विकासलाई परिभाषित गर्ने आवश्यकता

– स्वयम्भुनाथ कार्की
गलत ‘नजीर’ स्थापित गरेर यो अन्तरिम संविधान अन्तरगत दैनिक प्रशासन चलाउन गठित सरकारले आफ्ना सबै अंग संचालन गरेर मुलुक नै तहसनहस गर्ने अभियान चलाएको छ । नेपालको अन्तरिम संविधान २०६३ भाग ७ को धारा ८३ उपधारा (१) मा लेखिएको छ ‘ यस भागमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि संविधानसभा कायम रहेको अवधिभर सो सभाले व्यवस्थिापिका संसदको काम समेत गर्ने छ र नियमित विधायन सम्बन्धी आवश्यक कार्य सम्पादन गर्न संविधानसभाले छुट्टै समिति गठन गर्न सक्नेछ ।’ भाग ५ धारा ३७ उपधारा(२) ले ‘यो संविधान र अन्य कानूनको अधिनमा रही नेपालको शासन व्यवस्थाको सामान्य निर्देशन, नियंत्रण र सञ्चालन गर्ने अभिारा मन्त्रीपरिषद उपर हुनेछ ’ भनेर अधिकार दिएको छ । यो केवल सामान्य निर्देशन, नियंत्रण र सञ्चालनको निमित्त प्राप्त अधिकार हो , विशेष र सम्पुर्ण अधिकार प्रयोग गर्न पाउने कार्यपालिका हैन ।
जस्तो सुकै अवस्थामा पनि हाल क्रियाशिल रहेको संविधानले प्रत्याभूत गरेकबो मौलिक हकको उलंघन गर्न पाउने कुरा नै होईन । अधिग्रहण गर्ने वा प्राप्त गर्ने निश्चित प्रक्रिया वेगर सार्वजनिक हितको निमित्त पनि सरकार वा सरकारका कुनै निकायले व्यक्तिगत सम्पत्ति उपर कुनै अधिकार सिर्जना गर्न पाउदैन । तर विकासको नाम दिएर शतबार्षिकोत्सव मनाउदै गरेको विराटनगर नै तहसनहस पार्ने कामको शुरुवात भएको छ यो यसैमा मात्र सिमित रहन छैन ।
कुनै काम गर्दा त्यसले पार्ने हरेक असरको समिक्षा गरिएको हुनु पर्दछ , भौतिक विकासका प्रथम उपभोक्ता त्यसै क्षेत्रका वासिन्दा हुन्छन उनीहरुलाई पर्ने प्रभाव, उनीहरुको चाहना आवश्यकता आदिको वारेमा प्रयाप्त छलफल वेगर गरिएको कुनै काम कसै गरेर पनि विकास हुन सक्दैन । राज्य पुर्नसंरचनाको बहसले संविधानसभामा निकास रोकिएको वर्तमान अवस्थामा स्थानिय निकायको स्वरुप र क्षेत्राधिकार नै अन्तरिम हो । त्यसमाथि जनताको प्रत्यक्ष कुनै प्रतिधित्व नभएको स्थानिय निकाय आफैमा अपुरो र अधुरो हो । यसमा कुनै दफा उपदफाको आडमा मनपरि गर्नु भनेको काइतेपना देखाउनु हो । विधान संविधान, नियम कानून इत्यादि जनताको निमित्त हो जनता यसमा निमित्त होईनन ।
एकै छिनलाई भएका संरचना भत्काउनुलाई विकास मान्ने हो भने पनि के त्यसको प्रभावको बारेमा प्रयाप्त चिन्तन गरिएको छ त ? विल्कुलै छैन । सुगा रटाईले यो विकासको नाममा भएको विनास लिलाको विरोध गर्नेलाइ विकास विरोधि भन्नेहरुले केहि साधारण प्रश्नहरुको उत्तर दिने हैसियत राख्छन त । यदि कोही यो चुनौति स्विकार गर्ने हिम्मत गर्दछन भने केही साधारण प्रश्नहरु छन जुन हजारौ प्रश्नमध्ये केही मात्र हुन । प्रश्नको उत्तर दिने प्रयत्नमा नै त्यस्ता व्यक्तिहरु मध्ये कतिपय यो विकास होइन रहेछ विकासको नाममा विनास रहेछ भन्ने निधोमा पुग्ने छन । तर यसका निमित्त उनिहरुले आफ्नो आत्मालाई नै ढाँटने प्रयत्न भने छोडनु पर्ने हुन्छ ।
