स्वार्थी चाटुकार अस्तित्वको मधुमेह



अति निराशा जनाउने नेपाली भनाई छ,, ‘देउता बोल्दैनन, राजा देख्दैनन्’ । यो कुरालाई चुनौती दिदै राजाले एक पटक भनेका थिए ‘म नदेखिने र नसुनिने राजा हुन्न’ । राजाको यो भनाईले नेपाली जनतामा आशाको संचार गरेको थियो । राजा कहिले देखिने र सुनिने हुन्छन् भनेर आश गर्दा गर्दै राजतन्त्र नै कुना लाग्न पुग्यो । तर जनताले राजाको यो भनाई अझै सम्झेर राखेका छन । नेपालको राजतन्त्रमा इतिहास मै सवैभन्दा ठुलो ग्रहण लागेर नारायणहिटीबाट नागार्जुनको यात्रामा पनि जनसाधारणले आँशुले भरिएको आँखा लिएर हामीमा आस्था मरेको छैन भन्ने जोरदार जनाउ दिएका थिए । भित्र पत्रकार सम्मेलनमा म एक्लो भए भन्ने राजाको भावलाई त्यसो हैन हामीसाथ छौं भन्ने उद्घोष थियो यो । संभवत आस्थावानको उपस्थिती नहोला भन्ने आशंकाले बरु रातको समय भएकाले जनता नभएको भन्न पाईन्छ भनेर कसैको सल्लाह थियो कि ? तर त्यो आशंका व्यथ्र्य भयो रातमा पनि उल्लेख्य उपस्थिति त्यहा देखिएको थियो ।

यो घटनाले सबैले बुझ्नु पर्ने सोझो कुरा के थियो भने जतिसुकै काइते तरिकाले राजसंस्था अन्त्यको घोषणा गरिएको भए पनि जनताको आस्था कायम छ । तरिका काईते थियो भन्ने कुराको साँछि त्यो बैठकको अध्यक्षता गर्नेले नै सार्वजनिक रुपमै बोली सकेका छन । हतार हतार गरेर रातको समयमा कुनै छलफल नै नगराई यो प्रस्ताव पारित गर्नु नै प्रस्तावका पक्षमा भएकाहरुको मनको चोर बोलेको हो । ढिला भयो भने जनताले यो प्रस्ताव पारित हुन दिदैनन् भन्ने डर

