प्रहरीको अभियान “एक दिन गरौं कडाई–क्यासिनोबाट महिनौंसम्म खाऔं मलाई”

उमेश साह कानु/
वीरगंज/वीरगंजमा खुलेको दुई वटा क्यासिनो प्रहरी प्रशासनको कमाई खाने भाँडोमा परिणत भएको छ । वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक रविन्द्र नाथ पौडेलले बाबा होटेलबाट केही दिन अगाडी तीन जनालाई समातेर सार्वजनिक जुवा ऐन अन्तर्गत मुद्दा चलाएर जिल्ला प्रशासन कार्यालय पर्साबाट सामान्य धरौटी राखेर ती व्यक्तिहरु रिहा भएका थिए ।
होटल सुरजमा रहेको क्यासिनो र बाबा होटलमा भारतीय नर्तकीहरुलाई राखेर सञ्चालनमा रहेको क्यासिनोमा भारतीय नागरिक भन्दा नेपाली जनताहरु पुग्ने आकर्षक केन्द्रको रुपमा परिचित
भएको छ ।
अञ्चल प्रहरी कार्यालय नारायणी वीरगंजका वरीष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले वीरगंजमा आउने वित्तिकै शान्ति सुरक्षा र सामाजिक विकृति अन्त्य गर्ने जति स्वाङ्ग रचेपनि
ती दुई क्यासिनोमा नियमित नेपालीहरु गएर लाखौं रुपैयाँ जुवामा हारेपनि एस.एस.पी. खनालको भनाई र गराईमा आकाश जमिनको भिन्नता रहेको प्रमाणित हुँदै गएको छ । विगतमा एक दुई पटक क्यासिनोमा गएर चेकजाँच गर्ने गरिएपनि पछिल्लो समयमा क्यासिनोका सञ्चालकहरुले फ्याकेको उपहार संकलन गरेर हाल काले काले मिलेर खाऔं रातो भाले भन्ने उखान चरितार्थ हुन पुगेको छ । यसमा जिल्ला प्रहरी कार्यालय पर्सा पनि अछुतो नरहेको श्रोतले दाबी गरेको छ ।
प्रहरी प्रशासनले क्यासिनोमा एक पटक छापामारी गरेर महिनावारी रकम निर्धारण गर्ने गरेको श्रोतको भनाई छ ।
“एक दिन गरौं कडाई महिनादिनसम्म खाऔं मलाई”को युक्ति अनुरुप प्रहरी प्रशासनले आफ्नो महिनावारी कायम गराउन सफल भएको बुझिन आएको छ । क्यासिनो सञ्चालकहरुले एस.एस.पी. सर्वेन्द्र खनाललाई मासिक एक लाख २५ हजार र जिल्ला प्रहरी कार्यालय पर्साको नाममा ९० हजार र वडा प्रहरी कार्यालय विर्ताका पौडेललाई ५० हजार रुपैयाँ मासिक रुपमा नजराना स्वरुप बुझाउने गरेको श्रोतको दाबी छ ।


SHARE THIS

Author:

Facebook Comment