राप्रपा नेपालद्वारा वीरगंजमा मशाल जुलुश प्रदर्शन, बुधवार बन्दको घोषणा


क्राइमचेक प्रतिनिधि/ 
वीरग‌ज, ०५ साउन /राप्रपा नेपालले बुधवार वीरगंज बन्दको आह्वान गरेको छ । बन्दको पूर्व सन्ध्यामा निकालिएको मशालजुलुशलाई समापन गर्ने क्रममा राप्रपा नेपालका केन्द्रिय उपाध्यक्ष एवं पूर्व मन्त्री राजीव पराजुलीले वीरगंज बन्दबारे जानकारी गराएका हुन् ।

मशाल जुलुसपछिको समापन सभालाई सम्बोधन गर्नुहुँदै उपाध्यक्ष पराजुलीले तीन दलले आपसी समझदारी र सत्ताको बाँडफाँड गर्नकैलागि राष्ट्रिय मुद्दालाई थाँति राखी ल्याएको संविधानको मस्यौदामा शान्तिपूर्ण तरिकाले धर्म निरपेक्ष खारेज गरी हिन्दू राष्ट्र कायम हुनुपर्ने धारणासहितको सुझाव दिन जाने क्रममा देशका विभिन्न भागमा राप्रपा नेपालका केन्द्रिय अध्यक्ष कमल थापा, सभासद, कार्यकर्ताहरूमाथि प्रहरीले गरेको बर्बर दमनको विरुद्धमा बुधवार बन्दको आह्वान गरिएको बताए ।

उपाध्यक्ष पराजुलीले ८५ प्रतिशतजति हिन्दूहरूको बाहुल्यता रहेको देशमा विदेशीको चलखेल र प्रलोभनमा परेर मुलुकलाई इशाइकरण गरी देशको अस्तित्त्व नै संकटमा पार्ने गरी ल्याउन लागिएको संविधान नेपाली जनतालाई कुनै पनि हालतमा मान्य नहुने बताउनु भयो ।

वीरगंजको लाठगल्लीस्थित राप्रपा नेपालको पार्टी कार्यालयबाट राष्ट्रिय उपाध्यक्ष राजिव पराजुलीको नेतृत्वमा निकालिएको मसाल जुलुशमा सभासद श्यामसुन्दर टिवडेवाल, अजय पौडेल, बालकृष्ण बस्नेत, अशोकमान श्रेष्ठ, जगरनाथ साह लगायत हजारौं कार्यकर्ता र समर्थकहरूको सहभागिता रहेको थियो ।

मसाल जुलुसका क्रममा प्रहरी दमन बन्द गर, गृहमन्त्री मुर्दाबाद, धर्म निरपेक्षता खारेज गर, हिन्दू राष्ट्र कायम गर, धर्म बेच्न पाइँदैन विदेशी धर्म चाहिंदैन लगायतका विभिन्न नाराहरू लगाइएको थियो ।

पार्टी कार्यालय लाठगल्लीबाट निकालिएको मसाल जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै घण्टाघरमा गएर कोणसभामा परिणत भई समापन भएको थियो । राप्रपा नेपालले मुलुकलाई हिन्दू राष्ट्र कायम गराउन दबाव स्वरुप आयोजना गरिएको बन्द कार्यक्रमलाई सफल पारिदिनुहुन सम्पूर्ण पेशाकर्मी, उद्योगी, व्यवसायी, पसले, यातायात व्यवसायी, नगरवासी, जिल्लावासी लगायत जनसाधारणमा हार्दिक अनुरोध गरेको छ ।


SHARE THIS

Author:

Facebook Comment