वीरगंज, १७ भाद्र/
नेपालको इतिहासमै पहिलोपटक सातजना पूर्वप्रधानमन्त्रीहरुले एउटै मञ्चबाट नेपालको आर्थिक भविष्यका विषयमा प्रतिबद्धता व्यक्त गर्ने भएका छन् । ‘आर्थिक क्रान्तिको मार्गचित्र : भिजन २०८०’ भन्ने मुल नाराका साथ यही भदौ २० गते वीरगञ्जमा हुन लागेको ‘नेपाल लीडरशिप समिट’ का अवसरमा उनीहरुले यस्तो प्रतिबद्धता व्यक्त गर्न लागेका हुन् । कार्यक्रम वीरगञ्ज उद्योग बाणिज्य संघको मुख्य आयोजना तथा आर्थिक अभियान दैनिकको सहआयोजनामा हुन लागेको हो ।
सो कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउबा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल तथा बाबुराम भट्टराई सहभागी हुनेछन् । उनीहरु सबैले नेपालको आगामी १० वर्षको आर्थिक मार्गचित्रका विषयमा धारणा राख्नेछन् । साथै, मुलुकका प्रसिद्ध अर्थशास्त्री तथा निजी क्षेत्रका प्रतिनिधिहरुले अर्थतन्त्रका विभिन्न विषयमा सोधेका प्रश्नहरुको जवाफ पनि पूर्वप्रधानमन्त्रीहरुले दिनेछन् ।
वीरगञ्ज क्षेत्र आर्थिक राजधानीका रुपमा विकास भइरहेकाले मुलुकको आर्थिक भविष्यका विषयमा यस किसिमको महत्वपूर्ण कार्यक्रम गर्ने जिम्मेवारी लिएको वीरगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अशोक वैधले बताए । ‘नेपालमा स्रोत र साधनको पर्याप्त सम्भाव्यता भए पनि हामी विश्वको अतिकम विकसित मुलुकका रहन बाध्य छौं, अब गरिबी र अविकासको यो अवस्थाबाट मुक्त हुनैपर्छ । त्यसैका लागि एउटा मार्गचित्र तय गर्नका लागि यो सम्मेलन आयोजना गरेका हौं,’ अध्यक्ष वैधले भने ।
यो कार्यक्रम मुलुकको आर्थिक विकासका लागि कोसेढुङ्गा हुने सहआयोजक आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले बताए । देशमा राजनीतिक मुद्दा नै प्रमुख रुपमा आइरहेको सन्दर्भमा आर्थिक मुद्दालाई केन्द्रमा ल्याउने उद्देश्यसहित यस किसिमको कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।