सई मात्तिंदा एस.पी.को औकात सिपाही जस्तो
प्रहरी उपरीक्षक धिरज प्रतापलाई पहिलो गाँसमै ढुङ्गा
महासंघ पर्साको नेतृत्वले किन बोलेन ?
समीक्षा समाचारदाता/
वीरगंज/बर्दीधारी एक जना प्रहरी नायब निरीक्षक अर्थात सई प्रहरी पोशाक र पदको उन्मादमा मात्तिएपछि पर्साका प्रहरी उपरीक्षकको औकात एउटा सामान्य सिपाहीभन्दा पनि तल्लोस्तरमा झरेर गएको चर्चाले व्यापकता पाएको छ ।
नारायणी अञ्चल प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षकले सचांरकर्मीहरुलाई जिल्ला प्रहरी कार्यालयमै धम्की दिएपछि पर्साका पत्रकारहरु असुरक्षित भएको भन्दै प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापन पत्र बुझाउँदै कडा कार्यवाहीको माग गरेका छन् ।
वीरगंजबाट प्रकाशित हुने क्राइम चेक साप्ताहिकमा साउन १७ गते प्रकाशित समाचारको विषयलाई लिएर प्रकाशक एवं सम्पादक सन्तोष मिश्रलाई प्रहरी नायब निरीक्षक विजय यादवले फोन गरी ज्यानमार्ने धम्की दिनुको साथै आमा दीदीबहिनीलाई गाली दिएपछि स्थानीय सचारकर्मीहरु सुरक्षाको मागंगर्दै जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए ।
पत्रकार मिश्रलाई दिएको धम्कीपछि न्यायकोलागि जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका सञ्चारकर्मीहरुको टोलीलाई थाहापाई अञ्चल प्रहरी कार्यालयका प्रमुख वरीष्ठ
प्रहरी उपरीक्षक सर्वेन्द्र खनालसँगै जिल्ला प्रहरीमा पुगेका प्रहरी नायव निरीक्षक यादवले त्यहाँ बसिरहेका पत्रकारहरुको टोलीमा रहेका नेपाल भारत मिडिया फोरमका केन्द्रिय अध्यक्ष श्रीराम रायमाझीलाई , “वीरगंजका पत्रिकाहरुमा मेरो बारेमा समाचार लेख्न लगाउन तैं हो, यदी मैले प्रहरीको बर्दी फुकालें भने सबैभन्दा पहिले तँलाई गोली हानिदिन्छु । मेरो विरुद्ध समाचार लेख्ने कुनै पनि पत्रकारकारलाई बाँकी राख्दिन ।” भनि धम्क्याएपछि जिल्ला प्रहरी कार्यालयमा तनाव पूर्ण स्थिति भएको थियो । जिल्ला प्रहरी कार्यालयमै ज्यानमार्ने धम्की आएपछि घटनाबारे प्रहरी उपरीक्षक सिंहलाई ध्यानाकार्षण गराउँदै कारवाही गर्न नसके विभिन्न चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिंदै जिल्ला प्रहरी कार्यालयबाट बाहिरिएका थिए ।
घटनाबारे ज्ञापनपत्र बुझाउन गएका जिल्ला प्रशासन कार्यालयमा गएका सञ्चारकर्मीहरुको टोलीलाई प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमयले पर्सेली पत्रकारहरुलाई पूर्ण रुपमा शान्ति सुरक्षाको अनुभूति गराउन आफू प्रतिवद्ध रहेको बताउनु भयो । प्रजिअ अधिकारीले विधिको शासनविरुद्ध कुनै पनि गतिविधि गर्न कसैलाई छु्ट नभएको बताउँदै प्रनानि यादव दोषी भए कारवाही गरिने प्रतिवद्धता जनाउनुभयो ।
