विशेष सम्पादकीय: गुण्डागर्दी गर्ने प्रहरीलाई कारवाही गर

विशेष सम्पादकीय
गुण्डागर्दी गर्ने प्रहरीलाई कारवाही गर
गत हप्ता अर्थात विक्रम सम्वत् २०७० साउन १७ गते क्राइम चेक साप्ताहिक पत्रिकामा प्रकाशित समाचारलाई लिएर नारायणी अञ्चल प्रहरी कार्यालय पर्सामा दरबन्दी रहेका प्रहरी नायब निरीक्षक विजय यादवले सम्पादक/प्रकाशक सन्तोष मिश्रलाई मोबाइलमार्फत फोन गरी आमा र दिदी बहिनीलाई मुम्बईको वेश्यालयमा लगेर बेचिदिनेलगायतका विभिन्न अश्लील शब्दहरू प्रयोग गरी गाली गलौज गर्नुका साथै लागुऔषधमा फसाइदिने र ज्यानै लिने धम्की समेत दिए । टेलिफोन धम्कीका बारेमा जानकारी गराउन जिल्ला प्रहरी कार्यालयमा पत्रकारहरूको टोलीमा जाँदा डिएसपी र अन्य प्रहरी अधिकृत तथा करिब दुई दर्जन सञ्चारकर्मीहरू अगाडी आक्रोशित मुद्रामा आएर प्रनानि यादवले उपस्थित पत्रकारलाई गाली गरे र बर्दी फुकालेर ज्यान मार्ने धम्की समेत दिए । जानकारी दिन गएका पत्रकारहरूलाई डिएसपीकै कार्यकक्षमा त्यस्तो धम्की र दुव्र्यवहार हुँदा पनि धम्की दिने निज प्रनानिमाथि तत्काल कुनै कारवाही भएन । पत्रकारहरूलाई पनि उचित जवाफ दिइएन ।
‘जो रक्षक उही भक्षक’का घट्ना नेपालमा दोहरिंदै आएको छ । प्रनानि यादवले पत्रकारहरूमाथि ज्यादतीको यो पराकाष्ठा विरुद्ध पर्सेली पत्रकारहरूले संगठित रुपमा प्रनानि यादव विरुद्ध कानुनी र विभागीय कारवाही
को माग गरेका छन् । मानव अधिकारको रक्षा र शान्ति सुरक्षाको जिम्मेबारी बोकेका प्रहरी संगठनका कर्मचारीले प्रहरी पोशाकमै आफ्नो पदीय मर्यादा, प्रचलित कानुन, मानवअधिकार, प्रेस स्वतन्त्रता समेतको उल्लंघन गरी सई यादवले आफ्नो बारेमा समाचार प्रकाशित गरेको भनि जुन हर्कत देखाए, यसको जति निन्दा र भत्सर्ना गरेपनि कमै हुन्छ । निज सईमाथि अविलम्ब कारवाही होस भन्ने हाम्रो माग छ ।
पत्रकार र पत्रिकाले गलत काम कुरो देखेपछि चुप लागेर बस्न सक्दैन । सुधारको अपेक्षा राखेर विकृति, विसंगतिका विरुद्ध कलम चलाउँछ नै । गलत तत्वका विरुद्ध उठेर कलम चलाउनु पत्रकारको धर्म हो । प्रनानि यादवको गलत कार्यशैली र व्यवहारका बारेमा यथार्थ र सन्तुलित समाचार क्राइमचेकले प्रकाशन गरेको हो । प्रकाशित समाचार उपर चित्त नबुझेको भए प्रनानि यादवले प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सक्थे । सामान्य औपचारिकता समेत निर्वाह नगरी कानु हातमा लिएर सुरक्षाकर्मीको हैसियतले जुन रवैया प्रस्तुत गरे यसले सिंगो प्रहरी संगठनमाथि नै आँच पुगेको छ ।
आफ्नो व्यक्तिगत स्वार्थकालागि पद र शक्तिको दुरुपयोग गर्ने प्रनानि यादव दण्ड अर्थात सजायका भागी छन् । दण्डहीनताको अवस्था रह्यो भने प्रहरीको उद्दण्डता र ज्यादतिले स्थान पाई यस्ता घटना लगातार दोहरिन सक्दछ, प्रहरी संगठनभित्र अनुशासनको अभाव देखा पर्न सक्दछ । फोनमार्फत गाली गलौज गरेपछि जानकारी गराउन आएका पत्रकारहरूमाथि जिल्ला प्रहरीकार्यालयको हाताभित्र त्यो उदण्डता प्रदर्शन गर्ने छुट प्रनानि यादवलाई कसले दियो ? यो कुरा सार्वजनिक गराई उनीमाथि कारवाही हुनुपर्दछ । सई यादवका बारेमा विभिन्न पत्रपत्रिकामा सत्यतथ्य समाचार प्रकाशित भएका छन् । यसको छानबिन सम्बन्धित निकायबाट हुनुपर्दछ । सूचनाको हक सम्बनधी ऐन र प्रेस स्वतन्त्रताले पत्रकारलाई देश र समाजको अहिलत हुने कुनै पनि विषयमा गहन र सार्थक अनुसन्धानकालागि आधिकारीक सूचना पाउने र प्रकाशित गर्ने अवसर प्रदान गरेको छ । समाचार गलत ढंगले प्रकाशित भएमा खण्डन र प्रतिवाद गर्न पाइन्छ । खण्डन र प्रतिवाद केही नगरी सिधैं मोबाइलबाट सम्पादकलाई धम्की र गाली गर्नु अत्याचार हो । मोबाइलबाट सम्पादकलाई गाली र धम्की साथै प्रहरी कार्यालय परिसरमा गरिएको प्रदर्शन प्रनानि यादवको ज्यादति र उदण्डताकालागि कारवाही बाहेक अर्को विकल्प छैन ।
२०७० साउन २४ गते प्रकाशित

SHARE THIS

Author:

Facebook Comment