बारा,२४ चैतःस्थानीय उपभोक्ता समितीको लापरवाहीका कारण बाराको डुमरवानामा निर्माण भएको खानेपानी योजना सञ्चालनमा आउनु अघि नै जीर्ण बन्दै गएको छ । खानेपानी योजना निर्माण कम्पनीले निर्माण कार्य सम्पन्न गरेर डुमरवाना खानेपानी तथा सरसफाई उपभोक्ता समितीको जिम्मा लगाएपछि अहिले यसको संरक्षण हुन सकेको छैन । संरक्षणको अभावमा अहिले खानेपानीको ट्यांकी, रेलिङ्ग र अन्य भौतिक संरचना भत्कंदै गएको छ । खानेपानीका लागि गाडिएको बोरीङ्ग स्थानिय बासीन्दाले सिंचाइमा उपयोग गर्नु परेको छ भने कार्यालय संचालन तथा अन्य प्रयोजनका लागि बनाईएको भवन पनि जीर्ण बन्दै जान थालेको स्थानीयबासिन्दाले गुनासो गरेका छन् ।
नारायण प्रसाद पोखरेलको अध्यक्षतामा रहेको उपभोक्ता समितीको बैठक समितीको गठन भएयता एक पटक पनि बसेको छैन । अध्यक्ष पोखरेलले विभिन्न समस्याका कारण खानेपानी योजना सञ्चालनमा ल्याउन चुनौती भएको बताउँदै यसलाई चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउनका लागी उपभोक्ता समितीको बैठक केही दिनमै बोलाइने जानकारी दिएका छन् ।