प्रहरीको कार्यशैलीबाट चिन्तित भएका वीरगंजका सचारकर्मीहरुले यादवमाथि कडाभन्दा कडा कार्यवाहि नभए चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनी समेत प्रशासनलाई दिएका थिए ।
नेपाल प्रेस युनियनका पर्सा अध्यक्ष पुरुषोत्तम सिंह भट्टराईको नेतृत्वमा पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमय समक्ष बुझाइएको संयुक्त ज्ञापनपत्रमा नेपाल भारत मिडिया फोरमका महासचिव विजय कुशवाहा, नेपाल पत्रकार महासंघका सचिव युवराज खड्का, क्रान्तिकारी पत्रकार संघका पर्सा जिल्ला अध्यक्ष राजाकुमार पटेल (आरके) मधेशी पत्रकार समाज पर्साका अध्यक्ष सन्तोष पटेल, साप्ताहिक पाक्षिक पत्रिका राष्ट्रिय सञ्जाल पर्साका अध्यक्ष रामराज्य यादव लगायत पत्रकार संवद्ध विभिन्न संघ संगठनका जिल्ला कमिटीले दोषी प्रहरी नायब निरीक्षक विजय यादवमाथि यथाशीघ्र कारवाहीको माग गरेका थिए ।
सो अघि नेपाल–भारत मिडिया फोरमका महासचिव विजय कुशवाहा, क्रान्तिकारी पत्रकार संघका आरके पटेल, क्रान्तिकारी पत्रकार महासंघका संयोजक दर्पण ज्ञवाली, नेपाल प्रेस युनियनका सचिव लालकिशोर सिंहले छुटा छुट्टै विज्ञप्ती जारी गरी घटनाको घोर भत्सर्ना गरी दोषी प्रनानिमाथि अबिलम्ब कडा कारवाहीको माग गरेका थिए । त्यस्तै नेपाल पत्रकार महासंघ पर्सा शाखा उपाध्यक्ष एवं रेडियो वीरगंजका अध्यक्ष ध्रुव साहले पनि पत्रकारमाथि गाली गलौज गर्ने र जिल्ला प्रहरी कार्यालय परिसरमै ज्यानमार्ने धम्की दिने दोषी प्रनानि यादवमाथि अविलम्ब कडा कारवाहीको माग गरेका थिए ।
यता पर्सामा पत्रकारहरूमाथि यत्रो घटना भइसक्दा पनि नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्षले आफूलाई सो बारे कुनै जानकारी नभएको सार्वजनिक अभिव्यक्ति दिएपछि आन्दोलित पत्रकार आक्रोशित भएका थिए । त्यसपछि नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष शिव गाउँलेको रोहवरमा पत्रकारहरूमाथि भएको घटना लगायतका सम्बन्धमा सबै पत्रकारहरू एकजुट हुनुपर्ने धारणासहित सहमति भएपछि आन्दोलनको नेतृत्व महासंघ पर्साले लिने कुरा सार्वजनिक भएपछि प्रेस युनियन सहितका ६ वटा संघ संगठनले कारवाही गर्न पर्साका प्रमुख जिल्ला अधिकारीलाई दिएको २४ घण्टे अल्टिमेटमको म्याद अनिश्चित कालिन बनाइएको ।
दोषी प्रहरी नायब निरीक्षक विजय यादवमाथि कडा कारवाही नभए आन्दोलनमा उत्रिने सहमति भएपनि नेपाल पत्रकार महासंघका पर्सा शाखा अध्यक्ष केसी लामिछानेले घटनालाई सेलाउने प्रयास गरिरहेको पनि चर्चा पनि उठ्न थालेको छ ।
