दशैं चाड, महंगी र अभाव

                परम्परादेखि चल्दै आएको प्रत्येक वर्ष मनाइने दशैं चाड नेपालीहरूको घर आंगनमा आइसकेको छ । आयस्तर कम भएका बहुसंख्यक नेपाली जनताहरू राष्ट्रिय पर्व दशैंलाई बोझ मान्न थालेका छन् । दशैंलाई दशाका रुपमा लिन थालेका छन् । दशैं पर्व निकै खर्चिलो बन्दै गइरहेको छ । भड्कीलो पनि बनिरहेको छ । हुनेखानेलाई दशैं हुँदा खानेलाई दशा बनेको छ । दशैं सबैकालागि रमाइलो चाड बन्न सकेको छैन । कसैले वियर पिएर नाच्ने रमाउने, कसैले महंगी र अभावका कारण आँसु पिएर, आँसु बगाएर दशैं मनाउने गर्दै आएका छन् । दशैं पर्व व्यापारीकालागि नजायज ढंगले धन बटुल्ने अवसर भएको छ । सक्कली बस्तुको मूल्य लिएर नक्कली वस्तु
बिक्री गरिन्छ । सरकारले बजार अनुगमनलाई प्रभावकारी बनाउन नसक्दा खाद्यवस्तुमा मिसावट÷मिलावटको समस्य छ, जसले गर्दा नेपाली जनताको स्वास्थ्य अवस्था दशैं चाँड मनाएपछि बिग्रने स्थिति छ । सबैले सबैलाई सहयोग गर्ने वातावरण हुनुपर्दछ । मिलीजुली बसौं, बाँडीचुँडी खाऔं भन्ने वातावरण हुनुपर्दछ । दशैंमा सबै रमाउन पाउनु पर्दछ । कोही रमाउने, कोही मनमा पीडा र ग्लानी पाल्ने परिस्थितिले दशैंको चाडको महत्व घटाउँछ । दशैंमा देवी देउता शक्तिपीठको पूजा आजा गरी सुख शान्तिको कामना गरिन्छ । आजको दुनियाँ आर्थिक दुनियाँ हो । अर्थात् अभावले मानिसलाई पिरोलीरहेको छ । विश्वमा नै मानिसको आयस्तर गिर्दोमहंगी बढ्दो छ । महंगीसँगै बजारमा खाद्य सामग्रीको अभाव पनि देखिंदै छ । खेतीबालीमा नानाथरीका रोगको प्रकोप, किरा फट्यांग्राको प्रकोप बढेर उत्पादनमा ह्रास आएको छ । प्राकृतिक विपत्ति, दैवी विपत्ति बढेको छ । आसुरी प्रवृत्तिका मानिसहरूको संख्या बढिरहेको छ । समाजमा आर्थिक अपराध, सामाजिक अपराध, राजनीतिक अपराध बढेको छ । देशमा शान्ति र प्रगति भयो भने मात्र दशैं चाड रमाइलो हुन्छ । सबै वर्ग, तह र तप्का रमाउन पाउँछन् । आयो दशैं के खाउँला ? आयो दशैं ढोल बजाई गयो दशैं ऋण बढाईको अवस्थाबाट नेपालीहरू मुक्त हुन सकेका छैनन् । महंगी अभाव जेजसो भएपनि दशैं मनाउनुको विकल्प छैन ।
                अन्त्यमा जेजस्तो अवस्था रहेपनि बडादशैं २०७०मा श्री नवदुर्गे भवानीले समस्त देशवासी, विज्ञापनदाता, पाठकवर्ग, शुभचिन्तकलगायत सम्पूर्णमा सुख, शान्ति, सुस्वास्थ्य र उतरोत्तर प्रगतिको बाटोतर्फ अग्रसर हुने शक्ति प्रदान गरुन् भनि क्राइम चेक साप्ताहिक परिवार हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछ ।

प्रकाशित मिति २०७० असोज २४ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment