डि.एन.ए. परीक्षण तथा अन्य विधि बिज्ञान उपकरण हस्तान्तरण

काठमाडौँ, बैशाख १५ गते
प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला सामाखुशीलाई डेनिस राजदूताबासले अत्याधुनिक डि.एन.ए. उपकरण लगायत अपराध अनुसन्धान उपकरण ६० थान, क्यामेरा ३५ थान, कम्प्युटर ६ थान र प्रयोगशालामा प्रयोग हुने रसायनिक तत्वहरु गरी कुल ५ लाख ३४ हजार ९ सय ४१ अमेरिकी डलर बराबरका विधि विज्ञान उपकरणहरु सहयोग स्वरुप प्रदान गरेको छ ।
उक्त प्रयोगशाला सामाखुशीमा आज आयोजित एक समारोहबीच समारोहका प्रमुख अतिथि प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक सुरेन्द्रबहादुर शाहलाई नेपालस्थित डेनिस राजदूतावासका नायव नियोग प्रमुख यान मोलर ह्यान्सेनले उक्त उपकरणहरु हस्तान्तरण गर्नुभयो ।
साथै सोही अवसरमा प्रहरी नायव महानिरीक्षक शाह र राजदूतावासका
नायव नियोग प्रमुख यान मोलर ह्यान्सेनले उक्त प्रयोगशालाको संयुक्त रुपमा उद्घाटन समेत गर्नुभयो ।
उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक शाहले प्राप्त उपकरणहरुले अपराध अनुसन्धानमा प्राप्त सबुदको बैज्ञानिक परीक्षणका लागि नेपाल प्रहरीलाई अत्यन्तै ठूलो सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुहुँदै यस महत्वपूर्ण सहयोगका लागि डेनिस सरकारप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।
अपराधी पहिचानको लागि सफल अनुसन्धान गर्न उपकरणहरु अत्यन्तै उपयोगीसिद्ध हुने उल्लेख गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक शाहले यसबाट नेपाल प्रहरीले गर्ने अपराध अनुसन्धानमा क्षमता बृद्धि हुनुको साथै आधुनिक अनुसन्धान पद्धतिको बिकासमा समेत उल्लेखनीय सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।
समारोहमा नेपालस्थित डेनिस राजदूतावासका नायव नियोग प्रमुख यान मोलर ह्यान्सेनले समाजमा शान्ति सुरक्षा कायम गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने नेपाल प्रहरीलाई उसको कार्यमा वैज्ञानिक एवं सहज तरीकाले कार्य गर्ने वातावरण बनाउन मद्दत पुर्‍याउने यस्ता उपकरण सहयोग गर्न पाउँदा ज्यादै खुशी लागेको बताउनुभयो । प्राविधिक उपकरणले अपराध अनुसन्धान गर्न महत्वपूर्ण योगदान दिने र यसबाट अनुसन्धानको परिणाम पनि राम्रै आउने उहाँले उल्लेख गर्नुभयो ।
उक्त अवसरमा आफ्नो मन्तव्य व्यक्त गर्नुहुँदै द एशिया फाउण्डेसनका डेपुटी आवासिय प्रतिनिधि डा. सागर प्रसाईले नेपालमा संक्रमणकालीन न्यायको प्रकृया अगाडि बढेमा प्रयोगशालामा जडान भएका यी नविनतम उपकरणहरुले वेपत्ता तथा द्वन्द्वसँग सम्बन्धित अपराधको अनुसन्धानमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।
समारोहमा केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाका प्रहरी बरिष्ठ उपरीक्षक जनकबहादुर सिंहले स्वागत मन्तव्य व्यक्त गर्नेक्रममा उपकरणहरुको महत्वबारे प्रकाश पार्नुहुँदै प्राप्त उपकरणहरुको सही सदुपयोग गरी कार्य सम्पादन गरिने जानकारी दिनुभयो ।
उक्त अवसरमा प्रमुख अतिथि लगायत प्रहरी नायव महानिरीक्षक प्रतापसिंह थापा, आमन्त्रित पाहुनाहरु, बरिष्ठ प्रहरी अधिकृतहरु लगायत उपस्थित महानुभावहरुले डि.एन.ए. प्रयोगशालाको अवलोकन समेत गर्नुभएको थियो । डेनिस राजदूताबासको आर्थिक सहयोग तथा द एसिया फाउण्डेसनको प्राविधिक सहयोगमा उक्त उपकरण नेपाल प्रहरीलाई प्राप्त भएको सो अवसरमा जानकारी दिइयो ।

SHARE THIS

Author:

Facebook Comment