सन्तोष मिश्र
सन्तोष मिश्र |
मूर्खहरुको हातको शासन र बाँदरको हातमा नरिवल एकै हो भनिन्छ । इतिहास जबरजस्ती मेटाएर मेटाउन सकिंदैन । इतिहासबाट पाठ नसिक्नेले संसारमा केही गर्न र देख्न सक्दैन । अग्रज पूर्खाहरूको आदर–सम्मान नगर्ने, उनीहरूको आदर्शकार्यलाई भुल्नेहरूबाट वर्तमान समयमा उल्लेख्य उपलब्धी पाउनै सकिंदैन । विनाशकाले विपरित बुद्धि भएका, यहि नेपालमा रहेका अगुवा भनाउँदाहरूबाट पृथ्वीनारायण शाहप्रति हुनुसम्मको अक्षम्य गल्ती भइसकेको छ । पूर्वाग्रह, संकिर्णता मनमस्तिष्कमा राखेर कसैले पनि आत्मउन्नति गर्न र आत्मसन्तुष्टी पाउन सक्दैन ।
देश र जनतालाई महत्वपूर्ण योगदान दिने जो कोहीको नाम बदनाम गर्ने, उनीहरूको सम्मान नगर्नेले आफूले पनि सम्मानित हुन सक्दैन । राष्ट्रभित्र रहेका जनताहरूको भीडमा सबैले ऐतिहासिक योगदान दिने र सम्मानित हुने अवसर पाउँदैनन् । पृथ्वी नारायण शाह नेपाली अस्तित्वका प्रतीक हुन् । इतिहासका महापुरुष हुन् । नेपाल र नेपाली रहेसम्म पृथ्वी नारायण शाहको कृति मेट्न र भुल्न सकिंदैन । जो नेपालीले पृथ्वी नारायण शाहको नाम लिन सक्दैन, ऊ सक्कली नेपाली हुनै सक्दैन । बाटो मानिसले बिराउँछ, गल्ती मानिसबाटै हुन्छ । गल्ती सच्याउँदै हिंडेमा उसले सार्थकता र सफलता पाउँछ ।
पृथ्वी नारायण शाह गोरखाका राजा हुन् । त्यतिखेरको बाइसी चौबीसी स–साना राज्यहरूलाई राष्ट्रिय एकीकरण गरेकाले पृथ्वी नारायण शाहलाई बडामहाराजाधिराज भनि स्तुत्य गरिन्छ । वर्तमान नेपालको निर्माता पृथ्वी नारायण शाह नै हुन् । विश्व इतिहासमा नेपाल कुनै पनि दिन कुनै पनि देशको उपनिवेश बनेको छैन । श्री ५ पृथ्वी नारायण शाह शाह वंशीय राजा हुन् । नेपालमा शाहवंशीय राजतन्त्र २३८ वर्षसम्म कायम रह्यो । २०६३ सालमा संवैधानिक शाहवंशीय राजतन्त्र जनआन्दोलनद्वारा अन्त्य गरियो । अन्तिम राजा श्री ५ ज्ञानेन्द्र अपदस्थ भएका छन् ।
यसअघि २०५८ साल जेठ १९ गते राजदरबार हत्याकाण्डमा राजपरिवारका १९ जनाको हत्या भयो, राजा वीरेन्द्रका वंशनाश भयो । अहिले नेपालमा नेपालको संविवधान २०७२ जारी छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था छ तर पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन । नेपालको राजनीतिक अवस्था एकदम तरल छ । संक्रमणकाल लम्बिरहेको छ । नेपालकै भू–भाग समग्र तराइ मधेश आन्दोलित छ । पृथ्वी नारायण शाहको नेतृत्वमा हामी सम्पूर्ण नेपालीहरूको पूर्खाको साथ र सहयोगमा आर्जिएको स्वतन्त्र नेपाल राष्ट्रमाथि आहिले आन्तरिक कलहका साथै चौतर्फि विदेशी हस्तक्षेप बढिरहेको छ । यस्तो विषम परिस्थितिमा पुस २७ गते पृथ्वी नारायण शाहको संझना र सम्मानमा राष्ट्रिय एकता दिवसका रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानको तत्वाधानमा पृथ्वी जयन्ती र राष्ट्रय एकता दिवस मनाउने जुन तयारी भएको छ यो सम्पूर्ण देशवासीहरूकोलागि अहोभाग्य हो । देशभरका सम्पूर्ण इमान्दार देशभक्त नेपालीहरू यतिखेर हर्षित छन् । भव्यताकासाथ हर्षोल्लासपूर्वक पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन जुटेका छन् । यस दिवसले सकारात्मक सन्देश दिने नै छ, यसमा कसैले विवाद गर्छ, पूर्वाग्रही तरिकाले इतिहासलाई भुलेर विरोध गर्छ भने ऊ नेपालको वफादार सिपाही बन्न सक्दैन । प्रत्येक नेपाली राष्ट्रियता भएका नेपाली नेपालका पहरेदार र सिपाही हो । नेपालमाथि धावा बोल्ने जोकोहीलाई मारेर मात्र ऊ आफू मर्छ । आइलाग्नेमाथि जाइलाग्ने नेपाली वीरताको संस्कार र संस्कृति हो ।
