काठमाडौं÷विजय गच्छेदार गृहमन्त्रीबाट हटेपछि उनका आसेपासेलाई रकम बुझाएका नेपाल प्रहरीका एकसय दुई इन्स्पेक्टरहरूको रुवाबासी सुरु भएको छ । लगभग आठसय इन्स्पेक्टरहरूको सरुवाको तयारी हुँदै गर्दा आकर्षक युनिटको इन्चार्जमा सरुवा गर्नका लागि गच्छेदार मण्डलीका महेशबहादुृर बस्नेत, सहदेव कक्षपतिदेखि भक्तिनाथ माझीसम्मलाई पैसा बुझाएका इन्स्पेक्टरहरुको रुवाबासी सुरु भएको हो । मालदार युनिटमा सरुवा गर्नका लागि गच्छेदार मण्डलीले इन्स्पेक्टरहरुबाट लगभग २ करोड रुपैयाँ उठाएको हल्ला हेडक्वाटरका प्रहरीहरुबीच चर्चा छ । गच्छेदारले बदनाम र कारबाहीमा परेका ४० औं इन्स्पेक्टरहरुलाई इन्चार्ज बनाउन दबाब दिएपछि २०६९ मंसिरमै हुनुपर्ने सरुवा हुन नसकेको प्रहरी स्रोतले बतायो ।
आइजीपी रानाले पदबहाली गर्दा एक पटक इन्चार्ज भएका र बदनामहरुलाई पुनः अवसर नदिने नीति अख्तियार गर्ने प्रतिबद्धता जनाएका थिए । तर गृहमन्त्रीले सबै बदनाम र पटक पटक इन्चार्ज भएकाहरुलाई नै आकर्षक कार्यालयको इन्चार्ज बनाउन दबाब दिएपछि इन्स्पेक्टर
सरुवा हुन सकेको थिएन । तर अब गच्छेदारको बिदाइसंगै आइजीपी रानालाई स्वतन्त्रतापूर्वक इन्स्पेक्टर सरुवा गर्ने बाटो खुलेको छ । गृहमन्त्री माधव घिमिरे उनकै जिल्लाबासी भएकाले आइजीपी रानालाई काम गर्न थप सहज भएको बताइन्छ ।
गच्छेदारले बदनाम र पटक पटक इन्चार्ज भइसकेका प्रहरी निरीक्षकहरुलाई पुनः तातोपानी, बाह्रबीसे, श्रीपृुर, काकडभिट्टा, विराटनगरको रानी, सिमरा, लहानमा सरुवा गरिदिने सर्तमा पैसा उठाएका थिए । तर गच्छेदारको बहिर्गमनसंगै उनीहरु ती स्थानमा सरुवा हुन नपाउने निश्चित भएको छ । सीमा नाकाको इन्चार्ज, काठमाडौंको प्रभागमा प्रमुख बनाउने भनेर रकम बटुलेका थिए । विराटनगरको रानी इलाका प्रहरी कार्यालयमा आचरण विपरीत कृयाकलाप गरी कारवाहीस्वरुप सरुवा भएका अमदलाल माझी, मिर्चैया इलाका प्रहरी कार्यालयका खगनारायण साह, काँकडभिट्टाका इन्द्र राजबंशी, दमकका मिलन भट्टराई र विराटनगर नगर प्रहरीका गणेशमान श्रेष्ठ लगायतलार्ई पुनः मालदार कार्यालयको इन्चार्जमा सरुवा गर्न दबाब दिएका थिए । (नेपाल हरिजन्स)
क्राइम चेक साप्ताहिकमा २०६९ चैत्र ०८ गते प्रकाशित