– दीपिका भुसाल
१० वर्षे जनयुद्ध, हजारौं नागरिकको बलिदानी, २०६२/०६३ को जन आन्दोलन र मधेश आन्दोलनलगायतबाट नागरिकले गरेको बलिदानी तथा दुई/दुई पटक संविधानसभाको निर्वाचन सम्पन्न गरिएपश्चात विभिन्न बाधा व्यवधान, खिचातानी, दलगत स्वार्थ र अव्यवहारिक नीतिका कारण अनिश्चित बन्दै आएको संविधान अन्यौलताका बीच दलहरूबाट हालै जारी गरिएको संविधानको मस्यौदापछि अब नेपालले संविधान पाउने लगभग पक्का–पक्की भएको छ ।
संविधान भनेको देशको मूल कानुन हो । त्यै मूल कानुनको अधिनमा रही राज्यबाट उपलब्ध नागरिकको हक र अधिकारको समान रुपले उपभोग गर्न पाउनु त्यस देशका प्रत्येक नागरिकको मौलिक अधिकार पनि हो । तर हालै जारी भएको संविधानको मस्यौदा विभेदपूर्ण देखिएको र त्यसबाट सबै नागरिकले समान रुपले नागरिकको हकको उपभोग गर्न पाउनबाट बञ्चित गरिएको छ ।
नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको कूल जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चारको झण्डै ५२ प्रतिशत संख्या अर्थात एक करोड ३६ लाख ४५ हजार चार सय ६३ जनसंख्या रहेको महिलाहरूलाई ३३ प्रतिशत संवैधानिक अंश दिएर महिलाअधिकारमाथि अधिपत्य जमाउने पुरुष अर्थात पितृसत्तात्मक मनोकांक्षालाई छरप्रष्ट पारेको छ ।
हिजोआज नेपालमा अव्यवहारिक र अबैज्ञानिक चिन्तन र व्यवहार देखिन थालेका छन् । हरेक कुरामा आधा आकाशको संज्ञा दिइने, एउटै रथको दुई पंग्राको संज्ञा दिइने, सृष्टि रचनाको आधा हिस्सेदार नारीहरू नेपालमा बारम्बार आफ्नो हक अधिकारबाट बञ्चित पारिंदै आएका छन् । केही महिना अघि सम्माननीय न्यायालयले आमाको नाममा नागरिकता दिइनुपर्छ भनि दिएको आदेशपछि पनि आधाभन्दा बढी जनसंख्या ओगटेका नेपाली महिलाहरू राज्यबाट प्राप्त अधिकारहरूबाट बञ्चित हुनेगरी संविधानको मस्यायैदा ल्याइएको छ ।
मुलुकमा तत्कालिन आतंककारी माओवादीको १० वर्षे जनयुद्ध, द्वन्द्वका कारण मुलुकका १७ हजार भन्दा बढी नागरिकले ज्यान गुमाए, हजारौं घाइते भए जसमा हजारौं बालबालिकाले आफ्ना बाबु गुमाउनु पर्यो । जनयुद्ध ताका आफ्ना बाबु गुमाएका बच्चाहरू यतिखेर युवावस्थामा पुग्न थालेका छन् । त्यस्तै विभिन्न कारण र पुरुषवादी तथा पितृसत्तात्मक मानसिकताबाट ग्रसित कतिपय बाबुले क्षणिक रमाइलोकोलागि नेपाली चेलीसँग नाटकीय विवाह, छलि विवाह गरेर बच्चा जन्माए र छोडिदिए । त्यस्तै नेपालकै पश्चिमी क्षेत्रका वादी समुदायका बालबालिकाहरू पनि आफ्ना बाबुको अनुहार हेर्न र नाम सुन्न पाएका छैनन् । महिला अर्थात नारीलाई