वीरगन्ज, १ वैशाखः तराईका जिल्लाहरुमा गर्मी मौसमसँगै आगलागीको जोखिम बढेकाले आगलागी हुन नदिनका लागी समयमै सचेतता अपनाउन उद्धारकर्मीहरुले सुझाव दिएका छन् ।
अधिकांश आगलागीको घटनामा मानवीय त्रुटी जिम्मेवार देखिने गरेको पाइएकाले थोरै सचेतता अपनाएको अवस्थामा आगलागीको घटना हुने जोखिम न्यूनीकरण गर्न र आगलागी भइसकेका ेअवस्थामा पनि क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने उद्धारकर्मीहरुले बताएका छन् ।
तराईका जिल्लाहरुमा बिहान खाना पकाइ सकेपछि साँझ पुनः चुल्हो बाल्नका लागी राखिने आगोको बिउ नै बर्बादीको मुख्य कारण बन्ने गरेको छ । दाउरा र भुसबाट बालिने चुल्होको आगो पूर्णरुपमा ननिभाएर थोरै राप चुल्होमै छोड्दा तातो मौसमसँगै आगो सल्किएर दुर्घटना हुने गरेको छ । विशेषगरी गरिब समुदायका मानिसहरु थोरै जग्गामा छिमेकीसँग टाँसेर घर बनाउँदा एउटा घरको आगो लहरै छेउछाउका घरमा फैलिने गरेको छ । वस्तुभाउ राखिएको गोठमा लामखुट्टे धपाउन प्रयोग गरिने घुरको आगोले पनि आगलागी हुने गरेको छ ।
पूर्व तयारी
पोखरीको छेउमा डिजल जेनरेटरसहितको पम्प गाउँ विकास समितीको पहलमा जडान गर्न सके आगलागी तत्कालै नियन्त्रणमा लिन सहज हुन्छ । आगो निभाउनका लागी पानीभन्दा पनि हिलोमाटो र केराको पातले प्रभावकारीरुपमा काम गर्छ ।
तराईका जिल्लामा प्रायःजसो बिहान १० बजेपछि हावाहुरी चल्ने भएकाले नौ बजेसम्ममा खाना पकाउने काम सकेर चुल्हो पूर्णरुपमा निभाउने गर्नु आवश्यक छ । सुधारिएको चुल्होको प्रयोगका लागी प्रोत्साहित गर्न सके यस्तो चुल्होमा चिम्नी जडान गरिने भएकाले आगो फैलिने सम्भावना ज्यादै कम हुन्छ ।
क्षति न्यून गर्ने उपाय
पुरै गाउँमा आगो फैलिन नदिन आगलागी भएको घर छेउछाउको एकदुई घर भत्काउनु सबैभन्दा उपयुक्त हुन्छ,नेपाल रेडक्रस सोसाइटी पर्साका सदस्य सलाउद्दिन अहमद भन्छन्, घर भत्काउन नदिने हो भने आगो फैलिएर केही बाँकी रहँदैन ।