क्राइमचेक प्रतिनिधि/
वीरगंज/संविधानसभा
निर्वाचन २०७० उम्मेदवार महमुद आलममाथि गोली प्रहारको घटनामा संलग्न अपराधीले
प्रयोग गरेको एउटा शंकास्पद मोटरसाइकल प्रहरीले वीरगंजमा फेला पारेको छ ।
प्रहरीले प्रत्यक्षदर्शीले दिएको जानकारीका आधारमा भन्दै घण्टाघर लिंकरोड
छेउमा अवस्थित होटल एभरेष्ट अगाडी बेवारिशे अवस्थामा फेला परेको बीआर ०६ १०३२
नम्बरको हिरो होण्डा कम्पनीको प्यासन प्रो मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
प्रत्यक्षदर्शीले मोटरसाइकलमा आएका अपराधीले
गोली प्रहार गरेर भाग्ने क्रममा भुइमा लड्दा भाइजर फुटेको र मुठवा फुस्किएर सडकमै
खसेको भन्ने जानकारी प्रहरीलाई गराएका थिए । फेला परेको मोटरसाइकलको पनि भाइजर
फुटेको र ह्याण्डल समात्ने ठाउँको ग्रिप झरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।
आलममाथि
गत शुक्रबार बिहान बाराको लिपनीमाल स्थित चाबोसती खाद्य उद्योगको मूल गेटमा दुईजना
अपरिचित व्यक्तिमध्ये एकजनाले टाउकोमा गोली हानेका थिए ।
१६ गते मोटरसाइकल वीरगंजमा प्रवेश गरेको भएपनि
मोटरसाइकलमा सवार भएर आएका मानिसहरुको एभरेष्ट होटलमा बसोबास गरेको कुनै प्रमाण
भेटिएको छैन । होटलमा १६ गतेदेखि शुक्रबारसम्ममा कतिवटा कोठा बुक गरिएका थिए ।
प्रत्येक कोठामा को–को गेष्टहरु आएर बसेका थिए भन्नेबारे प्रहरीले
अनुसन्धान गरिरहेको छ । तर प्रारम्भिक अनुसन्धानका क्रममा मोटरसाइकल र एभरेष्ट
होटलसँगको लिंक फेला पर्न नसकेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार १६ गते वीरगंज भन्सार नाकाबाट
छिराउँदा रक्सौल ठेगाना भएका राकेश कुमारको नामबाट मोटरसाइकलको भन्सार ईन्ट्रि
गरिएको थियो ।
वीरगंज भन्सारबाट जारी हुने सवारी साधन इन्ट्री रसिद प्राप्त गर्न कुनै
ठूलो कसरत गर्नुपर्ने आवश्यक्ता नरहेको स्रोतले जनाएको छ । एक भन्सार एजेण्टका
अनुसार जानकीटोला नाकाबाट छिरेको गाडीको इन्ट्री पूर्जा कर्मचारीलाई घुस दिएर
वीरगन्ज भन्सार नाकाबाट सहजै हात पार्न सम्भव छ । भारतीय गाडी राखेका ग्रामीण क्षेत्रका
व्यापारीले भन्सार एजेण्टका सहयोगी मार्फत् घरै बसीबसी इन्ट्री पूर्जा हात पार्ने
गरेका छन् ।
वीरगन्ज भन्सार नाकाबाट छिराउँदा रक्सौल ठेगाना भएका राकेश कुमारको नामबाट
मोटरसाइकलको वास्तवमै भन्सार इन्ट्री भए नभएको बारे वीरगंज भन्सार कार्यालयको
सिसिटिभी रेकर्डबाट जानकारी लिन सम्भव हुने सुरक्षा श्रोतको भनाई छ ।
शंकास्पद मोरटसाइकल एभरेष्ट होटल अगाडी सडकमा
खुल्लारुपमा पार्किङ्ग गरिनु र आपराधिक समूहले मोटरसाइकल लुकाउनकालागि कुनै प्रयास
नगर्नुले आलममाथि भएको गोली प्रहारको घटनामाथि जारी अनुसन्धानलाई अन्यत्रै मोड्ने
प्रयास गरिएको हुनसक्ने आशंका गरिएको छ । होटल एभरेष्ट पूर्व मन्त्री तथा हालका
एमाओवादी कार्यकर्ता सलिम मियाँ अन्सारीको गत संविधानसभा निर्वाचनसम्म पनि नियमित
बास हुने गन्तव्यका रुपमा रहेको थियो ।
आलममाथि गोली प्रहारको घटनाबारे अनुसन्धानका
लागी केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी), नारायणी अञ्चल
प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय बाराले बेग्ला बेग्लै र
संयुक्तरुपमा समेत काम गरिरहेको छ ।
प्रकाशित मिति २०७० असोज २४ गते बिहीवार