आन्दोलनको नेतृत्त्व नेपाल पत्रकार महासंघ पर्साले लिने सहमति भएकै दिन पर्साका प्रमुख जिल्ला अधिकारीलाई भेटेर आएका महासंघ पर्सा जिल्ला अध्यक्ष केसी लामिछानेले होटल मकालुमा केही पत्रकारहरू अगाडी यस्तो धारणा राखेका थिए , “हामीले अहिले प्रहरमाथि कारवाहीको लागि दबाव दियौं भने यसले संविधानसभाको निर्वाचनमा असर पर्न सक्छ ।’ कुनै घटना बारे प्रहरीलाई जानकारी गराउँदा १५ मिनेट ढिलो पुगिदियो र त्यतिबेला हुने दुर्घटनाको जिम्मेवारी कसले लिने ? त्यसैले हामीहरू संयमित हुनुपर्छ ।”
कुनै बेला महासंघका सचिव केसी लामिछानेले भनेका थिए, “भाई नेपाल पत्रकार महासंघ पत्रकारहरूको छाता संगठन हो, यसले पत्रिकाको हित भन्दा पनि पत्रकारहरूको हक हितबारे लड्छ ।” तर अहिले पर्साका पत्रकारहरूलाई खुल्लेया गाली गलौज गरिंदा, लागुऔषध लगायतका विभिन्न मुद्दामा फँसाईदिने धम्की दिईंदा र जिल्ला प्रहरी कार्यालय परिसरमै प्रहरी अधिकृतहरूकै अगाडी ज्यानै लिने समेतका धम्की दिइँदा पनि महासंघ पर्सा शाखाको मौनताले विभिन्न खाले अड्कलबाजी गरिन थालिएको छ ।
यहाँ पत्रिकामा आएको गाली एउटा मिश्रकै हो कि सम्पूर्ण पत्रकारहरुको ? बेइज्जती मिश्रकै भएको हो कि सम्पूर्ण पत्रकारहरूको ? गोली हानेर मारिदिने धम्की पाएका पत्रकार श्रीराम रायमाझी र सम्पादक मिश्र मात्रै असुरक्षित छन् कि अरु पनि ? यसर्थ यसबारे पत्रकार महासंघ पर्सा र सबै संघ संगठनहरु एकवद्ध भएर लाग्नुपर्ने आजको आवश्यकता हो । नत्र आज पत्रकार मिश्र र रायमाझी माथि भएको घटना अरुमाथि नदोहोरिएला भन्न सकिन्न ।
त्यस्तै प्रहरी संगठनले पनि बुझ्नु पर्ने हो कि एउटा सामान्य सई पदमा रहेका प्रहरीले आफूभन्दा माथिल्लो दर्जाका अधिकृत समेतको अपहेलना गर्दै कानुनी राज्यको धज्जी उडाउनुले जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुखहरूको मान मर्यादा मात्र नभई सिंगो प्रहरी संगठनको बदनामी र कर्तव्य परायणतामा प्रश्न चिन्ह लागेको छ । यसर्थ यस किसीमका अनुशासनहिन, उदण्ड प्रवित्तिका प्रहरीहरूलाई समयमै पाठ सिकाई प्रहरी भित्र पनि आचार संहिता छ र संहिता मिच्ने कसैलाई पनि संगठनले बाँकी राख्न सक्दैन भन्ने सन्देश दिइनुपर्नेमा आम नागरिकको जोड रहेको छ ।
घटना भएको करिब ४ दिन अघि मात्र पर्सा प्रहरी प्रमुखको जिम्मेवारी लिई आएका प्रहरी उपरीक्षक धिरज प्रताप सिंहलाई यो घटनाले पहिलो गाँसमै ढुङ्गा परेपछि उनले आगामी दिनमा जिल्लावासीलाई कस्तो किसिको शान्ति सुरक्षाको अनुभूति गराउलान् ? के उनको नेतत्त्वलाई तल्लो दर्जाका अन्य सिपाहीले टेर्लान् ? उनको कार्यालयमै आएर त्यसरी उदण्ड मच्चाउँदा केही गर्न नसक्ने एस.पी. सिंहले जिल्लाभरी रहेका प्रहरी जवानदेखि अधिकृत सम्मलाई कसरी अनुशासनमा राख्न सक्लान् ? जिल्लावासी भयभित एवं चिन्तित छन् ।
२०७० साउन २२ गते प्रकाशित