–समा श्री
कुनै पनि विधा वा क्षेत्रमा पुरस्कारले सम्मान जनाउँछ । जसले थप सिर्जना र योगदानकालागि प्रोत्साहन गर्छ । साहित्य, कला, विज्ञान, अनुसन्धानका क्षेत्रमा पुरस्कार दिने चलन छ । नयाँ खोज, नयाँ सिर्जनाको स्तर हेरेर पुरस्कार वितरण हुन्छ । यहि भएर नोबेल पुरस्कार जस्तो पुरस्कार पनि एकै व्यक्तिले दुई पटक पाएका छन् । अल्वर्ट आइन्सटाइन्, मेडम क्यूरी विज्ञानका त्यस्ता हस्ती हुन् जसले दुई पटक नोबेल पुरस्कार पाए । किनभने उनीहरुको खोजले अनुसन्धानको क्षेत्रमा ठूलो योगदान दियो ।
साहित्यमा पनि त्यस्तै छ । उचाल्दा भारी हुने उपन्यास लेख्नेले पुरस्कार नपाएका अनगिन्ती उदाहरण छन् । तर पातलो गीताञ्जलीले नोबेल पाएको छ । साहित्य सिर्जनामै बुढा हुने कैयन सर्जक नेपालमै छन् । तर ३४ वर्ष हुँदा अमर न्यौपानलेले मदन पुरस्कार पाए । उनको तीन वटा पुस्तक निस्केका छन्, अहिलेसम्म ती मध्ये दुईवटा पुस्कृत भएका छन् ।
योगदानको लेखाजोखा गर्दा नेपालको मदन पुरस्कार कहिले सीमाविद बुद्धीनारायण श्रेष्ठले पाएका छन्, कहिले कृषि प्राविधिक नरबहादुर साउदले, कहिले एक नर्सको डायरी “खलंगाको हमला”ले मदन पुरस्कार पाएका छन् । यी यस्ता उदाहरण हुन् जसमा पुरस्कार दिइनुको भित्री कारण चित्त बुझ्दो लाग्छ । बुद्धीनारायण श्रेष्ठले नेपालको सीमाना पुस्तकका लागि कति गहिरो अध्ययन अनुसन्धान गरेका रहेछन् भन्ने पुस्तक पढ्दा थाहा हुन्छ । १० वर्ष लगाएर ९४० पेजको “नेपालका बालीनाली र तीनको दिगो खेती” तयार पार्दा नरबहादुरले कति अध्ययन गरे होलान् ? अनुमान गर्न पनि गाह्रो हुन्छ । अर्थात पुरस्कार योगदानका लागि दिइयो भने त्यो पुरस्कारको गरिमा बढ्छ । पुरस्कार पाउने व्यक्तिको सम्मान हुन्छ । नत्र पहुँचका आधारमा दिइने सरकारी पुरस्कारजस्तै हुन्छ । ती पुरस्कार बायोडाटामा भर्न त काम लाग्छन्, तर जनस्तरमा वा समाजमा त्यसको खास महत्व रहँदैन ।
कसैले ठान्छन् पुरस्कारको राशीका आधारमा महत्व हुन्छ । मदन पुरस्कार दुई लाख रुपैयाँको छ । नोबेल पुरस्कार १० लाख डलरको छ । त्यो नोबेल पुरस्कार भन्दा बढी राशीका पुरस्कार पनि छन् विश्वमा । तर तिनको नाम हामी त्यति सम्झदैनौं । किनभने पुरस्कार दिनु पर्ने कारण स्पष्ट नभई दिइने पुरस्कार समाजमा स्थापित हुँदैनन् ।
आधुनिक विश्वका महान जीवीत वैज्ञानिकको नाम लिनु पर्दा अधिकांशले स्टेफेन हकिंन्सको नाम लिन्छन् । तर अचम्म अहिलेसम्म हकिन्सले नोबेल पुरस्कार पाएका छैनन् । तर हकिन्सको जीवन बैज्ञानिक अनुसन्धान र सक्रियतामै बित्न लागेको छ । जसको जीवन नै खोज अनुसन्धानमा बित्न लागेको छ, तर पनि उनलाई पुरस्कार नदिइनु अन्याय लाग्न सक्छ । तर यसरी भावनामा नोबेल कमिटी बहकिने हो भने नोबेल पुरस्कारको विश्वसनीयता केही वर्षपछि समाप्त हुनेछ । मदन पुरस्कार र नोबेल पुरस्कारलाई माथिल्लो तहका पुरस्कार मानेर एकछिन चर्चा अन्यत्र गर्ने हो भने पनि उल्लेख गर्नुपर्ने कुराहरु धेरै छन् । कतिपय पुरस्कारहरु भाग पुर्याउँन दिइन्छ । पुरस्कार दिने पनि त्यस्तै लिने पनि त्यस्तै हुँदा यस्ता घटनाहरु हुन पुग्छन् । भाग लगाउने चलन त गाउँघरमा खसी काटेपछि हुन्छ । पुरस्कारलाई भाग लगाउनु पुरस्कारकै अपमान हो । यस्तो चलन साहित्यमा पनि छ, अन्यत्र पनि होला ।
