आत्महत्या समस्याको समाधान हैन


– दीपिका भुसाल
जीवन न कसैले सोचे जस्तो हुन्छ न रोजे जस्तो ¤ कुन बेला कस्तो मोड, कस्तो परिस्थिति आउँछ आफैंलाई थाहा हुँदैन । मान्छेले हजारौं सपनालाई अंगाल्दै जिन्दगी अगाडी बढाई रहेको हुन्छ । कति बेला कस्तो किसिमको बज्रपात आउँछ, चोट पर्दछ पत्तो समेत हुँदैन । मान्छेको मन पनि मौसम जस्तै परिवर्तन हुन्छ तर जिन्दगी नै संघर्ष हो संघर्षनै जिन्दगीको जिउने आधार हो । जीवनसँग हार मान्नु हुँदैन जीवनमा जस्तो पनि परिस्थिति आउने गर्दछ ।

तिनै नयाँ नयाँ चुनौती र परिस्थितिले जिबन के हो भन्ने बुझ्ने मौका लिएर आउछ नयाँ–नयाँ चुनौतीहरुलाई सहज रुपमा स्वीकार गर्नको लागि क्षमता प्रदान गर्दछ । मानिसले समय अनुसार आइपरि आउने सबै कुरालाई सहज रुपमा स्वीकार गर्न नसक्दा वर्षेनी हजारौं मानिसले आत्महत्या गर्ने गरेका छन् ।

तर किन मान्छे आत्महत्यासम्म पुग्दछ ? दिनदिनै जताततै आत्महत्याको समचार छापिन्छ । आत्महत्या रोग नभइ विभिन्न कारणले निम्ताउने समस्या हो, डिप्रेसन हो मानसिक तनाव हो । मानिसहरूले बिभिन्न किसिमका समस्या, रोगहरुको सामना गरिरहेको भेटिन्छ । संसारमा अहिले मानिसको मृत्यु हुने कारण विभिन्न किसिमका रोग र आत्महत्या रहेका छन् ।

दिनप्रतिदिन आत्महत्या गर्नेहरुको संख्या बढ्दो छ । १० वर्षे बच्चा, युवा देखि लिएर वृद्धवृद्धाहरुले पनि आत्माहत्या गरेको सुनिन्छ र देखिन्छ । आत्महत्याले विकराल रुप लिएको पाईएको छ । बेला बेला आउने गरेका समचारहरुले आम मानिसहरुलाई झन त्रसित गराएको छ । जो आफ्नो बच्चाहरु छोडेर उनीहरुको लालनपोषणको लागि देश भित्र लगायत अन्य मुलुकमा रोजगारको सिलसिलामा रहदै आएका छन् । सन्तानको भविष्यको लागि देशमा राम्रो रोजगार नभएको कारण र बढ्दो महंगीले नेपाल भारत लगायतका अन्य देशका महिलालाई समेत बच्चाहरुबाट टाढा रहेर काम गर्न बाध्य बनाएको छ । बच्चाहरुको बढ्दो महत्वोकांक्षा, उनीहरूको एक्लोपन र गलत संगतले नसालु पदार्थ एवम् कुलतमा फंस्ने

 गरेको पनि भेटिन्छ । यस्तै विदेशमा रहेका अभिभावकहरु प्राय: बच्चाहरु कुलतमा फँसेको र कुलतमा फस्छन कि भन्ने चिन्तामा रहेको देखिन्छ । त्यसैमाथि जीवनलाई नबुझ्दै गर्ने लिभिङ् टुगेदर रिलेसनशिप लगायतमा धोका, अविश्वास र अपरिपक्को अवस्थामा रहेको अवैध गर्भधारणले युवायुवतिहरुलाई आत्माहत्या गर्न बाध्य बनाएको भेटिन्छ र वृद्धवृद्धाहरुले आफ्नै सन्तानबाट बेहोर्न परेको अपहेलना र मानिसक तनाव आर्थिक अभाव, विभिन्न किसिमका रोगहरुलाई खप्न नसकेका कारण समेत आत्माहत्या गर्ने गरेको पाइन्छ ।

