रौतहट, फागुन २६ - नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटको जिल्ला अधिवेशनमा शिक्षक–शिक्षकबीच कुटाकुट भएको छ । कुटाकुटमा तीन शिक्षक घाइते भएका छन् ।
संगठनको एघारौँ जिल्ला अधिवेशन चलिरहँदा मतदाता नामावलीमा शिक्षक सदस्यको नाम छुटेको विषयलाई लिएर दुई पक्षबीच भएको विवादले उग्ररुप लिएपछि कुटाकुट भएको हो ।
कुटाकुटमा संगठनका कोषाध्यक्ष रामशंकर प्रसाद,
प्रावि बैरियाका प्रधानअध्यापक वीरेन्द्र झा र सरस्वती उमावि मलाहीका शिक्षक राजेश साह घाइते हुनु भएको छ ।
नेकपा एमाले निकट शिक्षक संगठन भएकोले पार्टीको निर्णय र निर्देशनअनुसार चल्नुपर्ने र शान्तिपूर्ण तरिकाले नयाँ कार्यसमिति निर्माण हुनुपर्ने बताएपछि रामसागर साह पक्षले आक्रमण गरेको संगठनका केन्द्रीय लेखा समिति सदस्य मणिशंकर निधिले बताउनुभयो ।
शिक्षकहरूको अधिवेशन शान्तिपूर्ण चलिरहेको समयमा केही मान्छेले अनावश्यक रुपमा हुलहुज्जत गर्दै शिक्षक राजेश साहमाथि आक्रमण गरेर घाइते बनाएको र आफू अध्यक्षको बलियो उम्मेदवार भएकोले अनावश्यक आरोप लगाएको नेपाल शिक्षक युनियन रौतहटका सदस्य समेत रहेको रामसागर साहले बताउनुभयो ।
पार्टीले मणिशंकर निधिको पक्षमा सहमति गर्नुपर्ने ह्वीप जारी गरेको र अधिवेशनमा सहभागी शिक्षकहरूले चुनाव गरेर नयाँ कार्यसमिति बनाउने भनेपछि निधि र साहपक्षबीच विवाद बढेको स्रोतले जनाएको छ । प्रहरीकै अगाडि पटकपटक झडप भएपछि घटनास्थलमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिनुभयो ।