रामचन्द्र नेपाल !
बिहान सबेरै आमा सँग ढिकीमा धान कुट्न एक जना सम्भ्रान्त छिमेको घरमा गएको थिएँ त्यहाँ सुनियो ‘बहुदल आयो रे’ | राजनीतिमा चासो दिने र रेडियो पनि भएको घर भएकोले त्यहाँ राजनीतिक परिबर्तनको कुरा भैरहेको थियो तर आफु त सानो उमेरको अनि राजनीतिक चेतना नभएको परिवारमा जन्मेको मान्छे ,घरमा रेडियो पनि थिएन ,केहि बुझ्न सकिएन के होला बहुदल भनेको ? कहाँ आएको होला ? भनेर सोच्दै बसें |
०४६ सालमा बहुदलीय व्यवस्था घोषणा भएको भोलिपल्ट बिहानको कुरा थियो यो | स्कुल गईयो शिक्षक हरुको त्यहि गफ ,वरपरका चिया पसलमा त्यहि गफ सुनिन्थ्यो |केहि दिन पछी त राजनीतिक दलका आमसभा र प्रशिक्षण कार्यक्रमहरु खहरेको भेल झैँ उर्लिन थाले अनि थाहा भयो पंचायत र बहुदल भनेको राजनीतिक व्यवस्था रहेछ भन्ने सम्म मैले सबै भन्दा पहिला तत्कालिन अखिल छैठौंका नेताको प्रशिक्षण पाएँ , तिन्का भाषणले मन्त्रमुग्ध बनायो साँच्चै सहि कुरा रहेछ भन्ने लाग्यो अनि समर्थन गरियो त्यो पनि खुसी भएर ,उनीहरुले पनि मलाई बिद्यालय कमिटि को सचिब बनाइ दिए जीवनमै पहिलो पटक पद पाएँ झनै खुसी भएँ |त्यस्तो ‘राम्रो’ संगठनको सचिब बन्न पाउँदा भुइँमा खुट्टै थिएन मेरो |तर केहि समय पछी त बिद्यालयका प्राय जसो अखिल पाँचौं मा पो लागेको थाहा भयो आफु तिर त कमिटिमा भएको मात्रै ! अनि लाग्यो यो भन्दा त त्यो पो अझ राम्रो रहेछ क्यारे अनि सबै त्यता लागेका | त्यता लाग्नेहरुले पनि त्यहि खालको कुरा गरे हो रहेछ जस्तो लाग्यो अनि लागियो आफु पनि त्यतै |
हरेक कम्युनिष्ट संगठनका प्रशिक्षण हरुमा भनिन्थ्यो र अहिलेका माओबादी नेताहरु पनि कार्यकर्तालाई प्रशिक्षण दिँदा भन्ने गर्छन अरु भनेका सबै प्रतिक्रियावादी, पुनरुत्थानवादी, प्रतिगामी ,यथास्थितिबादी, जडसूत्रवादी आदि आदि हुन् तिनीहरुको कुरै सुन्न हुँदैन तिनीहरु सधैँ भ्रम मात्रै छर्छन |तर वास्तवमा हरेक कुराको सकारात्मक र नकारात्मक पाटा हुन्छन , पुंजिबाद, समाजबाद ,साम्यबाद सबैका सकारात्मक र नकारात्मक पक्ष छन् तर नेताले सधैँ आफ्नो मात्रै ठिक र अरुको सबै बेठिक भन्छ |नेताको यहि कुरा कार्यकर्ता सुन्छन र मनन गर्छन अनि आफ्नै नेताको कुरा मात्रै सुन्छन र आफु निकटको पत्रिका मात्रै पढ्छन र मैले पनि त्यसै गर्थें |एकदिन कक्षा १२ मा पढ्दै गर्दा अंग्रेजी पढाउने सरले ‘मुर्ख बिचारधारा कसरी हटाउने (How to avoid foolish opinion)? भन्ने पाठ पढाउनु भयो त्यहाँ लेखिएका कुरा मध्य एउटा चाहिँ ‘विपक्षीको पत्रिका पढ्ने’ भन्ने पनि रहेछ अनि त्यसकै प्रभावले मैले सबैका पत्रिका पढ्न थालें मिले सम्म | नेताहरुले कार्यकर्तालाई सिमित घेरा भित्र राख्ने प्रयत्न गरिरहेका हुन्छन ,बैचारिक स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयत्न गरिहेका हुन्छन ,पार्टी र नेताको बिरुद्ध आवाज उठाए कार्बाही गरिहाल्छन्| तिनै नेताको प्रशिक्षणले भरिएको कार्यकर्ताको दिमागले बिचारको संकुचित दायरालाई तोड्न खोज्दैन र सक्दैन पनि |नेतृत्वले कार्यकर्ता माथि विचार र शिद्धान्तको नाउँमा कार्यकर्ताको बौद्धिक शोषण गरेर सधैँ निरंकुशता लादिरहेको हुन्छ |त्यसैले विशेषगरी कम्युनिष्ट पार्टीका कार्यकर्ता एकोहोरो नेता भक्त बन्छन नेता लामो समय सम्म नेतृत्वमा टिकिरहन्छ |हुनत अन्य फरक विचार बोक्ने पार्टीहरुले पनि कार्यकर्तामा भ्रम नछर्ने त हैनन छर्छन र छरेका छन् नै तर तिनिहरुकोमा वैचारिकता र प्रशिक्षण कम हुन्छ पार्टी भित्र अनुसाशन पद्दति खुकुलो हुन्छ |! नेताहरुले नराम्रो काम नै गरे भनेपनि त्यसलाई क्रान्तिको तात्कालिक आबश्यकता, बाध्यकारी परिस्थिति भनेर परिभाषित गरिदिन्छन | कसैले कमजोरी औंल्यायो भने त्यसलाई हाम्रो क्रान्ति बिरुद्धको प्रतिगामीहरुको राष्ट्रिय,अन्तराष्ट्रिय षड्यन्त्र हो भनिदिन्छन |स्टालिनका ७० प्रतिसत कमजोरी थिए भन्ने माओबादीले आफ्नो कमजोरी कति प्रतिसत छ भनेर कहिल्यै मुल्यांकन गरेको र कार्यकर्तालाई बताएको छ त ? अहिले सिंहदरबारमा बसेको माओबादी नेतृत्वले सरकारमा बस्नुलाई क्रान्तिको पुरानो क्रमको भंग र नयाँ क्रमको सुरुवात वा क्रान्तिको नयाँ रुप भनेर भ्रम छरिरहेको छ, हरेक घटना क्रम र ब्यबहारलाई क्रान्तिकै अंशको रुपमा ब्याख्या गरिरहेको छ , उतातिर बिस्तारबाद र साम्राज्यबाद जस्ता पदावली पार्टीका दस्ताबेज बाट गायब पारिएका छन् ,हिजो तिनै बिस्तारबादी र सम्रज्यबदिको संज्ञा दिंदै क्रान्तिका अन्तराष्ट्रिय दुश्मन ब्याख्या गरिएका हरुको निगाहामा सत्तामा टिकेर तिम्रो सहयोग बिना हाम्रो कुनै सम्भव छैन भन्दै कार्यकर्ता समू भने अझै पनि आफु सबैभन्दा राष्ट्रबादी शक्ति भएको ढोंग रची रहेका छन् तैपनि कार्यकर्ताहरु श्रमजीवी र सर्बहाराको ‘क्रान्तिकारी’ नेता अलिशान महलमा बसेर भोग विलासको जीवन बिताई रहँदा र तिनै नेताले राष्ट्रघाती सन्धि सम्झौता गरिरहँदा पनि दृष्टिभ्रम मा परेर क्रान्तिको मिराज देखिरहेका छन् अनि अझै उनीहरुमा युद्धको धङ्धङी पनि बाँकी नै छ र पनि यदाकदा बिरोधका स्वर हरु पनि छिटपुट निस्कन थालिसकेका छन् |जब समय ,परिस्थिति र वातावरणले वास्तविकता बुझाउँदै जान्छ तब नेतालाई कार्यकर्ता संकुचित दायरा भित्र राख्न असम्भव हुन्छ तब पार्टी नेतृत्वको निरंकुशता खुकुलो हुँदै जान्छ अनि नेताले आफुलाई प्रजातान्त्रिक भनाउन बाध्य हुन्छन |अहिले माओबादी पार्टी एमालेकरण हुँदै गयो भन्ने हरु कम छैनन् तर त्यो बाध्यता हो खुला राजनीतिमा |माओबादी पनि एमाले भन्दा फरक हुँदैन र हुन सक्दैन चाहे बैचारिक हिसाबमा होस् चाहे राजनीतिक शैलीमा होस् |जुन कुरा अहिलेनै स्पष्ट देखि सकिएको छ |नेता धेरै छन् तर तिनै नेताका छोराछोरी राजनीतिमा लाग्ने र नेता हुने एकदम थोरै छन् अझ ती थोरै राजनीतिमा लागेका हरु पनि बाबुको भन्दा फरक धारको राजनीतिमा लागेको भेटिन्छन |स्टालिन जस्तो बिश्व चर्चित नेताको छोरी साम्राज्यबादी भईन |राजनीति गर्ने नेताले आफ्नै परिवारलाई पनि बिचारमा बिश्वास दिलाउन सकिरहेका हुँदैनन भन्ने यो यौटा उदाहरण हैन र ?