विश्वमा सबै भन्दा बढी आत्महत्या गर्ने देश जापान रहेको छ । त्यस्तै भारत र नेपालमा आत्महत्या गर्नेको संख्या बढ्दो छ । आत्महत्या गर्नेमा आम नागरिक देखि चर्चित सेलिब्रिटीहरुको संख्या उतिकै देखिन्छ । यति बेला भारतकी चर्चित कलाकार प्रतुषा बेनर्जीको आत्महत्याले भारत लगायत अन्य देशमा समेत सनसनी मच्चाएको छ । उनको आत्महत्याको कारण उनका प्रेमीबाट भएको धोका र विश्वासघात भनिएको छ । भारतमा पनि अन्य चर्चितव्यक्तिहरुले पनि आत्मा हत्याको बाटो रोजिसकेका छन् ।

त्यस्तै नेपालमा  जेनिसा खड्का, आलोक नेम्वाङ, लगायत अन्य चर्चित व्यक्तिहरुले पनि आत्महत्या गरेका छन ।

मनोवैज्ञानिकहरु भन्छन् कुनै पनि मानिसले जीवनमा कुनै न कुनै बेला आत्महत्याको सोचाइ राखेको हुन्छ । मानव मस्तिष्कमा चौबिसै घण्टा राम्रा विचार मात्र सिर्जना हुँदैन । कतिपय वेला उसको मस्तिष्कमा आफ्नो जीवनको हरेक क्षणलाई समेट्न नसकी मृत्यु नै उसले मुख्य बाटो अपनाउन खोजेको बताउँछन । त्यस्तै आत्मबल कम्जोर हुने व्यक्तिहरुमा त्यस्तो सोचाइ उत्पन्न हुनसाथ ऊ तुरुन्त आत्महत्या गर्ने तर्फ लाग्छन् । आत्महत्याको सोचाइ गरिरहेको बेलामा साथीभाइ अथवा अन्य मानिसको भेटवार्ता र मनोरञ्जन तिर मनलाई मोड्दै  समयलाई टार्न सक्यो भने त्यो मानिस आत्महत्याबाट बच्न सक्छ भन्ने भनाई मनोवैज्ञानिकहरुको छ ।

यसरी आत्महत्याको क्रम बढिरहँदा एउटा प्रश्न सधै अपुरो रहने गर्दछ । आखिर किन गर्छन् मानिसहरूले आत्महत्या ? आत्महत्या गर्ने कारणहरुमा गरिवी, पारिवारिक कलह, अधुरो प्रेम, आर्थिक अभाव र जीवनमा असफलताजस्ता मानसिक तनावका कारणले मानिसहरु आत्महत्या गरेको देखिन्छ । यस्तै उच्च जीवन शैली कायम राख्न नसक्दा, व्यापारिक घाटा, आर्थिक समस्या, आफन्तको मृत्यु, दैवीप्रकोप, आत्मसम्मान घट्दै गएको अवस्थामा पनि आत्महत्या गरेको पाइन्छ । एक्लोपन, गल्ति वा अपराध वोध, ज्यादा महत्वकांक्षा, प्रेममा धोका, दीर्घरोगी, नकारात्मक सोच, महिलाको अस्तिवमा पर्ने चोट पीडाहरु पनि आत्महत्याको कारण रहेको देखिन्छ । यसरी समस्या देखिने तर समस्याको समधान गर्न नसक्दा कतिपय मानिसहरु आफ्नो जिबनलीला आत्महत्याद्वारा समाप्त परेको भेटिन्छ । तर हामीले बुझ्नैपर्ने कुरा के हो भने संसारमा समस्याको जन्म हुनुभन्दा पहिला नै त्यसको समाधानको पनि जन्म भएको हुन्छ । हरेक समस्याको समाधान छ, हामीले समस्यासँग सामना गर्न सक्नु पर्छ । आत्महत्यालाई समस्या समाधानको माध्यम बनाइनु हुँदैन । आत्महत्या गरेर गयो भने मान्छेको जीवन समाप्त हुन्छ समस्या समाधान हुँदैन । अत: समस्या समाधान गर्ने, समस्याको हल खोज्नेतिर ध्यान दिनु पर्दछ । यदि त्यसो गर्न सकिएमा कसैले पनि अनाहकमा अकालमा देह त्याग अर्थात आत्महत्याको बाटो रोज्ने छैनन् ।

पर्वत, हाल इजरायल


SHARE THIS

Author:

Facebook Comment