प्रजातन्त्रकालागि जीवन अर्पण गर्ने वीर शहीदलाई कहिले काहीँ सम्झन्छु । आजको दिनमा नेपालमा ९ हजार भन्दा बढी शहीद छन् । भीरबाट लडेका, रुखबाट झेरर मरेका, आपराधिक क्रियाकलापमा संलग्न अपराध गर्दागर्दै मरेकाहरुको नाम पनि शहीदहरुको सुचीमा छ । ती चार शहीदको आत्मा हरेक शहीद दिवसमा रुँदो हो, आफ्नो लहरमा त्यस्ता मानिसहरुको नाम पनि देख्दा । शहीदको प्रसँग किन जोड्दैछु भने जब जो कोहीको नाम शहीदमा राखिदिँदा वास्तविक शहीदको अपमान हुन्छ । जो कोहीलाई पुरस्कार दिने होभने त्यो पुरस्कारको गरिमा घट्छ ।
योगदानको मूल्यांकन नगरी बहकिएर पुरस्कार दिँदा अघिल्ला पुरस्कृतहरुको अपमान हुन सक्छ । पुरस्कार परिमाणका आधारमा होइन परिणामका आधारमा दिने चलन विश्वभर छ । परिमाणको मूल्यांकन गर्ने र परिणाम वा गुणस्तरको मूल्यांकन गर्ने निकाय नै फरक हुन्छ । उदाहरणकालागि धनको परिमाण फोब्र्स म्यागजिनले गर्छ । जसले विश्वका धनीहरुको सुची निकाल्छ । परिणाम वा योगदानको मूल्यांकन पुरस्कार दिने कमिटीले गर्छन्, जसबाट जर्ज बर्नाडा शा जस्ता हरितन्नमलाई पनि नोबेल पुरस्कार जान्छ । भलै शाले नोबेल पुरस्कारलाई “आलुको बोरा” भनेर लिएनन् ।
नाम उल्लेख गर्न चाहन्न तर एक जना स्रष्टा त्यस्तै हुनुहुन्छ । उहाँका कैयन कविता, मुक्तक मैले पनि पढेकी छु । तर सम्झनामा एउटा पनि छैन । सुनसरीका मनु मञ्जिलका कविता म खासै ओइरो लागेको देख्दिन । तर उनको एउटै “दुश्मन” सम्झन्छु । साहित्यको स्तर माथि बढाउँन असंख्य कविता, गजल, मुक्तक चाहिने रहेनछ । थोरै भए पनि गुणस्तरीय भए पुग्ने रहेछ भन्ने निष्कर्षमा पुग्न सकिन्छ । अनि अर्को तर्क पनि छ साहित्यमा पुरस्कार दिइनुमा–क्रियाशील वा सक्रिय । यो पनि पुरस्कार दिने निम्न कोटीको मापदण्ड हो । यो मापदण्ड स्थापित पुरस्कार दिँदा अपनाइदैन । यदि अपनाइन्थ्यो भने मेरो छिमेकी हजुरबुवाले बित्ने वर्ष मदन पुरस्कार पाउनु हुन्थ्यो । किनभने उहाँले ९९ वर्ष बाँच्नु भयो । केही साहित्यिक कृति पनि निस्के । साहित्यमा रुचिका कारण आजीवन साहित्यिक क्रियाकलापमा सक्रिय हुनुभयो । तर कुनै पुरस्कार पाउनु भएन । किनभने उहाँका कविता, कृतिहरु भानुभक्तिय रामायण शैलीका थिए । जुन अहिलेको स्तरमा गनिँदैनन् ।
साहित्यमा अभिरुची पुरस्कारको लालसाले उत्पन्न हुँदैन । पाँच हजार वर्ष अघि लेखिएको विश्वकै उत्कृष्ट महाकाब्य महाभारत लेख्ने बखत कुनै पुरस्कार थिएनन् । तर व्यासहरुले त लेखे । पुरस्कारले कहिले काहीँ महत्व नपाउनु पर्ने कृति पनि माथिल्लो दर्जामा पुग्छ । कहिले काहीँ राम्रो कृति पनि ओझेलमा पर्छ जस्तो लाग्छ । यो आधुनिक युगको ब्यथा पनि हो । पुरस्कारको लालसाले सिर्जना गरिनु हुँदैन भन्ने मेरो विश्वास अहिलेसम्म टुटेको छैन । सम्भवत नटुटला ।
( काठमान्डौ निवासी समा श्री हाल ईजराईलमा बस्दै आउनु भएको छ ।)
प्रकाशन मितिः २०७२ फागुन ०६ गते बिहीवार