत बर्षको भन्दा कम हुने अुनमान गरिएको छ । गत वर्ष पर्सामा कुल दुई हजार ६ सय मेट्रिक टन आँप फलेकोमा यस वर्ष करिब १ हजार पाँच सय मेट्रिक टन मात्र फल्ने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय पर्साले जनाएको छ । आँपको एक बर्ष फलन बर्ष र अर्को बर्ष फलन नहुने सिजन हुने भएकाले  यस बर्ष फलन नहुने बर्ष परेकाले यसपाली एक हजार पाँच सय मेट्रिक टन आँप फल्ने अनुमान रहेको कार्यालयका वागवानी शाखाका प्राविधिक सहायक श्यामकिशोर प्रसादले बताउनु भयो । पर्सामा यस वर्ष कूल तीन सय ९९ हेक्टर क्षेत्रफलमा आँप लगाइएकोमा  २ सय ६५ हेक्टर क्षेत्रफलमा मात्र फलन हुने अनुमान रहेको जिल्ला कृषि विकास कार्यालय पर्साले जनाएकोछ  । गतबर्ष तीनसय ९९ हेक्टर क्षेत्रफलमा लगाईएकोमा दुई सय ६० हेक्टरमा दुइ हजार ६ सय मेट्रिक टन आँप फलेको जिल्ला कृषि विकास कार्यालय पर्साको तथ्यांक छ । यसबर्ष मौसम परिवर्तन, फूल फूल्ने समयमा मधुवा नामको किराले नोक्सानी पुर्‍याएको कारणले पनि उत्पादन घट्ने वागवानी प्राविधिक श्याम किशोर प्रसादले बताउनुभयो । आँपको बोटमा रोगर, सेभिन र इमिडाईक्लोप्रिट नामक औषधी छर्किएमा मधुवा किराबाट आँपलाई बचाउन सकिने प्राविधिकहरुले बताएका छन । पर्सामा अहिले गादी, सखुवा प्रसौनी, विरुवागुठी, कौवावन कटैया, बहुअर्वाभाा, र मूडली गाविसका दश जना किसानले मात्र व्यावसायिक रुपमा आँपखेती गरेका छन् । वागवानी प्राविधिक सहायक श्यामकिशोर प्रसादका अनुसार नेपाल अहिले पनि फलफूलमा आत्मनिर्भर बन्न नसकेको र सरकारले पनि विरुवामा आधा मात्र छुटको व्यावस्था गरेको हुदा कृषकहरु फलफूल खेती तर्फ आकर्षित हुन सकेका छैनन् । नेपाललाई फलफूलमा आत्मनिर्भर बनाउनको लागि सरकारले आवश्यक नीति बनाउनुपर्ने र भारतीय फलफूलको आयात विस्थापन गर्नको लागि सरकारी नीतिलाई कडा बनाउनुपर्ने वागवानी विज्ञहरुको भनाई छ । छिमेकी मुलुक भारतमा साधारण फलफूल खेती गर्ने किसानलाई सरकारले  ८० हजार भारु सम्मको अनुदान दिने र विरुवा पनि ४/५ फीटको उपलब्ध गराउने हुँदा स्वस्थ विरुवाले राम्रो फल दिने गरेको पाइएको छ । नेपालमा सबैभन्दा बढी सप्तरीमा ५३ सय हेक्टर र बारामा १२ सय हेक्टरमा फलफूल खेती लगाईएको छ ।

SHARE THIS

Author:

Facebook Comment