विभिन्न प्रलोभन र मायाजालमा पारेर उनीहरूसँग विभिन्न खाले सम्बन्ध बनाई बच्चा जन्माएर छोडिजाने पुरुषहरूको संख्या नेपालमा धेरै छ त्यसको पछिल्लो प्रमाण नेकपा एमालेबाट मन्त्री बनेका कृपासुर पनि एक हो । महिलाहरूले आफूबाट भएको क्षणभरको सामान्य गल्तीको नतिजा जीवनभरि नै व्यहोर्नु पर्ने अवस्था छ । ती आमाहरू आफ्नो सर्वस्व गुमाएर, हरेक खुशी, हरेक इच्छा आकांक्षालाई त्यागेर आफ्ना सन्तानलाई हुर्काउने बढाउने, पाल्ने, शिक्षा दिक्षा दिने काम गर्छन् तर राज्यको गलत नीतिका कारण आफ्ना सन्तानलाई नागरिकता दिलाउन पाउँदैनन् ।
यसरी विभिन्न कारणले आफ्ना बाबु गुमाउन पुगेका बच्चाहरू यतिखेर युवाअवस्थामा पाइला टेक्न थालेपछि उनीहरू आफ्नो भविष्यको खोजीमा भौतारिन थालेका छन् । विधुवा अर्थात एकल महिलाका सन्तानहरुले आफ्नो आमाको नाममा नागरिकता नपाएकै कारण उनीहरू उच्च शिक्षा, जागिर, व्यवसाय तथा राज्यको सुविधा पाउनबाट बञ्चित हुन परिरहेको अवस्था सिर्जना भएको छ । १६ वर्ष पूरा गरेकाहरु नेपालीका सन्तानलाई राज्यले नागरिकताको प्रमाणपत्र दिने गरेको छ । तर दुर्भाग्य यो छ कि नेपाली युवाहरूलाई राज्यले उसको नागरिक हुनुको अधिकारबाट खोस्ने काम गरेको छ ।
संसारभरी नै यतिखेर महिलाअधिकारका कुरा, महिलाको योग्यताको कुराले किर्तिमानी कायम गरिरहेको अवस्थामा आमाको नामबाट नागरिकता प्रदान गरिएको खण्डमा आफ्नो अस्तीत्व खतरामा पर्ने मानिसक रोगले ग्रस्त वर्तमान नेपाली पितृसत्तात्मक सोंचले महिलामाथि अन्याय र थिचोमिचो गरेर आफ्नो बर्चस्व कायम गर्नेगरी पुरुषवादी संविधानको मस्यौदा ल्याएका छन् ।
नेपाली कानुन निर्माता भनिएका तथाकथित चारजना शीर्ष नेताहरू आमाको नामबाट नागरिकता प्रमाणपत्र दिंदा त्यसमा बाबुको नाम उल्लेख गर्न आवश्यक ठानेर सोही बमोजिम मस्यौदा ल्याएका छन् । यदी आमाको नाममा नागरिकता दिन थालियो भने दोश्रो दर्जाको नागरिकमा सूचिवद्ध महिलाहरूको वर्चस्व कायम भई पुरुष र महिला बराबर हुने त्रास उनीहरुले देखेका छन् । आफूलाई राष्ट्रवादी विचारधाराको भन्न रुचाउने केही व्यक्तिहरूका अनुसार आमाको नाममा नागरिकता दिइयो भने मुलुक फिजीकरण वा सिक्कीमीकरण हुनेहुँदा आमाको नममा नागरिकता दिनुहुँदैन भन्ने अडान लिई सोही अनुरुपको विचार प्रवाह गरिरहेका छन् ।