गोरखाबाट नयाँ नेपालको विस्तार गर्ने विस्तार भएकोले नेपालीहरूले गोर्खाली भनेर पनि विश्वमा पहिचान राखेका छन् । नेपाली भू–भाग हिमाल, पहाड, तराइमा बस्ने पहिचान भएको १२८ जातजाती र १२३ वटा भाषाभागी नेपाली हुन् । उनीहरूबीचको एकता नै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सार्थकता हो । पृथ्वीनारायण शाहको “चार वर्ण छत्तीस जातको साझा फुलवारी नेपाल” भन्ने दिव्योपदेशको गलत अर्थ लगाइनु हुँदैन ।
आधुनिक नेपालको निर्माण नै पृथ्वी नारायण शाहको विशेष पहलमा भएको हो । पृथ्वीनारायण शाह नेपाली राष्ट्रियता भएका सम्पूर्ण नेपालीकालागि आदरणीय छन्, उनी नेपालका संस्थापक र र शाहवंशीय राजाहरू संरक्षक हुन् । नेपाली राष्ट्रियता, नेपाली स्वाभिमान र नेपालको स्वाधीनताको गौरब पृथ्वी नारायण शाह हुन् । देशका विभिन्न स्थानमा बनाइएका पृथ्वीनारायण शाहको शालीक ढालिए पनि पृथ्वी नारायण शाहको अदम्य साहस, विशिष्ट राष्ट्रिय योगदान ढलेको छैन । विश्व इतिहासमा नेपालको नाम लिंदा पृथ्वी नारायण शाहलाई कुनै पनि हालतमा बिर्सिन सकिंदैन । बिर्सिएको खण्डमा नेपालको अधुरो र अपुरो हुन्छ । पृथ्वी नारायण शाह मरेर गएपनि नेपालरहेसम्म नेपाली राष्ट्रियता बाँचेसम्म युगौं युगसम्म राष्ट्रनिर्माता पृथ्वी नारायण शाह र उनको नाम अमर रहिरहने छ ।
पृथ्वी नारायण शाहले एकीकरणको जग हालेको नेपाल राजा बहादुर शाहको पालामा आइपुग्दा विशाल थियो । अहिलेको भारतमा रहेको पूर्वमा तिष्टादेखि पश्चिममा काँगडा र दक्षिणमा गंगासम्म वृहत्त नेपालको क्षेत्रफल थियो । नेपाल–ब्रिटिस–इण्डिया (इस्ट इण्डिया कम्पनी)सँग भएको युद्ध र सन् १९१६ मा भएको सुगौली सन्धी पश्चात नेपालले ठूलो भू–भाग गुमाउनु पर्यो । सुगौली सन्धिपश्चात साँधसिमाना लगाइएको बचेखुचेको ठूलो भूभाग पनि निरन्तर रुपमा भारतीय विस्तारवादले अतिक्रमण गरिरहेको छ ।
पृथ्वी नारायण शाहको दिव्योपदेश नेपालको कुटनीतिलाई भुलेर पछिल्ला नेपालका शासक/प्रशासकहरू सम्झौता परस्त, भारतपरस्त बन्दै गइरहेका छन् । पृथ्वी नारायण शाहले खडा गरेको नेपाली राष्ट्रवादमाथि अहिले खतराको घण्टी बजिरहेको छ । परम आदरणीय शूरवीर शासक पृथ्वीनारायण शाहको दिव्योपदेश नेपालको शक्ति र भक्ति दुबै हो । दिव्योपदेशको जगमा उभिनु भनेको यथार्थताको धरातलमा उभिएर नेपाल र नेपालीको इमान्दार तरिकाले सर्वोत्तम हित रक्षा गर्नु हो । पृथ्वीनारायण शाहको दर्शन दिव्योपदेश कुनै महान दार्शनिक र विचारकभन्दा कम छैन । पृथ्वी नारायण ईश्वरका वरदान पाएका सत्यवादी राष्ट्रभक्त थिए । उनको बोली र व्यवहारमा सामिप्यता थियो । बोलेको कुरा व्यवहारमा उतार्न सक्ने इच्छाशक्ति, कठोरप्रतिवद्धता पृथ्वीनारायणमा थियो ।
