चन्द्र घलान, हेटौँडा
मकवानपुरको मनहरी र भिमफेदीमा सञ्चालित मगर भाषाको एक महिने साक्षरता कक्षा शनिबार (जेठ २४ गते) समापन गरिएको छ ।
मनहरी र भिमफेदी गाविसमा सञ्चालित मगर भाषा साक्षरता कक्षामा ३०÷३० जनाको सहभागिता रहेको थियो । कार्यक्रम नेपाल मगर संघ मकवानपुरले जिल्ला बिकास समिति मकवानपुरको आर्थिक सहयोग, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदसँगको समन्वयमा आयोजना गरेको हो । भिमफेदीमा पबित्रा राना मगरले र मनहरीमा सरस्वती लामिछाने मगरले प्रशिक्षण दिनुभएको थियो ।
मनहरीमा सञ्चालित साक्षरता कक्षाको समापन नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद मकवानपुरका अध्यक्ष तीर्थबहादुर थापा मगरको प्रमुख आतिथ्य तथा नेपाल मगर संघ गाउँ ईकाई समिति मनहरीका अध्यक्ष धनबहादुर राना मगरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल मगर संघका जिल्ला सहसचिब मिना थापा मगर, मनहरी गाविसका सहायक ठाकुर कुमार बर्तौलालगायतले मन्तव्य व्यक्त गरेका थिए । समापन कार्यक्रममा साक्षरता कक्षामा सहभागी प्रशिक्षार्थीहरुले मगर भाषा सिक्न पाउँदा खुशी लागेको भन्दै अनुभव समेत सुनाएका थिए । उनीहरुले यस्ता कक्षाहरु पुनः सञ्चालन गरी निरन्तरता दिन आग्रहसमेत गरेका थिए ।
त्यस्तै, भिमफेदीको धोर्सिङमा सञ्चालित मगर भाषाको एक महिने साक्षरता कक्षाकोपनि समापन गरिएको छ । समापन कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद अध्यक्ष तीर्थबहादुर थापा मगरको प्रमुख आतिथ्य तथा नेपाल मगर संघ भिमफेदी गाउँ ईकाई समितिका अध्यक्ष सुरेश राना मगरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय सदस्य बिश्व आले मगर, आदिवासी जनजाति महासंघ भिमफेदीका अध्यक्ष जव्बरसिँ लामा, मगर संघका जिल्ला कार्यवाहक अध्यक्ष शंकर थापा, जिल्ला सल्लाहकार शान्तध्वज राना मगरलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । निर्धारित कक्षा सकिएपनि प्रशिक्षार्थीको आग्रहमा भिमफेदीमा थप एक महिना साक्षरता कक्षा सञ्चालन गरिने नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष तीर्थबहादुर थापा मगरले जानकारी दिनुभयो । थप एक महिने साक्षरता कक्षा नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय समिति भिमफेदीले सञ्चालन गर्ने बताईएको छ ।