रेग्मीविरुद्ध देशभर आमसभा


काठमाडौं, चैत ५ – प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकार प्रमुख बनाएको विरोधमा नेपाल बार एशोसियसनले देशभर सभा गरेको छ । न्यायपालिकाको प्रमुख र कार्यपालिकाको प्रमुख एउटै व्यक्ति हुनु गलत र संविधान विपरित भन्दै बारले कडा आपत्ति जनाएको छ ।
नेपाल बार एशोसियसनले सोमबार काठमाडौंमा गरेको विरोध सभामा कानून व्यवसायीहरुले तत्काल प्रधानन्यायाधीश पदबाट राजीनामा दिन मन्त्रिपरिषद अध्यक्ष रेग्मीसँग माग गरेका छन् ।
बार एशोसियसनको प्राङ्गणमा भएको सभामा कानून व्यवसायीले सरकार प्रमुख बनेकोमा रेग्मीको कडा आलोचना गरे ।
वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश सिंहदरबारमा बस्ने र उसको मातहतमा सेना, प्रहरी र राज्यको ढुकुटी नहुने भन्दै तत्काल प्रधानन्यायाधीश पदबाट राजीनामा दिन माग गर्नुभयो । थापाले कायममुकायम प्रधानन्यायाधीश दामोदर शर्मालाई प्रधानन्यायाधीश बनाउनुपर्नेमा जोड दिनुभयो ।
वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रधानन्यायाधीश विरुद्धको मुद्दाको पेशी सरिरहनुले पनि रेग्मीको न्यायालयमा प्रभाव देखिएको भन्दै त्यसलाई स्वीकार्न नसकिने बताउनुभयो ।

अर्का वरिष्ठ अधिवक्ता रेग्मी कार्यकारी प्रमुख भएर अदालतमा पुगेको क्षतिको क्षतिपूर्ति कहिल्यै हुन नसक्ने भन्दै न्यायालय जोगाउन गरिएको विरोधलाई चुनाव विरोधी देख्नेहरु नै परिवर्तन विरोधी भएको आरोप लगाउनुभयो ।
नेपाल बार एशोसियसनका अध्यक्ष हरिकृष्ण कार्कीले सरकार प्रमुख र न्यायपालिका प्रमुख एउटै व्यक्ति हुन नसक्ने भन्दै तत्काल राजीनामा दिन रेग्मीलाई आग्रह गर्नुभयो । आफू बसेको घरको अलिकति पनि माया भए रेग्मीले प्रधानन्यायाधीशको पद छोड्नु पर्ने र भत्काउने कोशिस गर्न नहुने कार्कीले बताउनुभयो ।  
तीन दल र मधेशी मोर्चाले संविधान विपरित काम गरेको भन्दै कार्कीले उनीहरुलाई संविधानको दायरामा आउन आग्रह गर्नुभयो ।

SHARE THIS

Author:

Facebook Comment