वर्तमान पुस्तालाई स्कूल र क्याम्पसका विद्यार्थीहरूलाई उनको जीवनी, योगदान र दिव्योपदेशको व्यापक शिक्षा र ज्ञान दिनु पर्दछ । प्रत्येक वर्ष मुलुकका कुना कुनासम्म भव्यतापूर्वक पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस सार्वजनिक विदासहित मनाइनु पर्दछ । पृथ्वी जयन्ती मनाउन गणतन्त्रवादी, बहुदलबादी राजनीतिक नेताहरू संकिर्ण हुनुहुँदैन । उदारतापूर्वक नयाँ नेपाल निर्माण गर्ने अठोटका साथ दलहरूले सर्वोपरी राष्ट्रिय स्वार्थकै रुपमा पृथ्वी जयन्तीलाई स्वीकार गर्नु पर्दछ । तबमात्र पृथ्वीजयन्ती औपचारिक रुपमा मनाएको ठहरिने छ । एकता दिवसले वर्तमान पहाड–मधेशको द्वन्द्व, राष्ट्रवादी नेपाली बीचको वास्तविक एकता कायम गर्न सक्दछ । नेपालको राष्ट्रियतामाथि भारतको गिद्धे दृष्टि रहुञ्जेल पृथ्वी नारायण शाहको आत्माले चीर शान्ति पाउँदैन ।
भारतले नेपालजस्तो सानो छिमेकीलाई सके आफैंमा विलय गराउने, नसके हस्तक्षेप, नियन्त्रण र प्रभाव बढाइराख्ने कार्यनीति, रणनीतिलाई निस्तेज पार्न पृथ्वीनारायण शाहको दिव्योपदेश एउटा बलियो अस्त्र सावित हुन सक्दछ । नेपालको परराष्ट्र नीति छैन, नेपालीहरूबीचमा राष्ट्रिय एकता छैन जस्तो वर्तमान अवस्थाले राष्ट्र असफल, कमजोर र भ्रष्ट बन्दै गइरहेको छ । राष्ट्रअसफल, कमजोर र भ्रष्ट हुनु भनेको नेताहरूको अशान्ति हुनु भनेको राष्ट्रको अस्तित्व समाप्त हुनु हो ।
अहिलेको भारत ब्रिटिस उपनिवेश थियो । अहिलेको भारतमा ५४२ वटा साना–ठूला राज्य अस्तित्वमा थिए । सन् १९४७ मा २०० वर्ष पछि भारतको ब्रिटिस उपनिवेशबाट मुक्ति भएको हो । भारत स्वतन्त्र भएपछि सुगौली सन्धीबाट गुमेको भू–भाग स्वत: फिर्ता हुनुपर्ने थियो तर भएको छैन । भारतकै उक्साहटमा तराइ मधेश छुट्टै राज्यको माग समेत सार्वजनिक भएको छ । गुमेको नेपालको भू–भाग, अन्तर्राष्ट्रिय कानुन अनुसार भारतबाट फिर्ता लिन तराइ–मधेश, पहाड र हिमालका नेपाली जनताहरू एक ढिक्का भएमा पृथ्वी नारायण शाहले एकीकरण गरेको नेपाल समृद्ध, र शक्तिशाली बन्न सक्नेछ ।
पृथ्वनारायण शाहले भौगोलिक एकीकरण गरे, उनका सन्तान शाहवंशीय राजाहरुले भावनात्मक एकीकरण गरे र भूगोलको रक्षा समेत गरिरहे, तर अहिलेका कथित गणतंत्रवादीहरुको लहलहैमा लागेर हामी भौगोलिक र भावनात्मक एकतालाई बिथोलिइरहेका छौं ।
यस्तो अवस्थामा हामीले पृथ्वीनारायण शाहको योगदानमात्रको खिल्ली मात्र उड़ाएका छैनौं, सिंगो नेपाललाई विभाजनमा पनि सहयोगी भूमिका निर्वाह गरिरहेका छौं । तरपनि यसपटक पृथ्वी जयन्ती मनाउन आ–आफ्नो तह र तप्काबाट जजसले भूमिका निर्वाह गर्दै आएका छन्, उनीहरू धन्यवादका पात्र छन् । राष्ट्रिय एकता कायम गर्न, राष्ट्रलाई बचाउन, बलियो बनाउन, देशका सच्चा पहरेदारहरूलाई सहयोग गर्नु, आफ्नो पनि सहभागिता जनाउनु प्रत्येक नेपालीको कर्तव्य हो ।
अन्त्यमा हामी सबैलाई राष्ट्रिय पहिचान दिएर एक ढिक्कामा बाँधी समृद्ध नेपालको एकीकरणका महान नायक राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्मजयन्तीको अवसरमा क्राइम चेक साप्ताहिक परिवारको तर्फबाट हार्दिक श्रद्धा सुमन अर्पण गर्दै राष्ट्रिय एकता दिवसको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना ।
(प्रकाशन मितिः२०७२ पुस २३ गते)