नागरिकता विधेयक २०६३ लागु गरिपश्चात वितरित लाखौं नागरिकताको ७५ प्रतिशत नागरिकता भारतीयहरूले लिएको तर्क गर्ने कथित राष्ट्रवादीहरूले आमाको नाममा नागरिकता दिने प्रावधान राखिएमा सोको फाइदा भारतीय पक्षले बढी लिने तर्क पनि गर्दै आएका छन् । उनीहरूका अनुसार नागरिकता नीति खुकुलो भएमा भारतीय सीमा क्षेत्रसँग जोडिएका क्षेत्रबाट विवाह गरी गएका नेपाली चेलीहरूका सन्तान, तराई मुलका नेपालीहरूका नातागोताका भारतीय नागरिकले पनि नेपाली नागरिकता प्राप्त गरी यहाँ आएर जीविका चलाउने, राजनीतिमा छिर्ने र विभिन्न राजनीतिक फाइदा उठाइ नेपालको राष्ट्रियतालाई खतरामा पार्ने तर्क दिन्छन् ।
हुन त माओवादी एवं मधेशवादी दलहरू आमाको नामबाट नागरिकता दिनुपर्ने विषयमा सकारात्मक देखिए पनि पहाडी मुलका नेता खास गरेर एमाले एवं राप्रपा नेपाललगायतका पार्टीहरूले विरोध गर्दै आएका छन् । केही वर्ष अघि आफ्नो जीविकोपार्जनका लागि भारतीयहरू नेपाल प्रवेश गर्थे त्यतिखेर नेपालको अवस्था राम्रो थियो, व्यवसाय, उद्योगधन्दा कल कारखाना लगायतका कारोबारहरू राम्रा थिए, तर माओवादी जनयुद्धपछि नेपालको अवस्था बिग्रिएको छ । माओवादी जनयुद्धताका सैयौं उद्योग कलकारखाना ध्वस्त भए, संरचनाहरु त्हस नहस पारिए, त्यसपछि गणतन्त्र स्थापनापश्चात सशस्त्र मधेशवादी विद्रोहबाट पनि कैयौं उद्योग धन्दा कलकाराखाना बन्द भए, उद्योगपति व्यापारीहरु प्लायन हुने अवस्था आयो । वर्तमान अवस्था पहिलाको जस्तो छैन । नयाँ संविधान निर्माणकालागि दुई पटक संविधानसभाको निर्वाचन र सो को क्रममा आठवर्षसम्म पालिएका सभासदका कारण मात्र नेपालले खरबौं बजेट बालुवामा पानी हालेसरह सिध्याइयो । त्यस्तै हालै नेपालमा आएको महाविनाशकारी महाभूकम्पलले पनि नेपाललाई खरबौंको क्षति पुर्याएर अर्थतन्त्र धराशायी बनेको छ । दैनिक करिब दुई हजारको हाराहारीमा युवाहरू विदेश पलायन भइरहेका छन् । नेपालका ग्रामिण भेग युवाविहीन छन् । नेपालका कतिपय ग्रामिण भेगमा कसैको मृत्यु भएमा लास बोकेर मसान घाट लगिदिने युवा भेटिंदैनन् । महिलाहरूले लास उठाउने र दागबत्ति दिने अवस्था छ ।
नेपाली युवाहरू खाडी मुलुकमा कष्टकर अवस्थाको सामना गरेर पठाएको रेमिट्यान्सले नेपालको अर्थतन्त्रलाई टेको अर्थात सहारा दिएको छ । भूकम्पबाट पुनर्निर्माणकालागि विदेशीहरूको पाउमा भिख माग्नुपर्ने अवस्थाबाट गज्रिरहेको वर्तमान समयमा कुन चाहिं विदेशी वा भारतीय नागरिकहरू आफ्ना गुजारा टार्न र व्यापार व्यवसाय सञ्चालन गर्न नेपाल आएर बस्लान ? नेपालका नीति निर्माताहरूको मनमा किन यस्तो डर पलाएको हो ? आमाको नाममा नागरिकता दिंइँदा मुलुक भारतीयकरण, फिजीकरण वा सिक्किमीकरण हुने आधार यिनीहरूले कुन चाहिं आँखाले देख्दै छन् ?
