घडिअर्वा पोखरी, फाइल फोटो |
वीरगंज/वीरगन्जको प्रमुख पर्यटकीय एंव धार्मिक स्थल घडीअर्वा पोखरी पार्कमा विगत २० दिन देखि विद्युत सेवा अवरुद्ध भएको छ । पार्कमा रहेको ट्रान्सफर्मर बिग्रिएर थन्किएको भएपनि मर्मतका लागि विद्युत प्राधिकरणले वास्ता नगरेका कारण घडीअर्वा पोखरी पार्क २० दिन देखि बिद्युत बिहिन भएको हो ।लामो समय देखि विद्युत लाइन नहुदा साँझको बेलामा पार्कमा घुम्न आउने आगन्तुक र पर्यटकहरुको संख्यामा पनि कमी आएको त्यहा कार्यरत कर्मचारीहरुले बताएका छन ।
वीरगन्ज उपमहानगरपालिका कार्यालयको स्वामीत्वमा रहेको घडीअर्वा पोखरी पार्क अहिले केही वर्ष देखि निजी क्षेत्रले ठेक्कामा लिएर सन्चालन गर्दै आएको छ । पार्क परिसरको विद्युत लाइन कटेका कारण साँझका बेला पार्क अन्धकारमय हुने भएकाले पार्कमा घुम्न आउने आगन्तुक र पर्यटकहरुको संख्यामा निक्कै कमी आएको ठेकेदारले बताएका छन । ट्रान्सफर्मर मर्मतका लागि विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रमा पटक पटक धाउदा पनि कुनै सुनुवाइ नभएको ठेकेदार पक्षको गुनासो छ । घडीअर्वा पोखरी पार्कको विद्युत महशसुल नियमित रुपमा बुझाउदै आएको भएपनि ट्रान्सफर्मर मर्मतमा प्राधिकरणले चासो नदेखाएको ठेकेदार पक्षको भनाइ छ । तर विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख ऋषि वर्णवालले भने अबको तीन चार दिन भित्रमै घडीअर्वा पार्कको विद्युत लाइन सुचारु हुने बताउनु भएको छ । आज नारायणी एफ एमसंग कुरा गर्दै वर्णवालले घडीअर्वा पार्कमा रहेको ट्रान्सफर्मर बढि भारका कारण जलेकाले अर्को ट्रान्सफर्मर ल्याइसकेको बताउदै अबको तीन चार दिन भित्रमा नै पार्कको विद्युत लाइन सुचारु हुने जानकारी दिनु भयो ।