–ज्ञानमणि नेपाल
नेपालीको मनमा अद्वितीय जागरण राष्ट्रियताको भावना जनताप्रतिको असीम आस्था समर्पण भाव उद्वेलित हुन् नसकेको भए नेपाल एकीकरण हुन् सक्थेन । मुगल र अँग्रेजको शक्तिलाई हाँक दिंदै र परास्त गर्दै हामी नेपाली हुन पुगेका थियौं । त्यसताका विदेशका राजनीतिकर्मी र व्यापारी, व्यवसायीलाई नेपाल प्रवेश निषेध गरिएको थियो । यस्तो हुदा पनि चीनसँगको युद्धको वेग रोक्न कर्णेल विलियम कर्कपेट्रिक (वि.सं. १८४९) र पछि नेपालमा चीनको प्रभाव रोक्ने उद्देश्यले कर्णेल विलियम डगलस नक्स (वि.सं.१८५९ देखि १८६० सम्म) गरी दुई जना विदेशी कूटनीतिकर्मीले नेपाल प्रवेश पाएका थिए ।
कर्कपेट्रिक आइपुग्नुभन्दा पहिल्यै चीनसँग सम्झौता भइसकेको हुँदा उनलाई नेपालमा एक महिना पनि बस्न नदी फिर्ता पठाइयो । कर्णेल नक्सले त इष्ट इण्डिया कम्पनीको कोठी खोल्न भनी त्यस बेलाका मुख्य शासक दामोदर पाण्डेहरूसँग लाख नेहोरा गर्दा पनि र मागे जति पैसा दिने लोभ देखाउँदा पनि सफल भएनन् । नेपालका राष्ट्रप्रेमी देशभक्त शासकबाट उल्टै दुत्कारिँदा तिरस्कृत भएर वर्षदिन पुग्दा नपुग्दै बिदा गरिए । पछि नेपाल–अंग्रेज युद्ध हुँदा नेपालको सुदूर पश्चिमको युद्धमोर्चा सम्हालेर बसेका बूढाकाजी वीर अमरसिंह थापालाई अंग्रेज अधिकारीले “किन युद्ध लडेर व्यर्थै जनधन गुमाउँछौ, आओ हामीसँग मिल, तिमीलाई तिमीले जिते जति पश्चिमी भूभागका राजा बनाइदिन्छौ” भने ।
अंग्रेजको यो प्रस्ताव बूढाकाजीले ठाडै अस्वीकार गरेर भने, हेर, आफ्नो राजा आफ्नो राष्ट्रको निकमहराम भएर गुलाम राजा हुनुभन्दा यस युद्धभूमिमा सके जितौंला नसके देशको बफादार इमानदार भएरै वीर सिपाही सरह वीरगति प्राप्त गरौंला । ब्रिटिस कम्पनीका अधिकारीले यस्तै साम, दान, दण्ड, भेद प्रयोग गर्दै भारतका धेरै राजा रजौटा नवावहरूलाई आफ्ना अधीन बनाएका थिए ।
पहिलेको पृथ्वीनारायणसँगको युद्धमा हार खाएपछि यस्तो प्रयोग गर्न भरमग्दुर प्रयास गरेकै हुन् तापनि वीर नेपालीहरूको असीम देशप्रेम उत्कट राष्ट्र भक्ति राष्ट्रियताका अगाडि ती प्रयोग ब्यर्थै भए । नेपाली शासकले त्यसबेला सर्वत्र स्वतन्त्र सार्वभौम सत्ता सम्पन्न राष्ट्रको ठूलो मान मर्यादा शानसौकत राखेको गौरव बढाएको थियो । तिनका अगाडि अहिले देशका शासकलाई के भन्ने ? यिनको तुलना नै गर्न गाह्रो छ । यिनले आफ्नो शासकीय गुण गौरव त राखेनन् राखेनन्, देशको मान मर्यादा राष्ट्रियतालाई पनि मटियामेट पार्न लागेका छन् ।
समयको क्रममा राजनीति चातुरी र कूटनीतिक खेलमा पछाडि पर्दा पछि नेपालको अग्रेजसँगको युद्धमा हार भयो । नेपालले आठ बुँदे सुगौली सन्धिमा हस्ताक्षर गर्नुपर्यो । फलस्वरूप वि.सं. १८७३ देखि अंग्रेज रेजिडेन्ट नेपालमा रहने प्रथाको सुरुआत भयो । तत्कालीन बेलायती सरकारको कूटनीति भनेको नेपालको संस्कृति र इतिहास बिगार्ने, विभेदका भावना बढाउने राष्ट्रवादी शक्तिलाई समाप्त पारेर नेपालको राष्ट्रियता कमजोर पार्ने नै थियो । तर पनि नेपाली अन्तर्मनमा राष्ट्रियताको चुरो मर्नेवाला थिएन ।
भीमसेन थापाले पछिल्लो कालमा आफ्नो भतिजाको नेतृत्वमा एक प्रतिनिधिमण्डल बेलायत पठाए । आठ सदस्यीय यस प्रतिनिधि मण्डलमा जङ्गबहादुर पनि थिए । कलकत्ता पुगेपछि प्रतिनिधि मण्डललाई बेलायतले राजप्रतिनिधिका रूपमा होइन, साधारण यात्रुका रूपमा व्यवहार गर्ने भयो भने पछि सो प्रतिनिधिमण्डल बेलायत नगई फर्केर आयो । देशको इज्जत मानमर्यादा नरहने भो भनेर ।
