बाढीमा २० को मृत्यु,पहिरोमा ११ वेपत्ता

काठमाडौं, असार ४ ।
विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । वर्षासँगै आएको बाढी पहिरोमा परी २० जनाको ज्यान गएको छ भने ११ जना वेपत्ता भएका छन् । वाढीपहिरोमा परी दैलेखमा सात, बैतडीमा पाँच, कञ्चनपुरमा तीन, अछाममा दुई, कालीकोटमा दुई र दार्चुलामा एक गरी २० जनाको मृत्यु भएको हो ।
कालीकोटमा भने पहिरोले बगाउँदा ११ जना वेपत्ता भएका छन् । वाढी पहिरोबाट सयौं जना विस्थापित भएका छन् । कालिकोटको शिपखानास्थित चोक्टेबजार र मेहलमुडीस्थित डंखिलिमा गएको पहिरोमा परी एकै परिवारका चारसहित १३ जना वेपत्ता भएकोमा दुई जनाको शव भेटिएको छ ।
कालीकोटमा वेपत्ता हुनेहरुमा शिपखानाकी कला थापा, चनतोला शाही, भूपे शाही, कमरा शाही, हिमचुली शाही, सत्य शाही, उनकी श्रीमती सरीता शाही र पाँच वर्षका छोरा
र तीन वर्षीया छोरी रहेका छन् ।
त्यस्तै, कालीकोटकै मेहलमुडीको डंखिली बजारमा पहिरो जाँदा मनबहादुर शाही, कृष्ण न्यौपाने र टक्क बम पनि वेपत्ता भएका छन् । दुई जनाको शव फेला परेपनि सनाखत हुन सकेको छैन् ।
उता, दैलेखको मालिका गाविसको वडा नम्बर ७ मा मोहन कुमालको घर भत्किँदा एकै परिवारका ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोहन कुमाल, उनकी श्रीमती तुलसा, छोरी विस्ना र सन्तोला तथा छोरा नगेन्द्र, गणेश र खगेन्द्र कुमाल रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै बैतडीको सिद्धेश्वर गाविस वडा नंबर ९ स्थित खोर्पका रामसिंह ऐरीको घर पहिरोले पुरिँदा उनकी श्रीमती सिताम, छोरी परमेश्वर, एक वर्षीय छोरा अर्जुन र उनकै घरमा बस्दै आएकी कलावती ऐरी तथा उनकी छोरी विन्देश्वरीको मृत्यु भएको छ ।
त्यसैगरी दार्चुलाको धाप गाविस–५ की सरस्वती रैखेला पनि महाकालीको बाढीले बगाएर मृत्यु भएको छ । त्यस्तै कञ्चनपुरको चाँदनी गाविस वडा नम्बर ६ का नन्दसिंह ठगुन्ना र कौशल्या सुनुवारको पनि वाढी पहिरोमा परी मृत्यु भएको छ । त्यस्तै अछामको कुन्ती वण्डली गाविसकी अनिता बोगटी र उनकी छोरीको पनि वाढी पहिरोमा परी मृत्यु भएको जिल्लास्थित हाम्रा संवाददाताहरुले जनाएका छन् ।
 

SHARE THIS

Author:

Facebook Comment