वर्तमान समयमा स्वच्छ काम गर्नेहरुले आफ्नो जीवनकालमा एक घर बनाउन पनि कठिन छ , यस्तो अवस्थामा कसैको सम्पुर्ण जीवनको मेहेनत विकासको नाममा खोसेर उसलाई पाटीको वास गराउन पाईन्छ ? आफ्नो तथा आफ्नो सन्ततीको समेत भविष्य अन्धकार हुने गरेर सजाय पाउन यसको अपराध के थियो ? त्यस्ताहरुको हाड घोटेर कमाएको सम्पती हरण गरेर विकास भनेर सुविधा भोग्ने अधिकार समाजलाई छ त ? गरिवको रगत पसिनामा कुनै सभ्य नागरिक कसरी विकास भनेर रमाउन सक्छ ?
महानगर बन्ने प्रक्रियामा रहेको विराटनगरमा सहरी बस गुड्नु पर्ने पनि हुन्छ ? अहिलेको आधा भत्काईएका घर बनिनसक्दै फेरी सडक साँगुरो हुन्छ । अहिले कै कुरालाई नजिर लिएर केहि बर्ष पछि फेरी घरहरु भत्काईन आवश्यक हुन्छ । यस्तो अवस्थामा विराटनगरका घर घडेरी धितो राखेर कुनै वित्तियसंस्थाले कर्जा प्रवाह गर्दा त्यो कर्जा डुव्ने खतरा छ । यसरी खोसिएको सम्पत्ति तथा घर भवनहरु कुनै पनि विमाको क्षेत्र भित्र पर्दैन । यस्तो अवस्थामा ती वित्तियसंस्थाहरुमा आफ्नो कमाई निक्षेप राख्‍नेहरुको सम्पत्ति जोखिममा पर्दैन ?
उद्योग व्यवसाय संचालनले रोजगारी पैदा गर्दछ । उद्योग व्यवसाय संचालनमा साखको उत्तिकै आवश्यकता हुन्छ । कुनै पनि वेला तीस पैतीस दिने सुचनाले हरण हुन सक्ने सम्पति भएको विराटनगरकलाई कसले पत्याएर लगानी गर्ने ? यो अवस्थामा आर्थिक विचलन आउदैन ? जवकी संविधाले पनि चरम आर्थिक विश्रृंखलताको अवस्थालाई संकटकाल भन्दछ । यो लहडको भरमा गर्न खोजिएको विकासले विराटनगर छिटै नै अर्थिक संकटकालमा फस्ने संभावना वलियो हुदैछ । यसै वारुदको थुप्रोमा बसेर विकास भन्दै विनासको यो ताण्डवमा सहायक भएका बुद्धिजीवि, संचारकर्मी आदि त्यसपछि कुन धरातलमा वसेर काम गर्नेछन ?
यी केहि साधारण प्रश्नहरु हुन जसको सजिलो उत्तर हुन सक्छ यो प्रसव पिडा हो एक पटक खप्‍न उपयुक्त हुन्छ । तर यो उत्तर दिनेहरुलाई प्रश्न छ तपाईहरु यसको जमानी बस्नुहुन्छ ? फेरी अर्को पल्ट यसैलाई नजिर देखाएर यहि विनास लिला भयो भने त्यसको हर्जना तपाइहरु तिर्न सक्नुहुन्छ ? कुरो बुढी मरेको हैन काल पल्केको हो । अहिले आधा भत्काईएका घरहरु त मानौ सहलान अरे, यहि तोडफोडका कारणले बचेको घर भत्केको हर्जना बुझाउन तैयार भएको कागज गर्नुस अनि विनास विरोधीहरुलाई विकास विरोधी भन्नु होला । यो जनजीविका माथिको प्रहार हो जसले विद्रोहको ज्वालामुखी पैदा गर्न सक्छ त्यो ताप थेग्ने हिम्मत छैन भने विकासको खोक्रो नारा नदिएकै वेस
– विराटनगर १
२०७१।९।१३
(जनआवाज)

SHARE THIS

Author:

Facebook Comment