आगामी संविधानसभा निर्वाचनमा राप्रपा नेपालले एकतिहार्इ बहुमत ल्याउँछ: अध्यक्ष थापा

वीरगन्ज,१४ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रिय अध्यक्ष कमल थापाले राष्ट्रिय अखण्डता, राजासहितको प्रजातन्त्रको स्थापना, सनातन हिन्दु राष्ट्र नेपाल जातीय राज्य बिनाको राष्ट्रिय एकताको नेपाल राष्ट्र कायम राख्न राप्रपा नेपालले कम्तीमा पनि एक तिहाई  बहुमत ल्याउनुपर्ने धारणा राखेका छन् ।
पार्टीका कार्यकर्ताहरुलाई देशव्यापी प्रशिक्षण दिने क्रममा वीरगंज आइपुग्नु भएका अध्यक्ष थापाले सोमवार विहान पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
वीरगंजस्थित होटल सुरजमा आयोजित सो कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्‍घाटनकोलागि  आउनुभएका अध्यक्ष थापाले एक तिहाई भन्दा बढी बहुमत प्राप्त गर्न पार्टीले नेपालको सबै जिल्ला र निर्वाचन क्षेत्रबाट उम्मेदवारी घोषणा गर्ने बताउनुभयो ।
अध्यक्ष थापाले स्थानीय सञ्चारकर्मीहरु
सँग कुराकानी गर्दै भने, हामीले लिएको सनातन हिन्दू अधिराज्य र संवैधानिक राजतन्त्रसहितको लोकतन्त्रको पक्षमा जनमत बलियो हुँदै गएको छ । संवैधानिक राजतन्त्रसहितको हिन्दू अधिराज्यको पक्षमा रहेको राप्रपा नेपाललाई बहुमतका साथ जिताउन उनले आम नागरिकसँग आग्रह गरे । उनले भने, भावी संविधानसभा निर्वाचनबाट नेपाली नागरिकले कि त उग्रवामपन्थी  एकीकृत माओवादीलाई वा संवैधानिक राजतन्त्र पक्षधर राप्रपा नेपाललाई बहुमत दिनुपर्छ । गणतन्त्रको एजेण्डा नेपालमा एमाओवादीले उठाएको र काँग्रेस, एमालेले त्यसलाई पछयाउने काम गरिरहेकाले उनीहरुको राजनीतिक धार गौण रहेको थापाको भनाई थियो ।
वैद्य नेतृत्वको नेकपा–माओवादीले घोषणा गर्दै आएको चुनाव बिथोल्ने सन्दर्भमा आफ्नो धारणा राख्दै अध्यक्ष थापाले भन्नुभयो, “चुनावमा भाग लिने अथवा त्यसलाई बहिष्कार गर्ने सबैको आफ्नो ईच्छा र चाहनाको विषय भएपनि त्यसलाई बिथोल्ने कुरा जायज होइन । चुनावले मात्र देशको वर्तमान समस्याको समाधान हुनेमा हामी विश्वस्त छौं त्यसर्थ वैद्यजीहरु प्नि चुनावमा आउनुपर्छ ।”
चुनाव वहिष्कार गर्ने र बिथोल्ने पक्षमा लागेका दलहरूलाई पनि आगामी संविधानसभाको निर्वाचनमा सहभागी गराउन अप्रजातान्त्रिक र अवैधानिक तवरले गठन गरिएको चारदलीय राजनीतिक संयन्त्र खारेज गरी वैद्यसहितका विपक्षी दलहरुलाई  गोलमेच सम्मेलनमार्फत चुनावमा सहभागी गराउनु सरकारको दायित्व भएकोले त्यसकालागि तुरुन्त गोलमेच राख्नुपर्ने धारणा राखे ।
राष्ट्रिय प्रशिक्षण कार्यक्रम सकिएलगत्तै पार्टीले राष्ट्रिय एकताका प्रतीक एवं राष्ट्र निर्माता श्री ५ पृथ्वी नारायण शाहले नेपाल एकीकरणको अभियान थालेको ठाउँबाट राप्रपा नेपालले पनि आगामी भदौ २६ गतेदेखि देशव्यापी राष्ट्रिय एकता यात्राको थालनी गरिने कार्यक्रम तय भएको अध्यक्ष थापाले जानकारी दिए ।
पत्रकार भेटघाट कार्यक्रममा पार्टीका केन्द्रिय अध्यक्ष एवं पूर्वमन्त्री राजिव पराजुली, शम्भुप्रसाद चौरसिया, रामचन्द्र चतुर्वेदी, लगायत पार्टीका जिल्लास्तरी नेता एवं कार्यकर्ताहरुको
सहभागीता रहेको थियो ।


SHARE THIS

Author:

Facebook Comment