बोक्सीको आरोपमा चरम यातना दिएर हत्या गरिएकी पार्वती राउत थरुनीको हत्या सम्बन्धमा अनुसन्धान गर्न राष्ट्रिय महिला आयोगको टोली पर्साको सुपौलि गाविस पुगेको छ ।
|
तस्बिर: राम सर्राफ |
पर्साको सुपौलि गाविसमा गत विहिबार भएको घटनाको स्थलगत अनुसन्धान गर्न महिला आयोगकी अध्यक्ष शेष चाँद ताराको नेतृत्वमा आयोगका प्रवक्ता मोदना अन्सारी सहित ३ सदस्यीय टोली आएको हो । टोलीले आज घटनास्थलमा पुगेर स्थलगत जानकारी लिएको छ । पिडितका परिवार, गाउँका स्थानीय बासिन्दा र स्थानिय प्रहरी इन्चार्ज सँग टोलीले घटनाबारे जानकारी लिएको छ । यसैबीच घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गएराती पनि तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुपौली ९ सढी निवासी हुल्सी महतो, विष्णुदेव महतो र धुरुप महतो रहेका छन् । उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय सेढवाको प्रहरी टोलीले भारतीय सीमावर्ती गाउँ रामपुर बेहरीबाट उनिहरुलाई पक्राउ गरेको हो । यसअघि पाशपति राय थरुनी लगायत तीनजना महिलाहरु प्रहरी हिरासतमैं रहेका छन् । उनीहरुमध्ये पाशपति राय थरुनी, पार्वती हत्याकाण्डमा प्रत्यक्ष सहभागी रहेको प्रहरीले जनाएको छ ।