एकपल्ट जङ्गबहादुर गभर्नर जनरल भेट्न कलकत्ता गए । त्यसबेला तिनको राजधानी त्यहीँ थियो । गभर्नर जनरलसँग भेटमुलाकात र भलाकुसारी भयो । फर्केर आएपछि प्रत्युत्तरमा गभर्नर जनरल पनि जङ्गबहादुरलाई भेट्न आउने भए । आउनुभन्दा अगाडि नै परराष्ट्र सचिव आएर शिष्टाचार सिकाएर गए । यो पनि भने कि गभर्नर जनरललाई आउँदा तल फाटक बाहिरसम्म गएर सम्मानसाथ ल्याउनुपर्छ आदि । नभन्दै गभर्नर जनरल आउने बेलामा उनी आफंै म लिन जान्छु भनेर घोडा लिएर हिँडे । गभर्नर जनरल आइपुगे, आवासमा जङ्गबहादुर छैनन् । पछि हतारिँदै जङ्गबहादुर आइपुगे । ए म ता आवाससम्मै लिन जाऊँ भनेर हिँडेको त बाटो बिरिएछ भन्दै साखिलै बने । यसरी उल्टै आघा घन्टा पर्खाइदिए । गभर्नर जनरल बेलायत सरकारको प्रतिनिधि, म स्वयं प्राइमिनिष्टर हुँ भने उनलाई मैले किन स्वागत गर्न तलसम्म जाने भन्ने भाव जङ्गबहादुरमा थियो । उनले आफ्नो राज्य कालभर मानमर्यादा कायमै राखे, राज प्रतिनिधिकै सलामी पाए, ब्रिटिस अधिकारीले चाहेका सन्धिसम्झौता टारेरै छाडे ।
वीरशमशेरले अंग्रेज सरकारका सबै माग पूरा गरे । उनले चाहेका सन्धिसम्झौता पनि गरिदिए । तर उनले त्यस्तो मानमर्यादा पनि पाएनन् र राख्न पनि सकेनन् । यहाँसम्म कि सामान्य सत्कार र उचित सलामीसम्म पनि दिइएन । साधारण भारतीय रजौटासरहको व्यवहार उनलाई गरियो । यसबाट उनी अति नै दु:खी थिए । वि.सं. १९६७ को वैशाखदेखि बेलायतमा जर्जपञ्चम राजा भए । सो उपलक्ष्यमा दिल्लीमा दरबार लाग्यो । त्यस समारोहमा आमन्त्रित भएर नेपालबाट चन्द्रशमशेर गएका थिए । समारोहस्थल हलमा भारतका राजा रजौटा नवावहरूको पंक्तिमा चन्द्रशमशेरको स्थान निर्धारित गरिएको रहेछ । त्यो देखेर चन्द्रशमशेरले आफ्नो सिट छुट्टै पर सार्न लगाएर एक्लै बसे ।
कूटनीतिज्ञले त बुझिहाले, नबुझ्ने र सोध्नेलाई उनले भने, उहाँहरू ठूला बडा राजघरानाका राजाका पंक्तिमा म प्राइमिनिष्टर बस्न अयोग्य छु । पछि अंग्रेज अधिकारीसँग तपाईहरूको यस्तै व्यवहारले हामीलाई खिन्न तुल्याएको छ । मेरा दाजु वीरशमशेर तपाईहरूकै यस्तै रवैयाले गर्दा अपमान बोधको पीर खप्न नसकी चाँडै स्वर्ग भएका हुन् सम्म भनेका थिए ।
अन्तिम राणा प्राइमिनिष्टर मोहन शमशेर पनि आफ्नो मानमर्यादा कायम राख्न बहुतै ख्याल राख्थे । उस्तै थिए बीपी । परन्तु, अहिले यो क्रम भङ्ग भएको छ । नेपाली प्रधानमन्त्रीको विदेशमा त्यस्तो कुनै इज्जत मानमर्यादा राखिँदैन । उनीहरू वीरशमशेरका उत्तराधिकारीका रूपमा देखिन थालेका छन् । अहिले प्रधानमन्त्रीलाई स्वागत सत्कार गर्न सामान्य कर्मचारी वा सामान्य मन्त्री आउँछन् । देशका शासक मन्त्री प्रधानमन्त्रीको मानमर्यादा हुनु भनेको उनको मात्र होइन, देशको नै इज्जतको प्रतिष्ठाको सवाल हो । अहिलेका नेताहरूमा देशको छवि चम्कियोस् इज्जत बढोस् भन्ने कसैको चिन्ता छैन, त्यसतर्फ प्रयत्न पनि छैन ।
आफ्नो सत्ता स्वार्थ प्राप्ति हुन्छ भने जेसुकै भन्न गर्न तम्सन्छन् । सामान्य विदेशी कर्मचारीसँग पनि बडेबडे नेता हौं भन्ने पनि निहुरिन्छन् । खुसामद गर्न दौडिन्छन् । हाम्रो राष्ट्रियता दिन परदिन कमजोर बन्दैछ । देशको इज्जत प्रतिष्ठा घट्दो छ । राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक आदि सम्पूर्ण क्षेत्रको स्थिति पनि यसरी नै खस्कँदो छ । सबैतिर लथालिङ्ग छ, देश कहाँ पुग्ने हो ? बडो चिन्ताको विषय छ ।
– प्रकाशित मितिः २०७२ फागुन ०६ गते बिहीवार