बाहेक यो हतारोको अरु कुनै कारण थियो भने त्यो कारण सार्वजनिक गर्न चुनौती छ । हतार गरेको गरेको कामले राजाको मनमा जनता मेरा समर्थनमा छैनन भन्ने नलाग्नु पर्ने हो । तर चाटुकारहरुले आफ्नो महत्व छ भनेर राजालाई जनाउन यस्तो कुरा पेश गरेका हुन सक्छन । भरसक आजकल राजा बाहिर निक्लदा देखिन जनसमुह पनि आफ्नो प्रयत्नले मात्र जुटेको भ्रम पनि दिएका होलान । यसको निमित्त खर्च लागेको विल भरपाई पेश गरेका वा आस्थावानहरुसंग यसको नाममा सहयोग राशी उठाएको घटना प्रकाशमा आयो भने अचम्ममा नपरे हुन्छ ।
जनताले त पहिलो संविधानसभा निर्वाचन मै अत्यन्त प्रतिकुल परिस्थितिमा र आफुलाई दरवार नजिक हुँ भन्नेहरुले माओवादीलाई खसाल्न गरेको प्रयत्नमा पनि राजावादी भनेर चिनिएका तीन दललाई गरेर पन्ध्र स्थानमा पुर्‍याएकै हुन । यदि ती मत एकै दललाई भएको भए त्यस बेलाको गणना पद्धति अनुसार सत्र स्थान हुने थियो । यो कुरा कसैले पनि निर्वाचन आयोगको वेभसाईटमा अभिलेखको रुपमा राखेको तथ्यांंक हेरेर आफै हिसाव निकाल्न सक्छ । चुनाव चिन्ह समेत प्रचार गर्न बलजफ्ती रोकिएको त्यो निर्वाचनमा परेका ति मतहरु झुक्किएर, कुनै प्रलोभनमा परेर आएका हैनन् ति त राजा र दरवार नजिक हुँ भन्नेहरुले नचिनेका राजसंस्था प्रति आस्थावानहरुको संकल्पित मत हुन । आफुलाई दरवार नजिक हुँ भन्ने र तिनका प्रभावमा भएकाले त त्यसमा मत नै खसालेका थिएनन् भन्ने नतिजा पनि निर्वाचन आयोगको वेभ साईटमा भएको त्यहि तथ्यांंकको विश्लेषणले निकाल्छ ।
पन्ध्रमा एघार जनाले आफ्ना मतदातालाई विश्वासघात गरे पनि बाँकीका चार जनाले नेपालमा राजसंस्था पनि एक धार हो भनेर सावित गरिदिएका छन् । दोश्रो निर्वाचनमा यो धारले दुई तिहाई स्थान ल्याउनै पर्दैन, न त बहुमत नै कवल एक तिहाई स्थान मात्र आएको अबस्थामा पनि सबैले अहिले ठुलो स्वरले खतरामा परेको भनेको राष्ट्रियता बलियो हुने दिशा तर्फ लाग्छ । अहिले भनिने गरेको चार दलिय सेण्डिकेट अनि भागवण्डाको राजनीतिको पटाक्षेप हुन्छ । सम्पूर्ण जनतालाई नै कसैले प्रभावमा लिन्छ र उनिहरु बहकिन्छन भन्ने तर्क जनताको अपमान हो । यदी साँच्चै यस्तै भयो वा हुन्छ भने त्यसले पर्ने नकारात्मक प्रभाव निर्वाचन भए पनि वा नभए पनि पर्ने छ । नेपालमा राजसंस्थाको आवश्यकता देख्नेहरुलाई विभिन्न नक्कली नामबाट कारवाहीको धम्की दिने आफुलाई दरवारको नजिक हुँ भनेर दावी गर्नेहरुको चालाले भने जनतामा विस्तारै राजसंस्था प्रति वितृष्णा फैलिने खतरा छ ।
जुन वेला राजसंस्थामा खग्रास ग्रहण लागेको थियो त्यस वेला स्वतस्फुर्त रुपमा आफ्नो साधनश्रोत खर्चेर अआफ्नो स्थान तथा क्षमता अनुसार त्यो ग्रहण हटाउन श्रम गर्नेहरुलाई अहिले राजसंस्था कुना परेको अवस्थामा त कारवाहीको धम्की दिइन्छ भने राजसंस्था पुर्नस्थापना भएको अबस्थामा पनि यस्तैको हाली मुहाली रहने हो भने राष्ट्रको हित राजसंस्था मै छ भनेर त्यसका निमित्त लागि पर्नेहरुको स्थान कि त जेलको कोठरी हुने छ कि स्वनिर्वासनमा जानु पर्ने छ । तर यस कुराले राष्ट्रलाई माया गर्नेहरुको कदम राकिने छैन। आफु समाप्त भए पनि देश बाँची रहोस हाँसी रहोस भन्नेहरु यस्ता भरौटेहरुको धम्कीले रोकिने छैनन्। बरु यस्ता स्वार्थी चाटुकारबाट आफ्नो अस्तित्वमा लाग्न सक्ने मधुमेह रोगबाट बच्न राजसंस्थाले वेलैमा ध्यान पुर्‍याउनु पर्दछ ।
हिजो राजतन्त्रको बेलामा यस्तो काम वा उस्तोकाम गरेका थियौ भनेर आफ्नो योग्यता सावित गर्ने कुरा नै गलत हो किनभने उनीहरुको क्षमता, ज्ञानले काम गरेको भए त आज राजसंस्थाको यो हविगत नै हुने थिएन । न प्रत्यक्ष राजनीतिमा चासो नभएका आफ्नो पेशा गरेर बसेकाहरुले राजसंस्थाको महत्वको बारेमा अभियान चलाउनु पर्ने थियो । यो निर्णय लिने वेला हो, निर्वाचनको उपयोग गरेर फाईदा लिने हो कि अहिलेको मौका छोडेर कुनै काल्पनिक शक्तिले भलो गर्ला भनेर मृगमरिचिकामा भुल्ने । अन्तमा कवि चंदबरदाईले पृथ्वीराज चौहानको निमित्त भनेका थिए 
‘चार बांस, चौवीस गज, अंगुल अष्ट प्रमाण 
ता–उपर है सुल्तान, मत चुके चौहान ’ 
नेपाली जनता राजालाई भन्छन
 ‘छ सय एक भिड चौवीस बुँदा चार दल तानातान
नेपाल र नेपालीको विजोक भयो न चुक राजन’
(प्रकाशित मितिः२०७० कार्तिक २१ गते बिहीबार ।)

SHARE THIS

Author:

Facebook Comment