क्राइमचेक प्रतिनिधि/
वीरगंज, २४ फागुन/आज महाशिवरात्री ! सम्पूर्ण देवी देउताका पनि देउता अर्थात महादेवको पूजा गर्ने दिन । संसारभरका हिन्दूहरूले आजका दिन विशेष रुपले भगवान शिवको पूजा अराधना गर्दै महाशिवरात्री मनाइरहेका छन् । नेपालका हिन्दूहरू पनि देशैभरी आराध्यदेव शिवको पूजाआजा गर्दै शिवपूजा गरिरहेका छन् ।
विहानै नुहाई धुवाई गरेर चोखो भई व्रत बस्ने, विभिन्न शिवालय, देवालयलगायतमा रहेका शिव मन्दिरहरूमा गई विधिपूर्वक पूजा गरी जल चढाउने श्रद्धालु र दर्शनार्थीहरूको घुँइचो लागेको छ ।
वीरगंजस्थित अलखियामठ शिवालय, रौतहटको शिवनगर, काठमाण्डौको पशुपतिनाथ मन्दिर, पर्साको भाठा, लगायत देशभरीका मन्दिरहरुमा पूजा आजा गर्न जाने दर्शनार्थीहरूको भीड लाग्ने गरेको छ ।
त्यसरी नै वीरगंजको मुटु मानिने गहवामाई स्थान मन्दिर पनि एक हो । यस मन्दिर परिसरमा रहेको शिव मन्दिरमा पनि पूजा गर्न आउने दर्शनार्थीको संख्या उल्लेख्य हुन्छ । आजको दिन पनि हजारौं दर्शनार्थीहरू गहवामाई मन्दिरमा पूजा गर्ने र सोही मन्दिरमा रहेका शिवको दर्शन गर्न उद्देश्यले विगतका वर्षहरूमा आउने क्रम जारी रहेपनि आजको शिवरात्रीमा गहवामाई मन्दिरमा पूजा गर्न आउने दर्शनार्थीहरूलाई स्थानीय प्रशासनको आदेश र प्रहरीकै सक्रियतामा दर्शनार्थीहरूलाई अवरोध खडा गरिएको छ । महिला श्रद्धालुलाई बढी गाह्रो भएको थियो ।
विहान ४ बजेदेखि नै श्रद्धालु भक्तजन र दर्शनार्थीहरूको भीड लाग्ने गरेकोमा माइस्थान मन्दिरको मूख्य चोकमै फिल्म सुटिङको टोलीले गीत छायांकन गर्न भनि बाटो नै अवरुद्ध हुने गरी पूजा गर्ने मूख्य समयमै श्रद्धालुहरूले सास्ती खेप्नु परेको छ ।
माइस्थान चोकदेखि पूर्व करिब २०० मिटरपूर्वसम्म फुटपाथ र मूख्य सडक नै अवरोध गरेर सुटिङ गर्न थालिएपछि माइस्थान मन्दिरमा पूजा गर्न जाने श्रद्धालुहरूले निकै सास्ती खेप्नु परेको थियो । सुटिङ युनिटलाई पर्सा प्रहरीको सुरक्षा भएपनि दशनार्थीहरूलाई अवराध गरिएको स्थानीयहरू बताउँछन् ।
देश संवैधानिक रुपमा हिन्दू धर्म निरपेक्ष भइसकेको खण्डमा पनि अर्काको धर्म संस्कृतिका साथै आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकारको हनन नहोस् भन्ने तर्फ सबै सचेत रहनुपर्ने संवैधानिक व्यवस्थालाई तिलाञ्जली दिंदै पर्साका प्रशासनबाट हिन्दू धर्मको पूजा पाठमा अवरोध हुने गरी बाटौमै फिल्म सुटिङ गर्नेहरू प्रशानिक सुरक्षा दिनु निकै बिडम्बना र दु:खद कार्य भएको हिन्दूहरूको भनाई छ ।
माइस्थान मन्दिर, वीरगंज |
देशमा गणतन्त्र स्थापनाकालदेखि नै सरकारी संयन्त्र र प्रशासनिक निकायबाटै हिन्दू आस्था र जनसाधारणको व्यक्तिगत आस्था र बाँच्न पाउने अधिकारमा प्रहार हुने कार्यले निरन्तरता पाउँदै आएको प्रति जनताहरूले दु:ख प्रकट गरेका छन् ।
यस विषयमा प्रतिकृया लिन पर्साका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।