वीरगन्ज,२४ चैतः पर्साको ठोरी गाविस र निर्मलबस्ती गाविसको सीमामा पर्ने ठुटे खोलामा सीमामा विवादका कारण पुल र विद्युत पोल जडानको काम ठप्प हुन पुगेपछि स्थानीबासिन्दा चिन्तित बनेका छन् ।
भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भूमीलाई भारतीय भूमी भएको दाबी गर्दे अत्तो थापेका कारण दुईवर्ष अघिदेखि विकास निर्माणको काम ठप्प हुन पुगेको छ । विवाद समाधानका लागी दुबै देशको उच्च सरकारी अधिकारीहरुले स्थलगत निरिक्षण गरेर गृह र परराष्ट्र मन्त्रालयमा प्रतिवेदन पेश गरेको भएपनि यस विषयमा अझैसम्म टुंगो लगाइएको छैन । विवाद समाधान हुन नसक्दा हुलाकी राजमार्गमा पुल निर्माणको काम ठप्प छ भने निर्मलबस्तीबाट ठोरीका लागी लैजाने भनिएको विद्युत प्रशारण लाईन समेत निर्माण हुन सकेको छैन ।
शनिबार राई धारामा निर्मलबस्ती र ठोरीका राजनीतिक दलका प्रतिनधी, समाजसेवी र गाउँलेहरुले यस विषयमा समाधान निकाल्नका लागी संयुक्त छलफल गरेका छन् । गाउँलेहरुले विवादित क्षेत्र छोडेर केही भित्रै भएपनि निर्माणको काम गरेर सडक र बत्तिको सेवा पु¥याउनुपर्ने विषयमा सहमती जुटाउने सम्भावना व्यक्त गरिएको छ ।