ट्राभ्रल एजेन्सीबाट म्यानपावरको धन्दा

 ट्राभल एण्ड टुर्स लागि संचालित केही एजेन्सीहरुले विदेशमा मान्छे पठाउने भन्दै म्यानपावर कम्पनीको काम गरेका छन् । सरकारले श्रम स्वीकृत दिन प्रतिबन्धि लगाएको इराकमा समेत २९ युवती पठाउन लागेको तथ्य खुलेको छ ।

वैदेशिक रोजगार विभागले र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सिनामंगल, गौशाला क्षेत्रका ३ वटा ट्राभल एण्ट टुर्स एजेन्सीहरु छापा मारेपछि उक्त तथ्य बाहिर आएको हो । यस अघि पनि विभिन्न ट्राभल एजेन्सीहरुले म्यानपावर कंपनीको काम गर्दै आएको फेला परेको छ ।

विभाग र ब्युरोले वुधवार साँझ २ घण्टा वेष्ट फ्रेन्डशीप इन्टरनेशनल टुर्स एण्ड ट्राभल, एयर हिमाल ट्राभल एण्ड टुर्स र किङ अकबर ट्राभल एजेन्सीमा छापा मारेको थियो । उनीहरुले अनधिकृत रुपमा वैदेशिक रोजगारमा कामदार पठाउने काम गरेको गुनासो आएपछि छापा मारी कम्प्युटर, ल्यापटप सहित विभिन्न कागजातहरु बरामद गरेको विभागले जनाएको छ ।


बेष्ट फ्रेन्डशीपमा इराकमा महिला पठाउन त्यहाँको कुर्दिस्तान रिजनल काउन्सिल अफ मिनिस्टरबाट आएको २९ महिलाको भीसाको लिष्ट राखेको फेला परेको छ । जसमा सरीता तामाङ, अनिता तामाङ, रेश्मा तामाङ, परिमाया तामाङ, देवी तामाङ, रेश्मा गुरुङ, गौमती गुरुङ, हिमाकुमारी आले, निमा ल्हामु शेर्पा सहितको नामावली र पासपोर्ट नम्बर छ ।

'प्रतिबन्धित मुलुकमा महिला पठाउन खोज्नु गंभिर विषय हो, हामीले छानवीन गरिरहेका छौं' विभागका महानिर्देशक विनोद केसीले भने, 'ट्राभल एजेन्सीलाई मान्छे पठाउने अधिकार नै छैन ।' वैदेशिक रोजगार ऐन अनुसार विभागको ईजाजत नलिई विदेशमा कामदार पठाएमा ३ लाखदेखि ५ लाख रुपैयाा जरिवाना र ३ वर्षदेखि ७ वर्ष कैंद सजाय छ ।

विभागका अनुसार ती ट्राभल एजेन्सीबाट इराकमा महिला पठाउन तयार पारिएका कागजात, महिलाको स्वास्थ्य परीक्षणको थानका थान रिपोर्ट, डेमाण्ड लेटरका स्कान कपी, कुवेतका भीसा- नम्बर २० (हाउसमेड)का भीसा, दुतावासबाट प्रमाािणत भएको सक्कल पत्र, म्यानपावर कंपनीका लेटर हेड, ६ वटा कम्प्युटर, एउटा ल्यापटप, मोवाईल, सीपुयु प्रहरीले बरामद गरेको छ । एजेन्सीहरुले अनधिकृत कामलाई छल्न र लुकाउन डेष्कटप कम्प्युटर भन्दा ल्यापटपको प्रयोग बढी गरेको पाईएको जनाएको छ ।

ट्राभल एण्ट टुर्सको ठूलो संस्था 'नेपाल एसोसिएनस अफ ट्राभल एण्ड टुर्स एजेन्स -नाट्टा)'ले आफ्नो संस्थाका सदस्यहरु कसैले म्यानपावर व्यवसायको काम गरेको भेटिए कारवाही गर्ने जनाएको छ । कान्तिपुरले प्रहरी छापामा परेका एजेन्सीहरुको नेपाल टेलिकममा फोन नम्बरको लागि संपर्क गर्दा वेष्टफ्रेण्डसीपको बाहेक किङ अकबर र एयर हिमालको उपलब्ध हुन सकेन । वेष्ट फ्रेण्डसीपको संपर्क नम्बरले काम गरेन ।

SHARE THIS

Author:

Facebook Comment