समस्या कोइरालावादमा कि गिरिजा प्रवृत्तिमा ?

–मिन बहादुर थापा
नेपाली काँग्रेसमा मूल समस्या भनेको कोइराला वंशवाद या थर, जातको होइन कोइरालाहरुले पनि अरु जात थर जत्तिकै या त्योभन्दा पनि धेरै या उत्तिकै  राष्ट्र र नेपाली जनता र प्रजातन्त्रका लागि काम गरेका छन् उत्सर्ग भएका छन्, बलिदान दिएका छन् । मूल समस्या भनेको ०४६/०४७ पछाडी को राजनैतिक परिवर्तन पछाडीको पहिलो जननिर्वाचित प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालामा जुन प्रवृत्ति मईमत्त भएर आयो त्यसले प्रजातन्त्र र सुशासनलाई ओझेलमा पार्दै भ्रष्टाचारलाई बढाउने काम गर्यो । सिंगो पार्टी कोइराला जात थरले होइन गिरिजा प्रवृत्तिको कु विचार, कुसंस्कार र कुशासनले कोइराला परिवार जस्तो प्रजातन्त्रको पर्यायवाची बनेको परिवारलाई बदनाम गर्दै  सम्पूर्ण राष्ट्रलाई नै आतंकारी माओवादी र विदेशीको पोल्टामा हाल्ने काम गर्यो जसले राष्ट्र आर्जिने राष्ट्रपितालाई पनि अपहेलना गर्ने काम गर्यो ।

राष्ट्रको मूल सनातन हिन्दु धर्मलाई समाप्त गरी नेपाल राष्ट्रलाई पहिचानहिन बनाउँदै राष्ट्रका धरोहरहरु एक पछि अर्को सखाप पार्ने काम गरियो । नेपाली मात्रको एकताका प्रतीक राजसंस्थालाई नाश गर्ने काम  गरियो । के राजा ज्ञानेन्द्रले यदि गल्ति गरेका थिए भने त्यसको भागी, या दण्ड उनको नातीले पाउनु उचित हो त ?  गिरिजा प्रसाद कोइरालाले गरेको कुकर्मको भागी सम्पूर्ण कोइराला परिवारलाई दिनु कहाँसम्म न्यायोचित हुन्छ त ? 

अहिले बनेको संविधानमा राष्ट्रको पहिचान, शान र हाम्रा गौरबहरुलाई जानी जानी समाबेस गरिएको छैन । तसर्थ आजको मूल समस्या भनेको कुनै व्यक्ति, परिवार र जात थरको होइन, प्रवृत्तिको हो । यो प्रवृत्ति ०६३ साल पछाडी मुलुकमा डरलाग्दो रुपले हाबी भएर आएको छ जसलाई बिदेशीहरुले राम्रोसंग मलजल गरेका छन् । नेपाली कांग्रेस, एमाले, माओवादी, राप्रपा र जातीय क्षेत्रीयपार्टीहरु पहिले देखिनै यो फोहरमा डुबुल्की मरेका थिए । अहिले आएर राप्रपा नेपालदेखि चित्र बहादुर केसीसम्म यो दुर्गन्धमा डुबुल्की मरिरहेका छन् ।

देशलाई यो बर्तमान अवस्थाबाट पार लगाउने कुनै राष्ट्रबादी शक्ति अवस्य नै निकट भविस्य जन्मिन्छ नै । वर्तमान अवस्थामा सनातन हिन्दुवादी धर्म गुरु र विद्वानहरु चिन्तामणि योगी, चैतन्य कृष्ण, स्वामी चंद्रेश, रामकृष्ण उपाध्याय, स्वामी कमल नारायण आचार्य, पण्डित दिनबन्धु पोखरेल, विश्व हिन्दु महासंघ, नेपाली काँग्रेसका प्रभावशाली नेता खुम बादुर खड्का, हरिबोल भट्टराई लगाएत विभिन्न हिन्दुवादी दल र संघ सस्थाले खेलेको राष्ट्रवादी भूमिका अतुलनिय छ । यसले पक्कै केहि समयमा नेपालमा ठुलो राष्ट्रवादी आँधिबेरी को सृजना गर्ने छ ।

आज यो वर्तमान अवस्थामा नेपालको सबै भन्दा ठूलो प्रजातान्त्रिक राजनैतिक दलको निकट भविष्यमा महाधिवेशन हुँदै छ । अहिले नेपाली कांग्रेसका नेता शेर बहादुर देउवा लगभग यो दलको सभापति पदमा छानिनेमा निश्चित जस्तो देखिन्छ । बहुमत पार्टी प्रतिनिधि उनैको पक्षमा देखिंदै गएको अवस्था छ ।

यो राष्ट्रबादी धारलाई अब बन्ने नेपाली कांग्रेसका नेता शेर बहादुर देउवाले समेट्दै सिंगो नेपाली कांग्रेसलाई राष्ट्रवादी धारमा उभ्याई गिरिजाबाट भएको गल्तिलाई सुधार्दै गिरिजा प्रवृत्तिलाई सदाकोलागि पार्टीबाट समाप्त पारी बिपीवादलाई स्थापित गर्दै राष्ट्रलाई बचाउने बेला आएको छ । मुख्य गरेर नेपाली कांग्रेसका साथीहरुले आजको मूल समस्या भनेको कोइरलावाद, जात र थर होइन गिरिजा प्रवृत्ति हो भन्ने बुझे काँग्रेसले मात्रै होइन सिंगो राष्ट्रले निकास पाउने छ । सोहि अनुसारको नेत्रृत्व चयन गर्ने विवेक सबैमा पलावोस जय नेपाल, जय हिन्दु राष्ट्र नेपाल ।

(प्रकाशन मितिः २०७२ फागुन ०६ गते बिहीवार)

SHARE THIS

Author:

Facebook Comment