जुली गुरुङ
काठमाडौं, १५ भदौ ।
आदिवासी जनजातिको मुद्दामा आईरहेका गलत भ्रमलाई चिर्न आश्यक रहेको आदिवासी तथा गैरआदिवासी पत्रकारहरुले बताएका छन् । आदिवासी जनजातिका मुद्दाले मूलधारे संचारमाध्यममा पहिचान नपाईरहेको अवस्थामा पत्रकारहरुले यस्तो प्रतिकृया दिएका हुन् ।
मूलधारको संचारमाध्यममा समावेशिकरण नभएसम्म आदिवासी जनजातिका मुद्दाले पहिचान र स्थान नपाउने आदिवासी जनजाति पत्रकारहरुले बताएका छन् । आदिवासी जनजातिको मुद्दामा आदिवासी जनजाति र गैर आदिवासीहरुकोवीचमा हुने गरेको गलत बुझाई र गहन अध्ययनको कमीले आदिवासीका समाचारहरुले स्थान पाउन नसकेको पत्रकारहरुको बुझाई छ ।
आदिवासी जनजातिको मुद्दामा आम नागरिक र संचारमाध्यममा गलत भ्रम फैलिरहेको र यस्ता मुद्दा र विषयलाई चिरेर स्पष्ट रुपमा राख्न आदिवासी र गैर आदिवासीहरुकावीचमा छलफल र संवाद हुन आवश्यक रहेको आदिवासी तथा गैरआदिवासी पत्रकाहरुले बताएका छन् ।
नेपाली संचारमाध्यममा पत्रकारहरुको सहभागिता र पहुाच नहुनु, गहिरो अध्ययनको कमी, क्षमताको अभाव र आदिवासी पत्रकारहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएसम्म संचार क्षेत्रको ब्यबसायिक विकास हुन नसक्ने नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङले बताउनुभयो । ‘संचारमाध्यममा सबै जाति, धर्म र वर्गको समावेशीकरणका लागि मूलधारे संचारमाध्यममा कार्यरत सम्पूर्ण गैर आदिवासी पत्रकारहरुले अग्रणी भूमिका खेल्नुपर्दछ भन्ने हाम्रो माग हो ।’ अध्यक्ष गुरुङले भन्नुभयो ।
भाषिक र जातिय दमनलाई स्वीकार गरेर आदिवासी जनजातिहरुले कमजोरी गरेको उल्लेख गर्दै गैर आदिवासीहरुले आदिवासी जनजातिका मुद्दालाई सहर्ष स्वीकार गर्न नसक्दा आदिवासी जनजातिको मुद्दाले पहिचान पाउन नसकेको गोरखापत्र दैनिकका प्रधान सम्पादक पुष्कर माथेमाले स्पष्ट पार्नुभयो । ‘आदिवासीको पहिचानको विषयमा लेखहरु कतै आएको देखिंदैंन ।’ वहााले भन्नुभयो ।
मूलधारे संचारमाध्यमका पत्रकार र आदिवासी जनजाति पत्रकार तथा अधिकारकर्मीवीच भएको सामाजिक सम्बाद कार्यशालामा सहभागि पत्रकारहरुले आदिवासी जनजातिका मुद्दालाई सहि रुपमा बुझ्न, बुझाउन र स्पष्ट पार्न गोष्ठीले महत्वपूर्ण भूमिका खेलेको बताए । ‘ आदिवासी जनजाति पत्रकार, अधिकारकर्मी र संचारमाध्यमवीच सुमधुर सम्बन्ध हुन आबश्यक छ ।’ न्यूज २४ टेलिभिजनका समाचार प्रमुख चिरञ्जिवी देवकोटाले भन्नुभयो ।
कार्यशालामा आदिवासीको मुद्दा के हो? भन्ने विषयमा गहन अध्ययन, छलफल र बहस हुन सामाजिक संम्बादहरु हुन आबश्यक रहेको पत्रकारहरुले बताए । कार्यशालामा मूलधारे संचारमाध्यममा आदिवासीका मुद्दा र अधिकारको पहिचानलाई स्थापित गरिनुपर्दछ भन्ने विषयमा बहस र छलफल भएको थियो ।
कार्यशालामा वरिष्ट पत्रकार राजकुमार दिक्पालको कार्यपत्र प्रस्तुती तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य खिम घलेले सहजिकरण गर्नुभएको थियो । कार्यपत्रमा सहभागी पत्रकारहरुले टिप्पणी गरेका थिए । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) अन्तर्गत एशियामा आदिवासी आवाज परियोजनाले आयोजना गरेको कार्यक्रममा मूलधारे संचारमाध्यममा कार्यरत पत्रकार, आदिवासी पत्रकार तथा अधिकारकर्मीहरुको उपस्थिती रहेको थियो ।