–स्वयम्भुनाथ कार्की
करिव दश बर्षदेखि नेपालमा अनेकौ किसिमका प्रयोगहरु भए । हुन त प्रजातन्त्रको अभ्यासका नाममा यस्ता प्रयोगहरु पञ्चायतको लगत्तै पछिदेखि शुरु भएको थियो ।
त्यो कालखण्डमा राजनीतिको नाममा जनताको अधिकार दलको नाममा नेताहरुले अपहरण गर्ने हरेक माध्यम अपनाईयो । कानूनी बाटोबाट निर्वाचनको मध्यमबाट आएकाहरु महशुल, कर आदिमा वृद्धि गरेर जनताको शोषण गर्दै थिए । विद्रोहको बाटोवाट लिएकाहरु पनि जनताको आर्थिक भौतिक शोषणमा कसैभन्दा कम थिएनन ।
राजसंस्थाले आफ्नो पारंपारिक दायित्व पुर्नपरिभाषित गरेको थियो । जनतासंगको प्रत्यक्ष सम्वन्ध भन्दा बेलाईतको जस्तो केवल प्रतिक मात्र भएर लालमोहर लगाउने मात्र काम आफ्नो हो भन्ने सोचमा थियो ।
दरवारमा घटेको त्रासदीपुर्ण घटना वर्तमानमा पनि कसैकसैले आफ्नो राजनैतिक स्वार्थ्यको निमित्त उठाउने गरिएको पाईन्छ । यो घटनाको आरोप सबैले आआफ्नो सहुलियत अनुसार लगाईने गरेका छन ।
गरेको जसले होस, कारण जे सूकै होस । तर कसैले अस्विकार गर्न नसक्ने तथ्य के हो भने यत्रो षड्यन्त्रको समेत गन्ध नपाउने गरेर राज्य कर्तव्यच्यूत भईसकेको रहेछ ।
राजसंस्थाको पारंपारिक मान्यता र अवधारण आफ्नो राज्यमा हुनसक्ने सानोभन्दा सानो प्रतिकुल घटना रोकेर जनतालाई सुरक्षित राख्ने पनि हो । त्यही राजसंस्थाका प्रमुख सपरिवार समाप्त पार्ने षड्यन्त्र समेत सुध्न नसक्ने नेपालको राज्य व्यवस्था कति अयोग्य रहेछ भन्ने कुरा यसैबाट प्रमाणित हुन्छ ।
दाजुको स्थानमा शाहवंशिय परंपरा धान्न आएका राजा ज्ञानेन्द्रमा राजकाज सम्वन्धी ज्ञान शून्य हुनु उनको योग्यता भित्र पर्ने कुरा थियो । राजपरंपरामा स्वभाविक उत्तराधिकारी बाहेकका अन्य सदस्यले राजकाजमा चासो देखाउनु विद्रोहको लक्षण हुन्छ ।
त्यसमाथि पनि एक पटक शिशु मै गद्धिमा राखिईसकेका उनले राजकाजको सामने भन्दा सानो कुरामा पनि चासो दिन हुँदैन थियो । परिवारिक वज्रपात, मुलुकको कठिन अवस्था अनि जनताले पाएको हैरानी एकाएक भोग्न परेको वेलामा राजकाज सिक्ने उनिसंग समय पनि थिएन ।
यस्तो अवस्थामा उनले गरेका कतिपय कामहरुमा त्यो कमजोरीको छाँया पर्नु स्वभाविक नै थियो । जनताको र मुलुकको भलोको आफ्नो सोचको मुल्यांकन हुनेछ भन्ने आशा उनमा भएको भए त्यो बेठिक थिएन ।
उनको कार्यकाल भरी र उनलाई पाखा लगाईएपछि पनि उनलाई हमेशा कठघरामा खडा गरिएको छ । गणतन्त्रसंग असन्तुष्टहरु उनीलाई आशाको नजरले हेर्छन भने गणतन्त्रका पक्षधरहरु डरको ।
निर्मल निवास र त्यससंग सम्वन्धितहरुको हरेक कुराको कथा वर्तमानको सबैभन्दा ठूलो रोमाञ्चको विषय हुने गरेको छ । गोप्य कुरा भनेर सार्वजनिक हुने कुरा कति गोप्य हुन भन्ने छुट्याउन कुनै आईतवार पर्दैन ।
