बजेट तीन दिनभित्रः अर्थमन्त्री

विराटनगर, चैत्र २४ । सरकारले चालु आर्थिकवर्षको बाँकी तीन महिना अवधिका लागि तीन दिनभित्र बजेट ल्याउने भएको छ । शनिबार विराटनगरमा मोरङ व्यापार संघको ५९ औं साधारण सभामा अर्थमन्त्री शंकरप्रसाद कोइरालाले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि तीन दिनभित्र बजेट ल्याउने बताएका हुन् ।

बजेट ल्याउनका लागि राजनीतिक दलहरुसँग छफफल भइसकेको भन्दै अर्थमन्त्री कोइरालाले चुनावी तयारी र सुरक्षाका लागि ५५ करोडसम्म रकम थपेर बजेट ल्याइने बताए । 

सरकारले बाँकी अवधिका लागि ३ अर्व ५१ करोड रुपैयाँ आकारको बजेट ल्याउनुपर्ने भएपनि निर्वाचनका लागि रकम थप गर्नुपर्ने मन्त्री कोइरालाको भनाई छ । आर्थिक वर्ष २०७०/७१ का लागि भने नीति तथा कार्यक्रम सहितको पूर्ण बजेट ल्याइने र त्यसले मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने भनाई अर्थमन्त्री कोइरालाको छ ।



बजेट सार्वजनिक गर्ने विषयमा सैद्धान्तिक सहमति भएपनि केही प्राविधिक विषय बाँकी रहेको अर्थ सचिव शान्तराज सुवेदीले जानकारी दिए । 

नयाँ नीति तथा कार्यक्रम विनाको यो बजेटले अर्थतन्त्रमा उल्लेख्य सकारात्मक प्रभाव नपारेपनि पूँजीगत खर्चमा भने बृद्धि आउने अर्थसचिव सुवेदीले बताए । 

निर्माणको अन्तिम चरणमा पुगेको बजेट मन्त्रिपरिषद्बाट पारित गरी सोहि दिन राष्ट्रपतिले आर्थिक अध्यादेश स्वीकृत गरी सार्वजनिक गरिने सचिव सुवेदीले जानकारी दिए ।

पूर्ण बजेट ल्याउने विषयमा दलहरुबीच सहमति बन्न नसक्दा एक पटक एक तृतीयांश र दोस्रो पटक दुई तृतीयांश बजेटमार्फत मुलुक चलिरहेको छ ।

SHARE THIS

Author:

Facebook Comment