आमाको नाममा नागरिकता दिने प्रावधान कायम गरिएमा भारतमा विहा गरि पठाइएका नेपाली चेलीका भारतीय सन्तानहरूले सजिलैसँग नागरिकता प्राप्त गरी नेपाली नागरिक भई नेपालका विभिन्न निकायमा आफ्नो वर्चस्व स्थापना गराउन थाल्नेछन् । यस्ताखाले मानसिक भ्रम र कुतर्कहरू तेस्र्याएर आमाको नामबाट नागरिकता दिने प्रावधान लागु गर्न अवरोध खडा गरिरहेका छन् ।
आन्तरिक गरिबी, ऋणको व्ययभार, राजनीतिक अस्थिरतालगायतको संकटबाट दयनीय अवस्थामा पुगेको नेपालमा कुनै पनि विदेशी वा भारतीय नागरिक नेपाली नागरिकता लिई नेपालमा आएर बसोबास गर्लान भनि सोच्नु मूर्खता हो । नेपालमा भूकम्प जाँदा ७२ घण्टा मात्र पनि आफ्ना नागरिकहरूलाई ६ छाक खाना दिन नसक्ने राज्यको नागरिक बन्न कोही पनि चाहँदैनन् । चरम गरीबीको अवस्थाबाट नेपालको नागरिक हुन कुनै पनि विदेशी अथवा भारतीयलाई होला जस्तो लाग्दैन । भारत वा अन्य देश वर्तमान अवस्थामा आफैं तीव्र गतिको आर्थिक वृद्धिमा छ । भारत लगायतका देशले आफ्ना नागरिकहरूलाई विभिन्न सुविधा दिने गरेको छ । आफ्नो देशमा पाउँदै आएको विभिन्न खाले सुविधा छोडेर कोही पनि विदेशी नेपाली नागरिक बन्न चाहँदैन ।
आफ्नो नागरिकलाई राज्यको अनुभूति गराउन कुनै पहल नगर्ने, तर चर्को कर असुल्ने, रेमिट्यान्स मात्रकोलागि लाखौं युवालाई खाडी मुलुकमा गोरु जस्तै जोत्न पठाउने मुलुक नेपालको नागरिक बन्ने चाहना कुनै पनि भारतीय वा विदेशीले राख्न सक्दैनन् भन्ने सत्य सबैलाई थाहा हुँदाहुँदै पनि यस्तैखाले कुतर्क गरेर नेपाली महिलाहरू उनीहरूको अधिकार पाउनबाट बञ्चित गरी बाबुबिहीन रहेका लाखौं युवाको भविष्यसँग खेलवाड गरी राज्यले मुलुकलाई अर्कोद्वन्द्वतर्फ धकेल्ने प्रयास गरिरहेका छन् ।
उनीहरूको संकुचित मनमा यो कुराले पनि डेरा बनाएको छ कि आमाको नामले नागरिकता दिन थालियो भने महिलाहरूले आफ्नो सबै अधिकार प्राप्त गर्न थालेपछि पुरुषहरूको वर्चस्वा समाप्त हुने छ । वर्तमान अवस्थामा रहेका पुरुष–महिलाबीचको असमानता कम भई दुबैलाई समान नागरिकको हैसियत प्राप्त हुनेछ । नागरिकतामा बाबुको नाम नराखी आमाको नाम कायम गरिंदैमा आफूहरुको अधिपत्य समाप्त हुने डरले पनि आमाको नामबाट नागरिकता प्रदान गर्न दिनु हुँदैन भन्ने अडान लिई न्यायालयको आदेशसमेतलाई स्वीकार गर्न चाहेका छैनन् ।
आमाको नाममा नागरिकता दिइँदा पुरुषको वर्चस्व कम हुने वा महिलाहरूले आफ्नो नागरिक हुने अधिकार पाउनै हुँदैन भन्ने मानसिकतालाई परिवर्तन गराउने पुरुषहरूको संख्या पनि कमि छैन । हरेक वर्ष वैशाख कृष्ण औंशीको दिन नेपालमा मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिवस भनौं वा आमालाई सम्मान गर्ने दिवस मनाउँछन् । वर्षको एकदिन देखावटी रुपमा आमाको सम्मान गरेको देखाउने तर वर्षदिन भरी त्यही आमालाई उनको अधिकारबाट बञ्चित गराउने पुरुषवादी सोंच र मानिसकताले आमाको सम्मान गरेको छ कि अपमान ? त्यस्तै नारी दिवसका दिनमा पनि विभिन्न महिला अधिकारका चर्का नारा लगाउने पुरुषवादीहरूले आमाको नामबाट नागरिकता दिनुपर्ने विषयमा अत्तो थाप्ने संस्कारले भोलीको दिनमा अर्को द्वन्द्वको अवस्था सिर्जना हुन सक्ने भयावह संकेतलाई सबैले समयमै मनन गर्न सके देश र जनताको हित हुने थियो ।
(पर्वत जन्मघर भएकी भुषाल हाल वैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा बस्दै आउनु भएको छ ।)
यो पनि पढ्नुहोस...
यस कारणले दिनु हुँदैन आमाको नाममा नागरिकता
यो पनि पढ्नुहोस...
यस कारणले दिनु हुँदैन आमाको नाममा नागरिकता