यी सबै आशा र डरको पछाडी केवल एक अनुमानको मात्र भूमिका छ त्यो हो उनमा पक्का गद्धिको मोह होला नै । यहि कुराको आधारमा गीरीजाले प्रस्तावित गरेको आलंकारीक वा शिशु राजा र कमल थापाले तोकेको संसदले नियुक्त गर्ने र बर्खास्त गर्ने राजसंस्था हुन ।
राम्रो गर्ने प्रयत्नमा भएका मानविय कमजोरीलाई आधार मानेर राजा ज्ञानेन्द्रले जेजस्तो ताडना भोग्नु पर्यो त्यसले उनी गद्धिको लालसामा होलान भन्ने कुरा सहज पच्दैन । हुन त राजनीति पेशा भएकाहरु सत्ताको निमित्त जे जसो पनि गर्न तैयार हुने गर्दछन र गर्छन पनि तर राजा र नेतामा हुने फरक नै यही हो ।
तै पनि उनले जनताको आशाको त्यान्द्रो भने कायम नै राखेका छन ‘जनताको इच्छा बमोजिम’ भनेर । राजा पाखा लगाईएको अहिलेसम्मको अवस्था हेर्दा यदि आशाको त्यो त्यान्द्रो पनि नभएको भए नेपालको अवस्था अफगानिस्थान लगायतका मुलुकको भन्दा भयावह हुने थियो ।
उनले देखाएको यही आशाको त्यान्द्रोले गणतन्त्र र गणतन्त्रका जन्मदाताहरु सास फेर्दैछन ।
राष्ट्रिय एकता दिवसको अवसरमा दिएको सन्देशमा उनी अव यो आशाको त्यान्द्रो कायम राख्ने पक्षमा छैनन भन्ने लाग्छ । विगतका बर्षहरुमा नेपाल निर्माताको वंशानुगुण बोकेको हैसयतमा आफ्नो दायरा र क्षमतामा भएको काम गरेर नेपाललाई ठूलो विग्रहबाट बचाएको कुरा वर्तमानले अस्वकार गरे पनि भविष्यले मुल्यांकन गर्ने नै छ ।
आफुलाई जनताको निर्णयमा छोडिसकेपछि पनि कोही अझै ‘राजा आउ, देश बचाउ’ र कोही ‘धमिलो पानीमा माछा मार्न खोजेको ’ भन्छ भने त्यो अवस्था उनलाई मञ्जुर छैन । त्यसैले आव्हान गरेका छन जनताले कसबाट कस्तो भूमिका खोजेका हुन प्रष्ट भन्नु पर्यो । यो प्रष्ट जनताले सडकबाट नै भन्नु पर्दछ ।
उनको यो सन्देशले स्पष्ट भनेको छ ,आवश्यकता भए सडकबाट बोलाउ । राजगद्धिका उनी स्वभाविक उत्तराधिकारी पनि हैनन , न उनले नेपालको राजा हुने सपना नै पालेका थिए ।
त्यसैले गद्धि पुन प्राप्त गर्न उनले कुनै प्रयत्न गर्नेछन भन्ने कुरा मान्न सकिन्न । आफ्नो मनलाई साँछी राखेर भन्ने हो भने नेपालको राजगद्धिले उनलाई पिडा बाहेक अरु केही दिएको पनि छैन ।
शाहवंशको परम्परा अनुसार आफुलाई कुनै जिम्मेवारी जनताले दिन्छ भने त्यो पुरा गर्छु भनेर भन्नु नै पनि ठूलो कुरा हो ।
जनताको आशा अनुसारको काम गर्न न गीरिजाको आलंकारिक राजाको दायराले दिन्छ न कमल थापाको संसदले नियुक्त र बर्खास्त गर्ने राजाको दायराले । त्यसैले राजसंस्था प्रति आशा वा डर मान्नुपर्ने कारण छैन जनताको इच्छा बाहेकको बाटो उनलाई स्विकार नभएको कुरा त्यो सन्देशले प्रष्ट गरेको छ ।
स्वयम्भुनाथ कार्की
विराटनगर १
२०७२।१०।१८
(गोरखा एक्सप्रेस)
लेखकलाई फेसबुकमा फलो गर्न तल उनको नाममा क्लिक गर्नुहोस्...
–स्वयम्भुनाथ कार्की